लोकतन्त्र दिवसको सार्थकता

तत्कालीन राजाको निरंकुश शासन अन्त्य भएर लोकतन्त्र स्थापना भएको १४ वर्ष बितिसकेको छ । यस अवधिमा मुलुकले धेरै आरोहअवरोह पार गरेको छ । राजसंस्था नै सदाका लागि अन्त्य भएर जनताको प्रत्यक्ष शासन सञ्चालन हुँदै आएको छ ।

लोकतन्त्रको अत्यन्तै उन्नत रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि नागरिकको आधारभूत आवश्यकता परिपूर्ति हुन सकेका छैनन् ।

शासकहरूले लोकतन्त्र दिवस मनाइरहँदा आफ्ना तमाम नागरिकको अवस्था’bout गहन रूपले सोचविचार र विश्लेषण गर्नुपर्छ । अझै लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार छ । तर पनि आमनागरिकले समृद्धि र विकासको वास्तविक अनुभूति गर्न सकेका छैनन् । अझै दुःखी, गरिब र विपन्न जनताको चुलोमा राम्ररी आगोसमेत बल्न सकेको छैन । जनताले प्रभावकारी रूपमा सरकारी सेवासमेत पाउन सकेका छैनन् । भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्रको जरा अहिले पनि मौलाएकै अवस्थामा छ । सुशासन विकासको अनिवार्य सर्त हो । लोकतन्त्रका शासकहरूले मुलुकलाई विकास र समृद्धिमा लैजाने हो भने भ्रष्टाचारको समूल नष्ट गर्नुपर्छ ।

अहिले राजनीतिक स्थिरता हँुदाहँुदै पनि विकासले अपेक्षित गति लिन सकेको छैन । त्यसमा पनि विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कमजोर बन्न पुगेको छ । अब यस महामारीबाट पार पाउनका लागि पनि सरकारले रातदिन काम गरेर परिणाम निकाल्न जरुरी देखिएको छ । लोकतन्त्र दिवससँगै शासकहरूले आफ्नो चरित्र र कार्यशैलीमा आमूल सुधार गर्नुपर्ने आवश्यकता बढेर गएको छ । राजनीतिक र प्रशासनिक नेतृत्व अहिले पनि यथास्थितिमा नै चलिरहेका छन् । यस्तो प्रवृत्तिले लोकतन्त्रको संस्थागत विकास गर्न कठिन छ । संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात् गरेका मूल्य र मान्यताहरूलाई जनतासमक्ष स्थापित गर्न सक्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेकै जनताको घरदैलोमा दिइने प्रभावकारी सेवा हो । यसका साथै, मुलुकमा रोजगारीका अवसर सिर्जना गरेर जनतालाई सेवासुविधा दिनुपर्छ । सरकार भएको वास्तविक अनुभूति जनताले त्यतिखेर गर्न सक्छन्, जुनबेला सरकारबाट दिइने सबै खाले सेवा सहज रूपमा प्राप्त गर्न सक्छन् ।

संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकारले समन्वयात्मक रूपमा काम गर्ने प्रणालीको विकास गर्न सक्नुपर्छ । कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा समेत यी तीन सरकारबीच राम्रो समन्वय हुन नसक्नु दुःखद भएको छ ।
लोकतन्त्र दिवस मनाइरहँदा अहिले राजनीतिमा केही खराब प्रवृत्तिसमेत देखिएको छ । सरकारले कुनै दल विशेषलाई फुटाउनकै लागि अध्यादेश जारी गरी लोकतन्त्रको मर्ममाथि नै प्रहार गर्न पुगेको छ । लोकतन्त्रमा दलहरू फुटेर होइन, एकजुट भएर मुलुकको विकास र समृद्धिका होमिन सक्नुपर्छ । त्यसरी सबैलाई एक बनाएर अगाडि बढाउने कार्यको नेतृत्व सरकार र सत्तारूढ दलले नै गर्नुपर्छ । प्रतिपक्षी दलले पनि विरोधका लागि विरोध गर्ने शैली परित्याग गरी रचानात्मक किसिमले अगाडि बढ्नुपर्छ । त्यसैले सरकार, सत्तापक्ष र प्रतिपक्ष सबैले सबै खाले आग्रहपूर्वाग्रह बिर्सेर देश विकासमा लाग्ने र जनताका समस्यालाई आफ्नै समस्या ठानेर समाधान गर्न सकेमा मात्रै लोकतन्त्र दिवस मनाउनुको वास्तविक सार्थकता हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 511 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध