माथिल्लो तामाकोसीको ५१५ मिटर पेनस्टक पाइप जडान

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा ५१५ मिटर पेनस्टक पाइप जडान भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको माथिल्लो र तल्लो सुरुङमा पाइप जडान गरिएको हो । आयोजनाको माथिल्लो ठाडो सुरुङ ३१० मिटरमध्ये २०० मिटरमा पाइप जडान भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको तल्लो मुख्य ठाडो सुरुङ ३७३ मिटरमध्ये ३१५ मिटर पाइप जडान भइसकेको छ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समयमा सम्पन्न नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण देशभर लकडाउन जारी रहेको छ । लकडाउनमा आयोजनाको काम जारी भएको भए पनि विद्युत्को व्यवसायी उत्पादनको मिति भने लम्बिने भएको हो ।

ठाडो सुरुङको काम सकिएपछि दुई सुरुङको बीचमा रहेको तेर्सो भागमा पनि पाइप राख्न सुरु गरिने र उक्त भागमा पाइप जडान गर्न करिब १ महिना लाग्ने अनुमान

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न गरेको लकडाउनको अवधिमा पनि बाह्र व्यक्तिको प्रवेशमा रोक लगाएर आयोजनाको काम नियमित जारी रहेको छ । ठाडो सुरुङको काम सकिएपछि यी दुई सुरुङका बीचमा रहेको तेर्सो भागमा पनि पाइप राख्न सुरु गरिनेछ । तेर्सो भागमा पाइप जडान गर्न करिब १ महिना लाग्नेछ ।

लकडाउनमा पनि आयोजनाको नियमित काम भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘ढुवानीको पास हुँदा देशभित्रबाट आयात हुने निर्माण सामग्री आइतबार (आज)देखि ढुवानी हँुदै छ, दोस्रो मुलुकबाट आयात हुने सामग्रीका लागि भन्सारबाट छुट्याउने काम पनि हुँदै छ ।’ आयोजनाको काम नरोकिए पनि लकडाउनको प्रभाव पर्ने हुँदा तोकिएको समयभन्दा केही पर धकेलिने श्रेष्ठले बताए । ‘कोरोना भाइरसको प्रभाव विश्वव्यापी रूपमा परेकाले बाहिरबाट ल्याउनुपर्ने सामान आउन पाइरहेको छैन कामै नगरी बस्नुभन्दा हामीले स्वास्थ्यलाई मध्येनजर गरेर काम गरिरहेका छौं ।’ यसको मतलब हामी एकदमै स्पिडमा गएका छौं भन्ने होइन तर काम पनि रोकिएको अवस्था होइन ।

बाँध क्षेत्रका संरचनाको परीक्षण सम्पन्न गरिसकेको आयोजनाबाट आगामी असारभित्र पहिलो युनिट (७६ मेगापाट)बाट उत्पादन सुरु गर्ने योजना रहेको छ । अब यो समय केही लम्बिने आयोजनाका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । बहुप्रतिक्षित राष्ट्रिय गौरवको रूपमा रहेको यो आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको छ । हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको उक्त परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाए हालसम्म भूकम्प, नाकाबन्दीलगायतका समस्या भोगेको आयोजनामा अहिले फेरि कोरोना भाइरसको प्रभाव परेको छ ।

आयोजनाको लागत सुरुका दिनमा ३५ अर्ब २९ करोड गरिएको भए पनि हालसम्म ४९ अर्ब खर्च भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । आयोजना सम्पन्न हँुदासम्म ब्याजसहित गरेर ७२ अर्ब खर्च हुने अनुमान गरिएको प्रवक्ता न्यौपानेले बताए । हाल आयोजना ९९ दशमलव ४ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मादी गाउँपालिकामा कांग्रेसका देवीजंग निर्वाचित