काठमाडौं । अमेरिकामा रहेका नेपाली कलाकारहरुले त्यही ‘घरः बट् इन अमेरिका’ वेभ सिरिजको निर्माण गरिरहेका छन् । सेभेन कलर्स डिजिटलले यस सिरिजको निर्माण गरेको हो ।
अमेरिकामा केही वर्षदेखि बस्दै आएका अभिनेता विमलेश अधिकारीले नयाँ वेभ सिरिज घर बट् इन अमेरिका आफ्नो निर्देशनमा तयार गरेका हुन् । यो वेभ सिरिज अब अन्तर्राष्ट्रिय ओटिटी प्लेतफर्मबाटै अर्को महिना रिलिज हुने विमलेसले बताएका छन् । यो वेभ सिरिजमा बिमलेशसँगै अरुणिमा लम्साल, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, रोजिना थापासहित डेढ दर्जन नेपाली कलाकारहरुको अभिनय रहेको छ ।
यही वेभ सिरिजबाट अभिनेत्री अरुणिमा लम्साल एक दशकपछि अभिनयमा पुनरागमन गर्दै छिन् । हालै नेपाल आएर विवाह गरेकी अरुणिमाले अमेरिका फर्केर सिरिजको छायाँकन सम्पन्न गरेकी छिन् । उनले दुई साता अघि रिलिज भएको चलचित्र तेल भिसाको एउटा गीतमा केमियो भूमिका गरेकी थिईन् । यो वेभ सिरिजमा भने आफ्नो शिर्ष भूमिका रहेको अरुणिमाले बताएकी छिन् ।
निर्देशक विमलेशका अनुसार यो वेभ सरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको संघर्ष कथा समेटिएको छ । सिरिजले त्यहाँ रहेका नेपालीहरुको जीवन शैलीलाई प्रस्तुत गर्ने पनि निर्देशक विमलेशले जानकारी गराएका छन् ।
यसैबीच यो वेभ सिरिजको शिर्ष गीत शनिबार सार्वजनिक गरिएको छ । सिरिजको पहिलो सिजनको लागि तयार पारिएको गीत ‘अमेरिकामा घर छ…’को भिडियो सार्वजनिक गरिएको हो । यो गीतमा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गरिएको छ ।
गीतमा निशान भट्टराईको स्वर, अर्जुन कटुवालको संगीत, डिपी खनाल र प्रज्ज्वल खनालको शब्द रचना रहेको छ । गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक विमलेश अधिकारीले नै यस सिरिजको कथा लेखेका हुन् । जसमा पटकथा तथा संवाद विवेक चम्लागाईंको रहेको छ । सिरिजको सबै छायांकन संयुक्त राज्य अमेरिकामा गरिएको पनि अधिकारीले बताए ।