गौर । रौतहटको मौलापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्ता दिने भएको छ ।
मौलापुर नगरपालिकाले आफ्नो मातहतका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्यसंग सम्बन्धित निकाय तथा क्वारेन्टाइन र आइसोलेसनमा खटेका डाक्टर, हेल्थ असिस्टेन्ट, नर्स, प्यारामेडिक्स लगायतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन लागेको हो ।
मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले विषम परिस्थितिमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताइन् ।
प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी नगरप्रमुख साहले भनिन, “कोरोना भाइरसको महामारी नियन्त्रण गर्न देश नै लकडाउनको स्थितिमा रहेको अवस्था छ । सारा नगरवासी तथा अत्याधिक कर्मचारी घरमा छन् । तर स्वास्थ्यकर्मीहरु भने दिनरात फिल्डमा छन् । कोरोना भाइरस नियन्त्रणका जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुन् । तर त्यति मात्रले पुग्दैन भन्ने निष्कर्षका साथ उनीहरुको योगदानको कदरस्वरुप नगरपालिकाले तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।’






