इलाम । खोल्साको सुन अथवा कालो हीराको उपमा पाएको अलैँची ४० किलो (एक मन) को एक लाख रुपैयाँ पुगेको छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउँदा कालो रङ्गको देखिएपछि निक्कै मूल्यवान् भएकाले कालो हिराको उपमा पाएको अलैँची एक मनको एक लाख पुगे सँगै अलैँची खेतीमा उत्साह जगाएको छ ।
गत वर्षहरूमा किसानले व्यापारीलाई बेचिसकेपछि भाउ बढ्ने र किसानको हातमा थोरै मूल्य मात्र पर्ने गरेको थियो । यो वर्ष भने किसानले बेच्ने बेलैमा अलैँचीको भाउ राम्रो आउँदा किसानले फाइदा लिन पाएका छन् । सन्दकपुर गाउँपालिकाका किसान गिरिराज खनालले अलैँचीले यो वर्ष सबैलाई आशा जगाएको बताए । ‘कृषिबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यो पटक अलैँचीको भाउले देखाएको छ,’ उनले भने, यो निरन्तर र अलैंची मात्र होइन, किसानले उत्पादन गरेका हरेक उपजको मूल्य किसानलाई प्रोत्साहन गर्ने खालको हुनुपर्छ ।’
इलाम उद्योग वाणिज्य सङ्घ अध्यक्षसमेत रहेका अलैँची व्यापारी कृष्ण पौडेलले यो वर्ष किसानलाई अलैँचीको राम्रो मूल्य हात लागेको बताए । अलैँचीको भाउ बढ्दा अहिले स्थानीय बजार नै चलायमान भएको भन्दै ‘अलैँचीको भाउ राम्रो आएपछि हरेक वस्तुको बजार बढेको पौडेलको भनाई छ । ‘सधैँ व्यापारीले बेच्ने बेलामा भाउ बढाउँछन् भन्ने आरोप थियो,’ उनले भने, अलैँचीको मूल्य स्थानीय व्यापारीले निर्धारण नगर्ने भएकाले किसानबाट लिएपछि मात्रै भाउ बढाइयो भन्ने भनाइ सत्य नभएको बताए ।
उनले स्थानीयदेखि भारत नयाँ दिल्लीसम्मको अलैँचीको भाउ अहिले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट घरमै बसी बसी थाहा हुने गरेको भन्दै उनले भने, ‘स्थानीय सरकारले पनि खाद्य बालीको थोरैतिनो बीउ बाँड्नुभन्दा दीर्घकालीन हुने नगदे बालीमा जोड गर्नुपर्छ ।’ उनले अलैँचीको उत्पादन र उत्पादकत्व बढाउन सरकार, किसान, व्यापारी र सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने पनि बताए ।
विगत वर्षहरूमा अलैँची निकासी गर्न पनि विभिन्न झन्झट बेहोर्नुपर्ने बाध्यता थियो । यो साल निकासीसमेत सहज भएको व्यापारीले बताएका छन् । भारत र तेस्रो मुलुकसम्म यहाँको अलैँची गइरहेको उनीहरूको भनाइ छ । २०७९ सालमा इलाममा अलैँची प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको थियो । २०८० सालमा ६० हजार पुगेको अलैँचीको दाम अहिले एक लाख पाँच हजार रुपैयाँ भएको हो । १० वर्षअघि पनि अलैँचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेको थियो । जिल्लाका बिब्ल्याँटे, फिक्कल, नयाँ बजार, मङ्गलवारेलगायत बजारमा अलैँचीको कारोबार भइरहेको छ । सन्दकपुर, माइजोगमाई, देउमाई, रोङलगायत पालिकामा अलैँची उत्पादन धेरै हुने गरेको छ । जिल्लामा बर्सेनि तीन अर्ब रुपैयाँ हाराहारीको अलैँचीको कारोबार हुने गरेको छ ।
अलैँची सुकाउन परम्परागत भट्टीको भर
इलाम लगायत पूर्वी पहाडका किसानहरूलाई अझै पनि अलैँची सुकाउन परम्परागत भट्टीकै प्रयोग गर्नुपर्ने बाध्यता छ । बढी लागत पर्नाले किसानले आधुनिक भट्टी किन्न नसकेको र आधुनिक भट्टीमा भन्दा किसानको विश्वास परम्परागत भट्टीमा नै बेसी भएको हुनाले यस्तो बाध्यता आएको हो । धुवाँ लागेको अलैँची लामो समयसम्म टिक्ने भएकाले र आधुनिक भट्टीमा अलैँची सुकाउने दक्ष जनशक्ति नभएकाले पनि परम्परागत भट्टी चलाउनु परेको किसानको भनाई छ । नेपालमा अलैँची सुकाउने नयाँ प्रविधिको विकास नभएको कारणले परम्परागत भट्टीको प्रयोगगरि सुकाएर तयार गर्नुपर्ने बाध्यता रहेको हो । परम्परागत तरिकाबाट अलैँची सुकाउँदा यसको रङ्गमा आगोको कारण कालो हुने , फुट्ने यसको वास्तविक गुणमानै परिवर्तन हुने गर्दछ । कहिले काहीँ आगलागीको घटनाहरू समेत हुने भएकोले जोखिम रहेको छ ।
टुसा कुहिने रोगले किसान चिन्तित
पुरानो बगानमा छिर्केफूर्के , जरा तथा पाना कुहिने ,डढुवा रोगले बगान मासिएको भए पनि हालमा अलैँचीमा टुसा कुहिने रोग लागेपछि किसानहरूमा चिन्ता बढेको छ । किसानहरूले पुरानो बगान भएको स्थानलाई छाडेर खेतबारी र गराहरूमा अलैँची खेती गर्न थालेका छन् । तर बगानमा टुसाहरू कुहिएको देखेपछि निराश हुने गरेका छन् ।
अलैँचीमा देखिएको रोगको ’boutमा जिल्ला कृषि कार्यालय इलामले यो रोग एक प्रकारको गभारो रहेकोले सबैभन्दा पहिले अलैँचीको बोट र बगानको सरसफाइ गरी रोगी बोटमा डायमेथोएड विषादी १ दशमलव ५ एम एल प्रति लिटर पानीमा १५ दिनको फरकमा तीन पटक स्प्रे गर्दा फाइदाकारी हुने प्राविधिक सल्लाह दिँदै आएको किसान बताउँछन् ।
अलैँचीलाइ आधुनिक तरिकाले स्याहार सुसार गरेमा बढी फाइदा लिन सकिने अनुभव किसानहरूको रहेको छ । अलैँचीलाइ मल हाल्ने, काटछाट गर्ने र बोटको संरचना हेरेर हरेक दुई इन्च बराबरको फरकमा डाला राखेर प्राङगारिक मल लगाउँदा राम्रो उत्पादन लिन सकिने किसानको अनुभव रहेको छ ।