बैंकिङ प्रणालीमा अधिक तरलता कायमै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ ।

यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ पुसमा ६० अर्ब र ३ पुसमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसरी पछिल्ला १८ दिनमै राष्ट्र बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।

केन्द्रीय बैंक निरन्तर तरलता प्रशोचन गर्न बाध्य

आइतबार नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो ।

निक्षेप दिन चाहेका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गरेका थिए ।

अहिले बजारमा लगानीयोग्य पुँजीको अधिकताका कारण नेपाल राष्ट्र बैंकले ३ खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ प्रशोचन गरिराखेको छ । बैंकहरूले निक्षेप संकलन उपकरणमा २ खर्ब २७ अर्ब ४० करोड तथा स्थायी निक्षेप सुविधा (एसडीएफ)मा १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ राखेका छन् ।

नेपाल राष्ट्र बैंकले अधिक तरलता प्रशोचन गर्नका लागि निरन्तर रूपमा तरलता खिचिरहेको छ । यसअघि राष्ट्र बैंकले गत १७ पुसमा मात्रै निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब तरलता प्रशोचन गरेको थियो । त्यसबेला औसत ब्याजदर २ दशमलव ९९ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्ष सुरु भएयता निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ३६ पटकमा १३ खर्ब ३९ अर्ब २५ करोड रुपैयाँ खिचिसकेको छ ।

बैंकहरूमा निक्षेप बढ्ने तर सोहीअनुसार कर्जाको माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७५ अर्ब रहेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९ दशमलव शून्य ६ प्रतिशत कायम रहेको छ । बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरूको हालको सीडी रेसियो हेर्दा बैंकहरूमा ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।

अहिले कर्जा माग्नेभन्दा पनि बचत गर्नेको संख्या बढेका कारण अधिक तरलताको सामना गर्नुपरिरहेको बैंकर्सहरूको भनाइ छ । सहकारीहरू क्रमिक रूपमा समस्याग्रस्त हुँदै बचतकर्ताको रकम लिएर भाग्नेक्रम बढेपछि वाणिज्य बंैकहरूमा बचत गर्नेको संख्या बढेको हो ।

यसैगरी, कर्जा लिएर व्यापार व्यवसाय गर्ने पुस्ता बिदेसिएका कारण पनि कर्जाको माग नबढेको बताइएको छ । रेमिट्यान्स बढेपछि व्यापार व्यवसायमा भन्दा बचतमा सुरक्षा देखिएपछि पनि बैंकहरूमा अधिक तरलता भएको बताइएको छ ।

डेढ वर्ष अघिसम्म बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने रकम थिएन, अहिले भने रकम थुप्रिएको छ । अधिक तरलताले मुलुकमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ ।

स्थानीय सरकारसहित संघीय र प्रदेश सरकार विकास खर्चमा कमजोर भएकाले पनि बैंकिङ प्रणालीमा रकम थुप्रिएको हो । अत्यधिक तरलता हुँदा मुद्रा बजारमा असन्तुलनको सम्भावना रहन्छ । यस अवस्थालाई नियन्त्रण गर्न राष्ट्र बैंकले निक्षेप संकलनजस्ता उपकरण प्रयोग गर्दै वित्तीय प्रणालीमा स्थिरता कायम राख्न तरलता प्रशोचन गर्ने गर्छ ।

बैंकिङ प्रणालीमा तरलता घटाउने नेपाल राष्ट्र बैंकको प्रयासले मुद्रा आपूर्ति नियन्त्रण गर्दै मुद्रास्फीति नियन्त्रण गर्न योगदान पु¥याउन सक्छ । साथै, यसले वित्तीय प्रणालीलाई सन्तुलित बनाउँदै कर्जा व्यवस्थापनमा सहजतासमेत ल्याउने गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरमा एक 'नो भोट'