काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कन्फरेन्स अफ पार्टिज(कोप–२९) पूर्वी युरोप र पश्चिम एसियाबीचमा अवस्थित अजरबैजानको बाकु रंगशालामा सोमबार सुरु भएको छ । यसपटकको सम्मेलन कोप–२९ ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ ।
विश्वमा बढ्दै गइरहेको इन्धन र कोइलाको प्रयोग तथा कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम क्रमशः बढिरहेको छ । जसले जलवायु परिवर्तनमा प्रत्यक्ष असर पारिरहेको छ । त्यसको प्रभावलाई बढ्न नदिन सबै मिलेर अघि बढ्ने बाटो तय गरिएको थियो, तीन दशकअघि ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रको सम्मेलन (कोप) सुरु भएको सन् १९९२ मा हो । त्यसैको निरन्तरतास्वरूप २९औं संस्करण अजरबैजानको बाकु रंगशालामा सुरु भएको छ ।
विश्वभर बढ्दो जलवायु संकटसँग जुध्ने रणनीति र कार्यनीति बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइने कोप–२९ मा विश्वभरका राज्य प्रमुख, उच्च सरकारी अधिकारी, नीति निर्मातालगायतको सहभागिता रहनेछ ।
यस सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषय छलफलको सबैभन्दा प्राथमिक सूचीमा रहेकाले पनि यस सम्मेलनलाई फाइनान्स कोप भनिएको हो । यसपटकको कोप ७ मंसिरसम्म चल्नेछ ।
सो सम्मेलनमा नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलगायत पनि सम्मेलनमा सहभागी रहेका छन् । राष्ट्रपति पौडेलले आज १२ नोभेम्बर अर्थात् २७ कात्तिकमा सम्मेलनलाई सम्बोधन गर्नेछन् । साथै, १३ नोभेम्बरमा नेपालको नेतृत्वमा छुट्टै उच्चस्तरीय छलफल गरी जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्या’bout विश्व समुदायको ध्यानाकर्षण गराउनेछन् ।
राष्ट्रपतिको सम्बोधन र छलफलमा नेपालले ‘जलवायु न्याय’को मुद्दा उठाउने तयारी गरेको छ । राष्ट्रपति पौडेलले हिमालको सुरक्षा, जलवायु वित्तमा प्रतिबद्धतानुसारको रकम, हानि र नोक्सानी कोषको शीघ्र सञ्चालन, नेपालजस्ता मुलुकलाई जलवायु वित्तमा सहज पहुँच, कम कार्बन उत्सर्जन गर्ने मुलुकलाई बढी कार्बन उत्सर्जन गर्ने देशबाट क्षतिपूर्ति, नेपालजस्ता मुलुक बढी कार्बन उत्सर्जन गर्ने मुलुकबाट प्रभावित भएको तथा जलवायु परिवर्तनको सामना गरी पर्यावरणलाई बचाइराख्नका लागि परम्परागत पोखरी र कुवालाई पुनर्जीवित गर्ने विषय उठाउने तयारी छ । गत वर्ष यूएईको दुबईमा कोप–२८ भएको थियो, सो अवसरमा नेपालका तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।
क्षतिपूर्ति अल्पविकसित देशहरूको याचना नभई अधिकार हो भन्ने कुरालाई नेपालले स्थापित गरेको थियो । त्यसैले, विगतमा समुद्र तटीय देशका मुद्दामा अल्झिने गरेको कोप सम्मेलन सो वर्ष पर्वतीय मुलुकहरूको मुद्दामा केन्द्रित भएको थियो । यसलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले जलवायु कूटनीतिमा नयाँ आयाम भनेर पनि व्याख्या गरेका थिए ।
यस सम्मेलनलाई विश्वभर बढ्दो जलवायु संकटसँग जुध्ने रणनीति र कार्यनीति बनाउनका लागि महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ । ’cause, विश्वभर बढ्दो तापक्रम र चरम मौसमी घटनाले विश्वभरका मानिसलाई असर गरिरहेको छ ।
त्यसैले, कोप–२९ को मुख्य नारा ‘किप १ दशमलव ५ डिग्री सेल्सियस अलाइभ एन्ड लिभ नो वान बिहाइन्ड’ राखिएको छ । यस नाराले जलवायु परिवर्तनको असरलाई नियन्त्रणमा राख्न तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसको सीमामा कायम राख्न सबै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिएको छ । सम्मेलनमा हरितगृह ग्याँस उत्सर्जन घटाउने, जलवायु परिवर्तनको प्रभावमा अनुकूलित हुने र प्राकृतिक प्रकोपबाट जुध्न विकासशील देशहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने’bout छलफल हुनेछ ।
साथै, सम्मेलनले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित समुदायलाई वित्तीय सहयोग उपलब्ध गराउन विशेष पहल गर्नेछ, जसबाट तिनीहरूको अनुकूलन, पूर्वसूचना प्रणाली एवं राहत तथा पुनर्निर्माणमा सहयोग पुग्नेछ । त्यसैले, कोप–२९ लाई ‘फाइनान्स कोप’ अर्थात् वित्त सम्मेलन पनि भनिएको छ । जलवायु अनुकूलनका योजनामा लगानी गर्न र हानि नोक्सानी क्षतिपूर्ति कोषमार्फत वित्तीय सहयोग जुटाउन सम्मेलनले पहल गर्नेछ । सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषयलाई सबैभन्दा प्राथमिक सूचीमा राखिएकाले पनि कोप–२९ लाई ‘फाइनान्स कोप’ भनिएको हो ।
के हो कोप सम्मेलन ?
सीओपी (कोप)को पूरा रूप ‘कन्फरेन्स अफ द पार्टिज’ हो । कोप हरेक वर्ष हुन्छ । यसमा १ सय ९७ देश सदस्य छन् । कोप ‘युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज’ (यूएनएफसीसीसी)अन्तर्गतको सम्मेलन हो । यूएनएफसीसीले हरेक वर्ष यस सम्मेलनको आयोजना गर्छ । यूएनएफसीसीसीको मुख्यालय जर्मनीको बोनमा छ । यस बैठकमा भविष्यमा हुनसक्ने जलवायु परिवर्तनलाई कसरी सीमित गर्ने र त्यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा सरकारले छलफल गर्छन् ।
‘कोप’मा अंग्रेजी वर्णमालाका तीन अक्षर ‘सी’, ‘ओ’ र ‘पी’ छन्, जसको पूरा रूप ‘कन्फरेन्स अफ पार्टिज’ वा पक्ष राष्ट्रको सम्मेलन हो । सन् १९९२ को राष्ट्रसंघीय जलवायु सहमतिमा सुरुमा हस्ताक्षर गर्ने राष्ट्रलाई पक्ष राष्ट्र भनिएको हो ।
कोप–२९ मा तीन जनालाई निमन्त्रणा ३० जनाको लावालस्कर
अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको २९औं सम्मेलन (कोप–२९)मा आयोजकले तीन जनालाई निमन्त्रणा पठाएको थियो तर वन मन्त्रालयबाटै ३० जना भन्दा बढीको लस्कर लागेर गएका छन् । सबै कर्मचारी अजरबैजान गएपछि मन्त्रालय नै सुनसानजस्तै बनेको छ ।
११ देखि २२ नोभेम्बरसम्म हुने सम्मेलनका विभिन्न शत्रमा सहभागी हुन ठूलो संख्यामा सरकारी पदाधिकारी र कर्मचारी गएका हुन् । वनमन्त्री ऐनबहादुर शाहीसहित वन सचिव दीपकप्रसाद खराल, सहसचिवहरू सिन्धुप्रसाद ढुंगाना, भुपाल बराल, महेश्वर ढकाल, बुद्धि सागर पौडेल, सञ्जीवकुमार राई, नवराज पुडासैनी र धनञ्जय लामिछाने पनि बाकु गएका छन् । उपसचिवहरू शोभाकर रेग्मी, दीपक अधिकारी, महेन्द्रप्रसाद शांखी, राजु सापकोटा, शिव खनाल, हरिप्रसाद शर्मा, नरेश शर्मा, प्रकाशसिंह थापा, सुमन सुवेदी, प्रकाश थापा र दीपा वली पनि सम्मेलनमा गएका छन् ।
अधिकृतहरू प्रकाश लामिछाने, हिमाल शिवाकोटी, हेमराज शाही, जनराज शाही, खेमराज काफ्ले, अमृत शर्मा, नारायण रायमाझी, नारायणप्रसाद पोखरेल, शिला ज्ञवाली, गंगा पाण्डे, र स्मृति रेग्मी पनि बाकु सम्मेलन टोलीमा छन् ।