महाभारतको कथाअनुसार भगवान् श्री कृष्णको पहलमा पाण्डवको राजधानी इन्द्रप्रस्थलाई निकै कलात्मक बनाइएको थियो । यो समाचारलाई सुनेपछि कौरवतर्पmका धृतराष्ट्रको छोरो दुर्योधन हेर्नलाई भनेर त्यहाँ जान्छन् । उक्त दरबारका कतिपय क्षेत्रमा ‘पानी भएको स्थानलाई जमिनजस्तो देखिने बनाइएको हुन्छ भने जमिनलाई पानीजस्तो देखिने’ गरी बनाइएको हुन्छ । दुर्योधनले जमिन सम्झेर टेक्दा पानीमा छुप्लुंग हुन्छ अनि द्रौपदीले ‘अन्धाको छोरो त अन्धै रहेछ’ भनिदिइन् । तब, महाभारतमा रणसंग्रामको बीज अझ बढी मौलाएको कथा छ । यही अलिअलि टाटो बसेको विचारको अंशबन्डा काण्डले महाभारत मच्चायो । कथा रगत बगेको मात्र होइन, कौरवतिरकी आमा गान्धारी र पाण्डवकी आमा कुन्तीको मातृहृदय दुःखेको घाउको पनि हो । मर्ने र मार्ने त शक्ति प्रदर्शन गर्दै थिए । यद्यपि, ती वीर भनिएका श्रीमान्को मृत्युका कारणले कैयौं सिन्दुर पुछिएका निर्दोष नारीलाई चोट पथ्र्यो । ती मातृवात्सल्यको हृदयमा घाउ लाग्थ्यो ।
व्यवस्था परिवर्तन भए पनि विचार र सोचको एकता नभएसम्म राजनीतिको फन्दामा सिकार हुने भनेको पनि जनता नै रहेछ
नेपालमा राजनीतिक गठजोडको मारभित्र आखिर को पिल्सिन्छन् ? बहुमत र स्थायी सरकारका अपेक्षासँग मुलुकले नवीन आकांक्षा बोकेको हो । नेताले जेजस्तो स्वार्थमा लडाइँ गरे पनि दुख्ने जनतालाई नै हो । चुनावी घोषणापत्र बोकेर भोट माग्नेले चुनाव जितेका दिनबाटै माछोमाछो भ्यागुतो गर्दै हिँडेपछि जनताप्रतिको उत्तरदायित्व बिर्सिदिन्छन् । त्यसैले, जनताले चुनावमा नेताका पछि लागेर ‘होमा हो’ गरे पनि ठक्कर खाएपिच्छे राजनीतिलाई फोहोरी खेल भन्छन् अनि नेतालाई गाली गरिरहन्छन् । आजसम्म पनि जनताले गाली गर्न छोडेका छैनन् । जनताले अरू काम नपाएर गाली गरिरहेको पनि त होइनन् । मतदातासँग एउटा कुरा गरेर जितेका नेतृत्व नै आफ्नो निजी स्वार्थ र सोचभित्र राजनीतिक तिकडमबाजी मच्चाउँछन् । प्रधानमन्त्रीको अध्यादेश घटनाले बहुमतको वाम राजनीतिमा पनि उसैगरी अस्थिरताको बोध हुँदै छ । यसले एकताभन्दा बढी तिक्तताले अर्को तितरबितर होला भन्ने भय छ । जनताको मनमा पिरलो बढेको छ ।
दुई पाइलटले एउटा हवाइजहाज उडाउने भनिरहँदा ‘एकतामा बल हुन्छ, राम्रो भयो’ भन्ने भान भएको हो । तर, तन मिलेको देखाएर मन नमिल्नुको अर्थ बेलाबेलै उठेका ६०–४० को भागबन्डा हो । त्यहीँबाट भुसको आगोको धुवाँएकै देखिन्छ । यदि हामी एक हौं भन्ने हो भने एउटै पार्टीभित्र ‘भागबन्डा कि क्षमताका आधारमा कामको जिम्मेवारीमा सहमति’ भन्ने हुनुपथ्र्यो । जहाँ प्रेम हुन्छ, त्यहाँ स्वार्थ हुँदैन र कमजोरीभन्दा गुणलाई देख्ने हृदय अघि सर्छ । तर, नेकपाका नेतृत्वमा खेमाबन्दीले पनि भागबन्डाको राजनीति चर्किरहेको छ । अझ यो त प्रतिपक्षीसँग हुने द्वन्द्वभन्दा पनि चर्को छ । परिणामतः नेकपाका नेतृत्वको स्वभाव र आनाबानी नै काला कर्तुतको विषाक्त सागर बनेर देखियो । कतिपय सन्दर्भमा सञ्चारप्रति नै नकारात्मक टिप्पणी पनि भए तर आज शक्तिको दुरुपयोग गर्नेलाई कठघरामा उभ्याउने कार्यमा सञ्चारशक्तिलाई सलोट गर्नुपर्छ । आखिर विचार र व्यवहारभित्र नेकपाका उच्च पदस्थ व्यक्तित्व नै घुस काण्ड, बलात्कार आरोप काण्डलगायतका विभिन्न घटनाबाट कथनी र करणीको तारतम्य ठ्याम्मै मिलेको देखिएन । साँच्चै भन्ने हो भने यो सरकारलाई तिनै भ्वाङ टाल्दाटाल्दैमा हैरान भयो । कतिपय दोषीको बचाउ गर्ने तिकडमबाजीमै थुप्रै विकासमा खटिने समय बिते । राम्रा पनि नराम्रै लाग्छन् । विचारणीय विषय हो, अब हुने चुनावको तयारीका लागि नै एक वर्ष बितिहाल्ने अनुमान लगाउँदा यो वाम सरकारले जनताको विश्वासलाई जित्ने प्रभावकारी काम कसरी गर्छ भन्ने कुरानै धरापमा छ ।
अधिकांश जनता राजनीतिक ज्ञान र प्रधानमन्त्रीको अध्यादेशको अर्थलाई बुझ्न सक्ने हैसियतका छैनौं
दुई ठूला वामशक्ति एक हुँदाको दृश्य र ती नेतृत्वले बोलेका आवाजलाई सुन्दा र हेर्दा आज पनि बेखुसीका कुरा छैनन् । विरोधका लागि विरोध होइन, राम्रोको अपेक्षामा धेरै शुभकामना दिइएको त्यो खुसीलाई चिस्याइयो भने जनताको मन पनि त दुख्छ । मुड्की पारेर उठाइएका दुई हातको जननेतृत्व देख्दा धेरै जनतालाई खुसी लागेको हो । जनताले वाम राजनीतिक इतिहासभित्रको बहुमतको एकतालाई मुलुकको परिवर्तनको साधक हुने अपेक्षा गरिरहेका छन् । तर, हाम्रो देशमा न सत्ताको यथार्थ स्थायी छ, न बोलिने र गरिने व्यवहारमा स्थायित्व छ । यहाँ त नेताले बोलेर पूरा नगर्नेका सूची तयार पार्ने हो भने झुटैझुटो सन्दर्भको लामो सूची बन्ला । त्यसैले त सत्ताभित्र सहमतिभन्दा गाँड कोरोकार चलिरहन्छ भने त्यहाँका जनताले अभागी रहेछौं भन्नुपर्ने बाध्यता हुन्छ । एउटै पार्टीभित्रका कुनै नेताका असन्तुष्ट विचारलाई बाहिर व्यक्त गर्न नै गाह्रो हुने धर्मसंकटको सिकार हुन्छ भने पनि त्यसबाट जनता नै पिल्सिन्छन् । ‘हाम्रोभित्रको पनि राम्रो’ खोज्ने शैलीकै कारण हाम्रो देशमा सराद्ध गर्नभन्दा सिदा पु-याउन गाह्रो भइरहेको छ । आखिर धमिलो पानीभित्र माछा मार्ने सोच हुन्छ अनि भागबन्डा चलिरहन्छ भने त्यो मिलानसँग स्वार्थकै राजनीति हुन्छ । सर्वहारावर्गको नेतृत्व गरेको भनिएको पार्टीभित्रै स्वार्थले टम्म भरिएका काण्डहरू घटिरहे । यसकारण यो कोरोना महामारीको बेला मानवताका गीत र लकडाउनपश्चात्को अवस्थालाई ख्याल गरेर संयोजन हुनुपथ्र्यो । त्यसका ’boutमा फुट्ने सोचभन्दा सर्वदलीय एकताको सोच अघि आउनुपथ्र्यो ।
हुन त नेपालको संविधान २०७२ लाई लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जनमुखी संविधान मानिन्छ । तर, जनताको जीवनस्तरलाई राज्यव्यवस्थाकै कारणले भनेर उस्तो ठोस परिवर्तन गराएको छैन । आज पनि बेरोजगारिता र अभावमा मानिस कति दुःखी हुन्छन् भन्ने कुरालाई नियाल्न सकिन्छ । कोरोनाका कारण सरकारले घोषणा गर्नुपरेको एकान्तवास (लकडाउन) भएको १० दिन नबित्दै विभिन्न अवस्थाका कारण थुप्रै जनता हातमुख जोर्ने समस्याको सिकार बन्नु नै यसको सशक्त दृष्टान्त हो । आज जेजति विश्लेषण हुँदै छन् केवल राजनीतिक दाउपेचको वृत्तमा छ । जनताको वृत्त चुनावसम्ममा सीमित हुन्छ । सायद अधिकांश जनता राजनीतिक ज्ञान र प्रधानमन्त्रीको अध्यादेशको अर्थलाई बुझ्न सक्ने हैसियतमा छैनौं । केही विश्लेषकले गरेका व्याख्यामै हामी थप बुद्धिविलास गर्छौं । सञ्चारमाध्यममा अरूले लेखिदिएका समाचार र भनिदिएका विचारका आडमा रहेर बोल्ने एउटा वर्ग छ । वास्तविक यथार्थ बोध हुने जति त त्यसै भेलाका प्रत्यक्ष सहभागी मात्र हुन्छन् तर तिनले यथार्थभन्दा आफ्नो स्वार्थ र चाहनाको बचाउ गर्दा वास्तविकताभन्दा पर रहेर अन्य प्रकृतिको व्याख्या भइरहन्छ ।
जनता साँढेको जुधाइमा फसिरहने बाच्छो मात्र हो । व्यवस्था परिवर्तन भए पनि विचार र सोचको एकता नभएसम्म राजनीतिको फन्दामा सिकार हुने भनेको पनि जनता नै रहेछ । २००७ सालयता भएका राजनीतिक उतारचढावमा थुप्रै जोडघटाउ भए । प्रजातन्त्र हुँदै लोकतन्त्रसम्मको संघीय व्यवस्थामा समेत जनतामा भित्रैदेखि हुनुपर्ने सन्तुष्टिको आभास किन भएन ? नेपालमा राणाशासन ढलेको आज ७० वर्ष भइसक्यो । विश्वका चीन, जर्मन, जापानजस्ता देशले ५० वर्षमा आपूmलाई कायापलट गरेका इतिहास छन् । प्रश्न उठ्छ, हामीले वास्तवमा यो कछुवा गतिमा पाइरहेका कतिपय विकासका कुरा त समयका क्रममा हुँदै जान्छन् । जसलाई राजनीतिक एजेन्डा मात्र ठूलो कुरा होइन । जनताका आवाज त सुनारको सय चोट, लोहारको एकै चोटजस्तो हुने रहेछ । राजनीति नै सबै थोक मान्ने संस्कारमा पूर्ण अभ्यस्त भएको हाम्रो विकासोन्मुख मुलुकमा सामाजिक, शैक्षिक, सांस्कृतिक, पारिवारिक समस्या नितान्त नीतिमा सीमित हुन्छन् । स्वतः चलिरहेको व्यवस्थाबाटै धेरै परिवर्तन भइरहन्छन् । जनताले श्रमदान गरेर पनि बाटो खन्नु आवश्यक ठान्छन् । घर, सहर बजार, धारो, पाटी, चौतारो समाजमा मिलेर बनाइरहेका हुन्छन् । गच्छेअनुसारको सामथ्र्य प्रयोग गर्छन् । आज स्थानीय सरकार हुँदा यी विषयमा केही सहायता पुगे पनि समाज त आफ्नै पद्धतिमा चलिरहेकै हुन्छ । हो यतिखेर मान्छे अलिक बाठा भएका लाग्छन् । मान्छेको हातहातमा भएको मोबाइल र इन्टरनेटले ह्वात्तै विकास गरेको विश्वव्यापी ज्ञानलाई बुझ्ने अवसरका कुरामा सरकारले धेरै मिहिनेत गर्नुपरेकै होइन ।
चौतर्फी रूपमा प्रधानमन्त्रीद्वारा ल्याइएको अध्यादेशको विषयलाई यो महामारीको समयमा सबैले एक हुने बेला बजेको बेमौसमी बाजा भन्दै आएको छ । सत्तारूढ दलकै कतिपय नेताले यो विषयलाई राजनीतिक संकटको संज्ञा दिइरहेको देखिन्छ । कोरोनाले निम्त्याएको मानवीय संवेदनाको यो जटिल अवस्थामा प्रतिपक्षीले समेत सरकारलाई सहयोग गरिरहेको बुझिन्छ । आखिर फुटभन्दा जुटको अवस्थाभित्र जनतामा विचारको एकता हुन्छ, तब वैचारिक अन्तद्र्वन्द्व भइरहे पनि अपनत्व रहिरहन्छ । राजनीतिक विश्लेषक आपत्ति जनाइरहेका देखिन्छन् । प्रकृति त एकछिन उग्र भए पनि साम्य हुन जान्दछ तर राजनीति केवल उग्र मात्र देखिन्छ । नेपालमा राजनीतिक आरोह–अवरोहको सिकारमा निरीह जनता नै पिल्सिन्छन् । यदि हिजोकै अस्थिर राजनीतिक व्यवस्थामा जसरी आज पनि जनताले कुइरोको काग हुनुपर्छ भने आखिर परिवर्तनको अर्थबोध कसरी हुन्छ ?
जनताले समृद्धिको अर्थ गरिबीबाट मुक्ति र स्वदेशमा रोजगार पाइयोस् भन्ने बुझेको हो । मुलुकमा कुरा धेरै भए अनि सपना पनि ठूलै मात्र देखाइए । कसैले आपूmलाई सानो त भन्दै भन्दैन । आपूmलाई कुनै हदमा कमजोरी भयो भन्न त जानेकै हुँदैन । कुरा परिवर्तनका गरिन्छन् तर काण्डैकाण्डको बजारभित्र पसलेहरू लामबद्ध उभिन्छन् । क्रेताहरू पैसाको मुठो बोकेर बजारमा जान्छन् । गुलामी गर्ने, चाकडी गर्ने शैली राणाशासनकै जस्तो प्रत्यक्ष किन हुनुप¥यो र ! तर, यथार्थमा चाकडीबाजको धुइरो उस्तै छ । विकेन्द्रीकरणका कुरा कछुवा गतिमा भए तर केन्द्रीकरणको लिसो साँँच्चै भयानक छ । भ्रष्टाचारका मुखचाहिँ निकै विकेन्द्रीकृत भए । यो दुःखको विलौना हो । राम्रा काम थोरै भए, नराम्रा धेरै भए । त्यसैले, जनताले सरकारका कामलाई प्रशंसाभन्दा पनि विरोध गरेका हुन् । जनताले प्रत्यक्ष रूपमा परिवर्तनको आभास नभएपछि नबर्सने मेघको ठूलो थोप्ला भन्नैपर्ने हुन्छ । आखिर जनता हरेक राजनीतिक अन्तद्र्वन्द्वको अघोषित सिकार हो ।






