काठमाडौं । शेर्पा समुदायको जीवनशैली तथा संस्कृतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को बुधबार टिजर सार्वजनिक गरिएको छ । यम शेर्पाले चलचित्र कार्साङ निर्देशन गरेका हुन् । आफ्नो समुदायको कथाहरु चलचित्रमा नआएकाले कार्साङ बनाएको उनले बताए । चलचित्रको कथा पनि निर्देशक आफैँले लेखेका छन् ।
यो चलचित्रलाई आगामी २६ पुषमा रिलिज गरिने भएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई कार्साङको भूमिकामा छन् । चलचित्रको बुधबार सार्वजनिक गरिएको टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुकलाई देखाईएको छ ।
गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् भन्ने कुरा पनि यो चलचित्रको टिजरमा उल्लेख छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण ग्रामिण क्षेत्रको समस्यालाई पनि टिजरमा समेटिएको छ ।
यसमा दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यसमा बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका छायाँकार पुरुषोत्तम प्रधान आफैं निर्माता पनि हुन् । यसको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।
कार्साङमा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ संयोजन, अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि रहेको छ । चलचित्रमा रहेका गीतमा हर्क साउद र डीपी खनालको शब्द, मनोज थापा मगर, एसडी योगी र बिश्व डोङको संगीत छ ।






