महामारी सिर्जित कानुनी उपचारको इतिहास

२०५४ सालतिरको कुरा हो । म श्री सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङमा कक्षा ८ मा अध्ययनरत थिएँ । श्री सत्यवादी माध्यमिक विद्यालय मानवतावादी बझाङी राजा श्री जयपृथ्वीबहादुर सिंहले स्थापना गरेको विद्यालय हो । त्यतिबेला कक्षा ८ मा ‘सामाजिक शिक्षा’ अनिवार्य विषयका रूपमा अध्ययन गर्नुपथ्र्यो । सामाजिक अध्ययन विषयमा ‘इतिहास’ शीर्षकको एक पाठ थियो । त्यो पाठ यसरी सुरु भएको थियो, ‘इतिहास उहिलेउहिले घटेका घटनाहको वृतान्त हो’ । दिमागमा त्यो वाक्य यसरी भिजेछ कि अहिलेसम्म पनि बिर्सेको छैन । सायद त्यति बेला पाठ्यवस्तु कण्ठाग्र गर्ने प्रचलनले पनि यसो भएको हुनुपर्छ । उप्रान्त, उक्त पाठमा सायद इतिहासले राजारानीका गौरव गाथा, युद्ध तथा वीरताको वर्णन गरेको हुन्छ भन्ने कुरा उल्लेख थियो तर अहिले म ठ्याक्कै यसै लेखिएको थियो भनी सम्झन सक्ने स्थितिमा छैन । यद्यपि, यस्तै भावबोध गराउने कुरा उल्लेख थियो भन्ने कुरामा निश्चित छु । इतिहास शीर्षक दिइएको त्यो पाठको सार यस्तो हुन्थ्यो । इतिहासले राज्यहरूबीच सीमा विस्तारका लागि भएका युद्ध, शासकबीच सत्ता हत्याउन भएका हतकण्डा, स्वतन्त्रताका लागि भएका स्वतन्त्रता संग्रामको इतिवृत्तिलाई समेट्छ । यसैगरी, युद्धभूमिमा युद्धका महारथीका वीरताका गाथा पनि समेटिन्छन् । इतिहास प्रागऐतिहासिक काल, प्राचीनकाल, मध्यकाल र आधुनिककाल हुँदै क्रमिक रूपमा समयक्रमसँग अगाडि बढ्छ । समयक्रमसँगै मानवजातिको भौतिक, आर्थिक, सामाजिक सांस्कृतिक विकासको बढात्तरी पनि हुँदै गएको हुन्छ । इतिहासका कालखण्डमा घटेका एक घटनाले अर्को घटना घट्नुको कारक बन्दछ । अर्थात् एक घटना घट्नुको पछाडि एक मात्र घटकले कारकको भूमिका खेलेको हुन्छ । कुनै एक घटना घटनु वा विघटन हुनुको पछाडि एकभन्दा बढी कारकतत्व हुन सक्दैनन् । एक घटनाले अर्को घटनाको सिर्जना गर्छ । समग्रमा भन्नुपर्दा इतिहास तथ्यको संकलन हो, यथार्थ घटनाको वृतान्त मात्र हो भन्ने आशय थियो । इतिहासका पात्रहरू राजामहाराजा र युद्धका महारथी मात्र हुन सक्छन् । उनीहरूका गतिविधिले नै इतिहास निर्माणमा योगदान पु¥याएको हुन्छ । जहाँ अरू वर्ग तथा मानिसको योगदानको कुनै गुन्जायस रहन सक्दैन ।

तत्कालीन समानान्तर कालखण्डमा उता पश्चिमा जगत्मा भने नवऐतिहासिक तथा सांस्कृतिकवादका समालोचक इतिहासका विषयवस्तु तथा इतिहासलेखन शैलीमा परिवर्तनको आवश्यकता रहेको कुराको वकालत गरिरहेका थिए । इतिहास र संस्कृति अध्ययनका क्षेत्रमा नयाँ आयामहरू आइसकेका थिए । परम्परागत इतिहासलेखनका मूलमर्म र मान्यतामाथि प्रहार भइरहेको थियो । धमाधम इतिहास पुनर्लेखन तथा पुनव्र्याख्या भइरहेका थिए ।

नवऐतिहासिकवादका मूर्धन्य व्यक्तित्वहरू फ्रेन्च दार्शनिक तथा इतिहासकार मिसेल फुकोका सैद्धान्तिक मान्यताबाट धैरै हदसम्म प्रभावित थिए । उनीहरूका तर्क थिए । तथ्य तथा घटनाको यथार्थतासम्म पुग्न मात्र होइन, तथ्य ग्रहण गर्नसमेत कठिन हुन्छ । तथ्यहरू मानिसका दृष्टिकोण सापेक्ष हुन्छन् । तथ्यांक र मिथ्यांकबीच अकाट्य सम्बन्ध रहेको हुन्छ । त्यसैले, इतिहास तथ्यहरूको तथ्यांक हुन सक्तैन बरु तथ्यको व्याख्याको वृतान्त मात्र हो । इतिहासकारले आफूलाई महŒवपूर्ण तथा महत्ता महसुस भएका घटना समाहित गर्छन् भने अरूलाई नकार्दछन् । इतिहासकारले बाँचेको संस्कृति, समाज, मनोविज्ञानले समेत घटनाका तथ्य, कारक तŒवहरू र परिणामलाई प्रभाव पार्छ । यसर्थ, इतिहासमा इतिहासकारका विचारको प्रभुत्व रहन्छ । तथ्यहरू प्रस्तुत गर्न व्याख्या विधिको सहायता लिइने गरिन्छ । व्याख्या कहिल्यै पनि वस्तुगत हुन सक्तैन । तथ्यहरूका प्रस्तुतिको वैधता तथा विश्वसनीयता कायम हुन विभिन्न कारणले गर्दा असम्भव प्रायः हुन जान्छ । व्याख्या जहिल्यै पनि विचारप्रधान हुन्छ । यस आधारमा इतिहास, आख्यान र संकथनमा धेरै हदसम्म समानता रहन्छ । आख्यानले पनि इतिहासको प्रतिनिधित्व गर्न सक्छ ।

विभिन्न कालखण्डमा संसारमा फैलिएका आततायी महामारीको त्राहीमामले स्वास्थ्य, शिक्षा, कानुनलगायतका क्षेत्रमा व्यापक बदलाव ल्याएको पाइन्छ । समाजको ऐना मानिएको साहित्यिक क्षेत्रमा महामारीले स्थान पाउनु स्वाभाविक नै हो । अंग्रेजी साहित्यमा महामारीमा आधारित विभिन्न आख्यानको रचना भएको पाइन्छ । सन् १६६५–१६६६ सम्मको करिब १८ महिनासम्म फैलिएको ब्युबोनिक प्लेगले ब्रिटेनको कुल जनसंख्याको एक चौथाइ जनसंख्याको सिकार बनाएको थियो । महामारीको ५० वर्षपछि प्रसिद्ध साहित्यकार डानियल डुफोले उक्त महामारीको समकालीन ऐतिहासिक दस्तावेजको अध्ययन गरेर ‘अ जर्नल अफ प्लेग इअर’ (१७२२) नाम दिई उपन्यास लेखेका थिए । उपन्यासले महामारीले लन्डनमा पारेको असरको तथ्यगत लेखाजोखा प्रस्तुत गर्छ । परिवारको कुनै एक सदस्यलाई महामारीबाट संक्रमित भएपश्चात् क्वारेन्टाइनमा बस्न बाध्य बनाइएको कारुणिक वृतान्तहरू उल्लेख छन् । आफ्ना सन्तान र आफन्तको पासविक ढंगको मृत्युको साक्षी बन्नुको पीडाको जीवन्त प्रस्तुति रहेको छ । क्वारेन्टाइन पीडाका चित्कारको बखान गरिएका छन् । यसका अलावा दुःखी, निःसहाय र गरिबले भोग्नुपरेको बहुआमायिक व्यथा र वेदनालाई व्याख्या गरेको छ ।

विभिन्न कालखण्डमा संसारमा फैलिएका आततायी महामारीको त्राहीमामले स्वास्थ्य, शिक्षा, कानुनलगायतका क्षेत्रमा व्यापक बदलाव ल्याएको पाइन्छ

सन् १९१८ मा फैलिएको स्प्यानिस फ्लु महामारीको सेरोफेरोमा आधारित भएर क्याथरिन एन पोटरले सन् १९३९ मा ‘पेल हर्स्, पेल राइडर’ नामको आख्यान रचना गरेकी थिइन् । त्यसैगरी, महामारीलाई केन्द्रमा राखेर लेखिएका केही महŒवपूर्ण आख्यान दि प्लेग १९४७, लभ इन द टाइम अफ कोलेरा १९८५, जर्नल अफ द प्लेग इअर १९८८, दि चिल्ड्रन्स हस्पिटल २००६, दि ओल्ड ड्रिफ्ट २०१९ आदि छन् । कोरोना कहरले सामाजिक आर्थिक र सार्वजनिक स्वास्थ्य जगत्मा पारेको असरले कानुन, शिक्षा, विकास आदिका क्षेत्रमा बदलाव आउने निश्चित छ । विगतका महामारीझंै कोरोनाले पारेको असरले साहित्यिक विधामा पनि अवश्य नै ठाउँ लिनेछन् ।

साहित्य समाजको ऐना हो भनिन्छ । यसले समाजमा घटेका घटनालाई कहिले दुरुस्त त कहिले भाषिक सौन्दर्य समाग्रीको लेप लगाई आमजनसमक्ष मनोरञ्जन हेतु पस्कन्छ । मनोरञ्जन प्रदान गर्नु साहित्यको एक मात्र उद्देश्य भने होइन । समाजले साहित्यका लागि विषयवस्तु जुटाइदिने गर्छ । बदलामा साहित्यले समाजलाई सुशिक्षित गर्ने र दिशा निर्देशित गर्ने कामसमेत गर्छ । सामाजिक तथा मानवीय चेतलाई अद्योपान्त गरी सञ्चित गर्ने गर्छ । यसर्थ, साहित्य र समाजबीच समानुपातिक सम्बन्ध बनिरहन्छ । मतलब, समाज बदलिँदा साहित्यमा पनि बदलाव आउँछ । राजदरबार हत्याकाण्डपश्चात् ‘रक्तकुण्ड’लगायतका कृति प्रकाशित हुनु यसको एक उदाहरण हो ।

इतिहास निर्माणमा राजामहाराजा र युद्धरथीहरूबाहेक अरू सामान्यजनको भूमिकालाई समेत समेट्न सक्नुपर्छ । उनीहरूको पनि इतिहास निर्माणमा अरूसरह समान योगदान रहेको हुन्छ । तर, तत्कालीन राज्यसत्ता र शक्तिकेन्द्रले सामान्य भनिएकाको योगदान र महत्तालाई नकार्छ । यसर्थ, अहिलेसम्म लेखिएका इतिहास एकतर्फी छन् । एकल दृष्टिकोणले लेखिएका छन् । त्यसैले, यो इतिहास पुनर्लेखनको समय हो । समाजमा व्याप्त लोकगाथा, लोककथा, लोकगान, लोकगीत र रीतिरिवाजलाई इतिहासलेखनका स्रोतका रूपमा लिनुपर्छ । तत्कालीन अवस्थामा लेखिएका साहित्यिक कृति, सामाजिक आर्थिक स्थितिसम्बन्धी दस्तावेज, लोकक्रान्ति, प्राकृतिक प्रकोपसमेतलाई इतिहासलेखनका स्रोतको स्वरूपमा लिनुपर्छ । इतिहास राजनीतिक प्रकृतिको मात्र हुँदैन । इतिहास त विभिन्न आयाम र आधारमा लेखिनुपर्छ । जस्तै, आर्थिक इतिहास, कूटनीतिक इतिहास, कृषि इतिहास, वातावरणीय इतिहास, विकास इतिहास आदि । सामान्यजनसँग जोडिएका घटनालाई पनि इतिहासका कडीका रूपमा लिनुपर्छ । अन्यथा इतिहासले बृहत्तर सत्यलाई दर्शाउन सक्दैन । सत्य सार्वभौमिक साझा वस्तु हो । तर, यो बहुआयामिक पनि हुन्छ ।

यसै सन्दर्भमा सन् १९८२ ताका प्रसिद्ध पश्चिमा विश्वविद्यालयबाट दीक्षित भारतीय सामाजिक चिन्तक तथा सिद्धान्तकार गायत्री चक्रवर्ती स्पिभाक, रणजित गुहा, संगीता सिंहलगायतले तत्कालिन ब्रिटिस साम्राज्यले भारतीय इतिहासको तोडमतोड गरेको भनी भारतस्थित अक्सफोर्ड विश्वविद्यालय प्रेसबाट प्रकाशित अनुसन्धानमूलक जर्नलमार्फत रोष प्रकट गरिरहेका थिए । उनीहरू इतिहासमा लोकजनको योगदान तथा लोकक्रान्ति समावेश गरी इतिहासकोे पुनर्लेखन र पुनव्र्याख्या गर्नुपर्छ भनी वकालत गरिरहेका थिए । पछि गएर उनीहरूको शोधले इतिहास अध्ययनका क्षेत्रमा ‘सवाल्टर्न स्टडी’ नामको एक नयाँ विधाको अभ्युदय भयो ।

कोरोना कहरले ल्याउने सामाजिक परिवर्तनलाई कानुनले सम्बोधन गर्दा त्यसले स्वास्थ्य तथा सामाजिक इतिहासमा ठाउँ पाउँछ

हाम्रो सन्दर्भमा पनि उल्लिखित अवधारणाले समसामयिक इतिहासलेखन शैली र इतिहासका विषयवस्तुमा प्रभाव पारेको देखिन्छ । बडामहाराजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको महाअभियानमा महŒवपूर्ण योगदान पु¥याउने गुमनाम बिसे नगर्चीको गौरवगाथाको अध्ययन गरिन सुरु गरियो । यसैगरी, सामाजिक तथा लैंगिक विभेदविरुद्ध तत्कालीन सरकारसमक्ष आवाज बुलन्द गरी विरोधस्वरूप आफ्ना अनुयायीसहित अरुण नदीमा जलसमाधि लिने योगमाया न्यौपानेमाथि खोज हुँदै छ । युद्धमा हराइएका तत्कालीन राज्य, दरबार, रजबार र लोकजनमाथि चलचित्र र ‘बायोपिक’ बनाइँदै छन् । यी इतिहासको पुनव्र्याख्याका क्षेत्रमा भएका केही महत्वपूर्ण प्रयास हुन तर यथेष्टचाहिँ होइनन् । इतिहासका पुरातन मान्यताको घेराभित्र नअटाइएका लोकजनका गौरवपूर्ण घटना, परिघटना र लोकक्रान्तिको शोधअनुसन्धान गरी इतिहास पुनर्लेखन तथा पुनव्र्याख्या गर्नु अहिलेको टड्कारो आवश्यकता पनि हो ।

समाज र कानुनले एकअर्कालाई प्रभाव पारिरहेका हुन्छन् । समाजशास्त्रीय विधिशास्त्री डब्ल्यू फ्रिडमनकृत ‘परिवर्तनशील समाजमा कानुन’ (१९५९) किताबको प्राक्कथन खण्डमा लेख्छन्, कानुनका समाजमा दुई किसिमका कार्य हुन्छन् । एक कार्य यसले समाज रूपान्तरणका लागि उत्प्रेरकको भूमिका लिन्छ भने अर्को यसले समाजलाई नियन्त्रण गर्ने कामसमेत गर्छ । ४० को दशकमा विधिशास्त्र अध्ययनका क्षेत्रमा कानुन समाजबाट स्वतन्त्र पनि रहन सक्छ भन्ने मान्यता राखियो भने ८० को दशकसम्म आइपुग्दा कानुन समाजिक क्रियाकलापमा निर्भर रहनुपर्छ भन्ने कुरामा विधिशास्त्री रहे । ९० को दशकदेखि भने कानुनले समाजलाई पछ्याउनुपर्छ वा समाजले कानुनलाई पछ्याउनुपर्छ भन्ने विवाद व्यापक बहस र छलफलको विषय बनिरहेको छ । जेसुकै भए पनि कानुनले समाज रूपान्तरण तथा समाज नियन्त्रणको दुवै कार्यलाई सन्तुलित ढंगले निभाउन सक्नुपर्छ ।

कानुनले समाज रूपान्तरणको लयलाई मुखरित गर्न सक्नुपर्छ । समाजका विभिन्न सवालको सम्बोधन गर्नुपर्छ । तथ्यगत समाजिक अवस्थाअनुसार तर्जुमा गरिएका कानुन मात्र सार्थक कानुन हुन सक्छन् । सार्थक कानुन मात्र कार्यान्वयनमा आउन सक्छन् । महत्वाकांक्षी मनोकांक्षा तथा अन्ध प्रगतिशील विचारका आधारमा कानुन तर्जुमा गरिनुहुन्न । समाज बहेको धार विपरीत बनेका कानुन, नीति, योजना र कार्यक्रमले केवल अकर्मण्यता सिर्जना गर्छन् । दुर्घटना निम्त्याउँछन् । समाजिक अवस्था र परिवर्तनको वेगलाई दिशानिर्देश गर्न सक्ने कानुन बन्नुपर्छ । कानुन यथार्थ सामाजिक, आर्थिक, सांस्कृतिक धरातलका आधारमा बनाइनुपर्छ । कोरोना कहरले ल्याउने सामाजिक परिवर्तनलाई पनि कानुनले सम्बोधन गर्नेछ भने त्यसले स्वास्थ्य तथा सामाजिक इतिहासमा समेत ठाउँ पाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण