कपिलवस्तु । थारु समुदायमा माघ/माघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको रौनक छाएको हो। कपिलवस्तु, बाँके, बर्दिया लगायत थारु बाहुल्य गाउँ बस्तीमा माघीको रौनक छाएको छ ।
विशेष गरी थारु गाउँ बस्तीमा यति बेला माघीको रौनक बाक्लिएको छ । विभिन्न ठाउँमा मेला लागेको छ । यो माघ (माघी) पर्वको रौनक हो । कपिलवस्तु सहित थारु समुदायका मानिसले हर्षोल्लासपूर्वक माघी पर्व मनाइरहेका छन् । मघौटा नाच, ढमार, ढुमरु गीतमा रमाउँदै यो समुदायका मानिसले आफ्नो सबैभन्दा ठुलो माघ पर्व मनाइरहेका हुन् । थारु समुदायका युवतीहरू परम्परागत पोसाक र गरगहनामा सजिएका छन्। निधारमा मङ्गीया, घाटीमा सुतिया, कुहिना माथि तर्ना, छातीमा गुरिया, नथनीया, र सिक्काले सजिएका औँठीहरूले उनीहरूको पहिचान झल्काएको छ ।

कपिलवस्तु स्थित बुद्धभूमि नगरपालिका–४, बुड्ढीतालमा आयोजित नगर स्तरीय माघी (खिचडी) महोत्सवमा थारु समुदायको परम्परागत संस्कृति सहित उनीहरूले लेहेँगा, चोलिया, अङ्गिया, र धोतीजस्ता मौलिक पोसाकसहित विभिन्न नृत्य प्रस्तुत गरेका थिए । महोत्सवमा झुमरा नाच, मयूर नाच, लठ्ठहवा नाच (लाठी नाच), र मघौटा नाचजस्ता परम्परागत प्रस्तुतिले थारु समुदायको सांस्कृतिक धरोहरलाई जीवित देखाएको थियो । कपिलवस्तुका तिन पालिका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा मागी महोत्सव लागेको छ।
थारु समुदायका व्यक्तिका अनुसार पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघी पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ । माघको पहिलो दिन बिहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुँगुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ । यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठा मिठा परिकार खाने चलन रहेको बुद्धभूमि नगरपालिका ४ का दिलीप थारुले बताए । बुद्धभूमि १ भेलाईका अगुवा (बड्घर) राम सेवक थारुले यति बेला थारु बस्तीका चोक चोकमा युवाहरूको जमघट बढेको जनाउँदै बाहिरबाट आएकाहरू आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त रहेकोले जताततै पर्वको माहौल देखिएको बताए ।

माघ १ गते मङ्गलवारदेखि थारु संवत् २६४८ सुरु भएको छ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोग सलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्छन् । यस दिन रिस राग, आपसी वैमनस्य, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मीयता दर्साउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । मासु, ढिक्री, तरुललगायतको परिकार खाने र आफन्तलाई खुवाउने गरिन्छ । यस दिन एक अर्कालाई सेवा ढोग गरेमा रिस राग, आपसी वैमनस्यको अन्त्य हुने विश्वास थारु समुदायमा रहेको छ । माघ २ गते अर्थात् माघी पर्वको अन्तिम दिन खोज्नीबोज्नी हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षका लागि योजना बनाउने गरिन्छ ।
यो पर्वमा थारु जातिले विशेष परिकारका रूपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोघी, सुँगुर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । यही दिन गाउँको नेतृत्व गर्ने व्यक्ति चयन गर्ने चलन पनि छ । गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुबा चयन गर्ने गरिन्छ ।
माघी पर्वको अन्तिम दिन नै आफ्ना विवाहित छोरी चेलीलाई उपहारका रूपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ ।