जनकपुरमा भारतीयहरुको कोरोना परीक्षण

जनकपुरधाम । उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीहरुमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप जनकपुरको एक मस्जिदमा रहेका भारतीयहरुको कोरोना संक्रमण परीक्षण गरिएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप जनकपुरधाम उपमहानगरपालिका वडा नं.२५ लोहनास्थित जामिया बरकातुन्न नबि मस्जिदमा रहेका ९ जनाको मौलानाहरुको सहमतिमै कोरोना परिक्षण गरिएको बताइएको छ ।

लोहनास्थित सो मस्जिदमा भारतका शिक्षकहरु बस्दै आएको सूचना प्रहरीले पाएपछि उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पतालमा ल्याएर आरडिटी टेस्ट गरिएको र सबैको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई फेरि मस्जिदमै पुर्याइएको बताइएको छ ।

उनीहरुमध्ये विगत करिव डेढ बर्षदेखि सो मस्जिदमा अध्यापन गराउँदै आईरहेको र लकडाउनका कारण आफ्नो घर फर्किन नसकेको बताइएको हो । कोरोना परीक्षणसँगै धनुषाका सबै मस्जिद लगायत अन्य सबै धार्मिक स्थलहरुमा समेत सामूहिक धार्मिक गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय पनि प्रशासनले गरिसकेको छ । कोरोना भाइरस संक्रमितहरू मस्जिद र मदरसामा लुकेको चर्चा चलिरहेको बेला जनकपुरधाम नगरभित्रका दर्जनभन्दा बढी मस्जिदमा शुक्रबार अनुगमन पनि गरिएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको नेतृत्वमा जिल्लाको संयुक्त सुरक्षा समूहले मुस्लिम समुदायका अगुवासँगको समन्वयमा अनुगमन गरेका हुन् । मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भएबमोजिम मस्जिदमा अनुगमन गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।

अनुगमन टोलीले जनकपुरधाम उपमहानगरपालिका– २३, लादो बेलास्थित नूरी मस्जिद, दारुल उलूम अताये मुस्तफा मस्जिद, रेजा जामा मस्जिद, वडा नम्बर ४ स्थित अल्जामी अतुल कादिया मदिना तूल उलूम मस्जिद, वडा नम्बर २० रुपैठास्थित जामिया इमाम अहमद रेजा मदरसा, नूरी जामे मस्जिद, मस्जिद कादरिया, वडा नम्बर २४ बसहियास्थित कादरी बरकाती जामे मस्जिद, मदरसा फैजुल इस्लाम दायमी मदरसा, वडा नम्बर ६ स्थित मदरसा र मस्जिदमा अनुगमन गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ