एकै चलचित्रमा दयाहाङ, आर्यन र खगेन्द्र

काठमाडौं । अभिनेता दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने एउटै चलचित्रमा जोडिएका छन् । यी तीन अभिनेताको मुख्य भूमिका रहेको चलचित्र ‘महाभोज’को माघे संक्रान्तिको अबसर पारेर मंगलबार काठमाडौंको कमलादी गणेश मन्दिरमा मुहूर्त गरिएको छ ।

यस अघि चलचित्र लोफरमा सँगै काम गरेका दयाहाङ र आर्यन एक दशकपछि चलचित्रमा सँगै जोडिएका हुन् । यी तीन अभिनेताको भने यो पहिलो संयुक्त सहकार्य हो । चलचित्रमा आर्यनसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहकलगायत कलाकार छन् । यो चलचित्रको बिहीबारदेखि पोखराबाट छायांकन सुरु हुने भएको छ ।

यस अघि गाउँ रमाइलो नाम राखिएको यो चलचित्रलाई नाम परिवर्तन गरेर महाभोज बनाइएको हो । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दै छन् । यस अघि मल्टीकास्ट राखेर चलचित्र पुजार सार्की बनाएका दिनेशले यस पटक पनि केही फरक शैलीको र ग्रामीण भेकको कथामा महाभोज बनाउन लागेको राजधानीलाई बताए । उनका अनुसार पोखरा आसपासका क्षेत्रमा यो चलचित्रको करिब ४५ दिन छायांकन हुनेछ । दिनेशले आफ्नो निर्देशनमा तयार हुन लागेको यो आठौँ चलचित्र भएको पनि जानकारी गराए ।

‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु’, निर्देशक राउतले भने, ‘देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ ।’

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा यो चलचित्रलाई हिमाल कडरियाले निर्माण गर्दै छन् । यसको कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल छन् । महाभोजमा विकास सुवेदीको लेखेन, राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठ सम्पादन, उत्तम न्यौपाने ध्वानी डिजाइन रहने छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते