चलचित्र घरमा कार्साङ

काठमाडौं । शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ शुक्रबारबाट देशव्यापी चलचित्र घरमा प्रदर्शन हुँदैछ । यो चलचित्र मुलुकका ८ दर्जन भन्दाबढी चलचित्र घरमा रिलिज भएको यसका निर्देशक यम शेर्पाले बताएका छन् ।

कार्साङको रिलिज अघि बुधबार बेलुका यसको काठमाडौंमा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले कार्साङलाई मौलिक नेपाली चलचित्रको रुपमा चर्चा गरे । चलचित्रमा शेर्पा समुदायको मौलिक कथा हेर्न पाउँदा सो समुदायको संस्कृतिलाई अझ नजिकबाट बुझ्ने अबसर पाएको उनीहरुको प्रतिक्रिया थियो ।

बुधबार बेलुका प्रिमियर शोमा यो चलचित्र हेरेपछि कलाकार केदार घिमिरेले अभिनेता जितु नेपालको काम अहिलेसम्मकै सबैभन्दा बढी यो चलचित्रमा राम्रो लागेको बताए । विषयवस्तु र अभिनय दुवैको तारिफ पाएकाले दर्शकले यो चलचित्र मन पराउने उनको कथन थियो ।

यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लामो समयपछि आफुले एउटा सांस्कृतिक चलचित्र हेर्ने अबसर पाएको बताए । नेपालमा शेर्पा समुदायको संस्कृतिलाई मिहिन रुपमा चलचित्रमा नसमेटेको अबस्थालाई कार्साङले केही हदसम्म भए पनि त्यो कुराको परिपूर्ति गर्ने उनको कथन थियो ।

यस्तै प्रिमियरमा पुगेका निर्देशक एवम् कलाकारहरु दीपाश्री निरौला, दीपेन्द्र के खनाल, अशोक शर्मा, बसन्त निरौला, किरण केसी, अनुप बराल, मनिष राउतलगायतले पनि यसलाई मौलिक र सांस्कृतिक चलचित्रको उपमा दिए ।

यतिबेला एउटा चलचित्रको छायांकनमा पोखरामा भएका कारण चलचित्रको प्रिमियरमा अभिनेता दयाहाङ राई उपस्थित हुन सकेनन् । यो चलचित्रमा गम्भिर चरित्रमा रहेका जितु नेपालले प्रिमियरमा आफ्नो अभिनयको तारिफ सुनेर खुसी व्यक्त गरे । हास्य कलाकारको छवी बोकेका यी अभिनेताले यसपटक केही फरक कामको केशिस यसमा गरेको बताए ।

यो चलचित्रमा शेर्पा समुदायको विभिन्न संस्कृतिलाई प्रस्तुत गरिएको छ । संस्कृतिसँगै चलचित्रमा मानवीय र अन्य प्राणीबीचको सम्बन्ध र समवेदनालाई पनि उठान गरिएको छ । चलचित्रमा गरिवीले निम्त्याउने समस्या पनि प्रस्तुत छ । अभावमा बाँचिरहेको व्यक्ति आफ्नै गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ ।

चलचित्र कार्साङमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् ।

माघे सक्रान्तिको अबसर पारेर रिलिज गरिएको यो चलचित्रको शुक्रबार पहिलो दिन टिकट बुकिङ राम्रो भएको यसको निर्माण पक्षले जनाएको छ । तेल भिसापछि राम्रो नेपाली चलचित्र नआएका कारण पनि कार्साङले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ