डडेल्धुरा । २०७९ सालमा भएको निर्वाचनपछि पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पहिलो पटक गृह जिल्ला डडेल्धुरा आएका छन । उनी एक साता लामो बसाईका लागि गृह जिल्ला डडेल्धुरा आइपुगेका छन् ।
काठमाडौंबाट आइतबार धनगढी आईपुगेका देउवा साँझ डोटीको बुडर पुगेर बास बसेको नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले बताए । धनगढीमा कार्यकर्ता भेटघाटपछि उनी साँझपख बुडर पुगेका हुन् ।
देउवा मंसिर २ गते संघीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ
आज सोमबार सभापति देउवाको डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुडाको आलिताल र परशुराम जाने कार्यक्रम छ । बुडरबाट जोगबुडा जाने सडक बाटो भएकाले हिजो राति बुडर नै बसेको नेता महरले बताए । भित्रिमधेश जोगबुडा महाभारत पर्वत र चुरे पर्वतको संगमस्थल क्षेत्र हो ।
परशुराम नगरपालिका कञ्चनपुर र भारतसँग सीमा जोडिएको छ । चुरेको सम्म परेको भूभाग उर्वर भएका कारण जिल्लाको झण्डै आधा जनसंख्या जोगबुडा क्षेत्रमा छ । यस कारण देउवा जिल्ला सदरमुकाम नपुगी जोगबुडा क्षेत्रमा भेटघाटका लागि गएको बुझिएको छ ।
देउवाले आज सोमबार आलिताल गाउँपालिकाको कार्यालयमा र परशुराम नगरपालिका १२ को लालढुंगा बजारमा भेटघाटका कार्यक्रममा सरिक हुने नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमिति सहसचिव गोबिन्द बोहराले जानकारी दिए । उनी बेलुकी जिल्ला सदरमुकाम आउने छन् ।
भोली मंगलबार बडाँलको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सरिक हुने उनले बताए । बडाँल जाँत दाईन दमाह, भोकर, रुईसिंग बाजाको धुनमा हातमा नांगो तलबार खेलाउदै खेलिने छाला (नाँच) चौलोले प्रसिद्ध छ । बडाल उनको गृह पालिका गन्यापधुरा गाउँपालिका २ मा पर्छ ।
बुधबार कात्तिक २८ गते कांग्रेस डडेल्धुरा कार्यसमितिको बैठक २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका १ रुवाखोलामा र मंसिर १ गते उग्रतारा मेला (देहीजाँत) जाने कार्यक्रम तय भएको उनले जानकारी दिए । देउवा मंसिर २ गते संघीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ ।