खोटाङमा बालिकासँग विवाह गर्ने र गराउने पक्राउ

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बालविवाह गर्ने २८ वर्षीय युवक र एक महिलालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका रमेश राईले १३ वर्षीया एक बालिकासँग विवाह गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार प्रहरीले युवकलाई पुस १२ गते र विवाह गराउन मध्यस्थता गर्ने बालिकाकी आफन्त कमला राईलाई पुस १३ गते पक्राउ गरेको हो । आफन्तकामा हिँडेकी बालिकालाई बाटोमै रोकेर ललाईफकाई विवाह गरिएको थियो । पुस ८ गते भएको विवाहपछि बालिकालाई भोलिपल्ट किराँत संस्कार अनुसार भित्र्याइएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

दुवै जनाविरुद्ध बालविवाह सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङबाट पक्राउ परेका दुवै व्यक्तिको पाँच दिने म्याद थप गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत बालिकालाई युवकको घरबाट उद्धार गरी स्वास्थ्य परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र