काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ । संक्रमित ४६ मध्ये ३७ पुरुष र ९ महिला छन् । उनीहरूको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइसकेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत धादिङका युवा बुधबार निको भएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का एक जना व्यक्तिले पनि कोरोना जितेका छन् ।
धादिङका यु्वा १९ दिनको उपचारपछि निको भएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ४० वर्षीय ती पुरुष निको भएर डिस्चार्ज भएका हुन् ।
यसअघि मंगलबार धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका थिए ।
हालसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट तीन, सेती प्रादेशिक अस्पतालबाट तीन र धौलागिरी अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।
यस्तै, नेपालमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन र काठमाडौंमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धरनमा पीसीआर परीक्षणका क्रममा क्रमशः २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका–१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन ।
दैनिक २ सय ५० को आरटी–पीसीआरबाट कोरोना परीक्षण
आरटी–पीसीआर प्रविधिमार्फत दैनिक ३ सय जनाको कोरोना परीक्षण हुने गरेको छ । मंगलबार आरटी–पीसीआर प्रविधिमार्फत ८ हजार ७ सय ६३ जनाको कोरोना परीक्षण भएकामा बुधबार ९ हजार ११ पुगेको छ । यसरी हेर्दा दैनिक आरटी–पीसीआर प्रविधिमार्फत २ सय ४८ जनाको कोरोना परीक्षण भएको पाइएको छ ।
हालसम्म ४० हजार ४ सय ३१ जनाको कोरोना परीक्षण भएको छ । आरटी–पीसीआर प्रविधिमार्फत ९ हजार ११ जना र ३१ हजार ४ सय २० जनाको आरडीटी प्रविधिमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा ८ हजार ५ सय ९५ जना बसेका छन् । विभिन्न अस्पतालमा ९५ जना आइसोलेसनमा बसेका छन् । जसमध्ये तीन जना काठमाडौं उपत्यकाभित्र र ९२ जना उपत्यकाबाहिरका अस्पतालमा उपचाररत छन् ।