चलचित्र ‘एक्टर’ विवादको मुद्दा अदालत पुग्यो

काठमाडौं । चलचित्र एक्टरको नाम विवाद प्रसंग यति बेला अदालतमा पुगेको छ । गत ४ माघबाट नेपालका चलचित्र घरमा प्रदर्शन भइरहेको चलचित्र एक्टरका निर्माताले यही बुधवार १६ माघबाट प्रदर्शन हुने भनिएको चलचित्र ‘एक्टर ः टेक वन’ विरुद्ध जिल्ला अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेका छन् ।

आफूहरू वास्तविक एक्टर भएको र नियम विपरीत एक्टर नाम अर्को चलचित्रलाई पनि दिएको भन्दै चलचित्र ‘एक्टर ः टेक वन’को प्रदर्शन रोक्न माग सहित निर्माता प्रस्तुत कर्ता सम्राट थापाले जिल्ला अदालत काठमाडौँमा रिट दायर गरेका छन् । चलचित्र एक्टरका कथाकार, संगीतकार एवम् प्रस्तुत कर्ता सम्राट थापाले नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट अदालतमा सो उजुरी दर्ता गरेका हुन् । उजुरीमा चलचित्र एक्टर ः टेक वानका निर्माण पक्षलाई प्रतिलिपि अधिकार बमोजिम कारबाही गरेर आफूहरूको क्षतिपूर्ति दिन आदेश माग गरिएको छ । सम्राटले सो रिटमा चलचित्र एक्टरको बौद्धिक सम्पत्ति चोरी भएको दाबी पनि गरेका छन् ।

सो रिटमा यस्तो लेखिएको छ,‘विपक्षीहरूको कार्यले मेरो चलचित्रको विषयमा आम दर्शकहरूका माझ भ्रमको अवस्था सिर्जना भई मेरो चलचित्रले तत्काल आशातीत व्यवसाय गर्न नसकेको अवस्था छ भने मैले निकट भविष्यमा विदेशमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएकोमा विपक्षीहरूको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ,’ सम्राट थापाद्वारा दिइएको रिट निवेदनमा ‘एक्टर ः टेक वन’को नाम परिवर्तन गर्न समेत आदेश माग गरिएको छ । यही १६ माघमा रिलिज हुने चलचित्र एक्टर टेक वानको रिलिज रोक्न पनि सो उजुरी पत्रमा माग गरिएको छ ।

‘विपक्षीले हाम्रो नाम र कथावस्तु चोरी गरी निर्माण गरेको एक्टर ः टेक वान यही माघ १६ गते देशव्यापी प्रदर्शन गर्ने मिति तय गरेका छन् । उक्त दिन सो चलचित्र प्रदर्शन गरेमा प्रस्तुत मुद्दाको औचित्य समाप्त हुने हुँदा, मुद्दाको अन्तिम किनारा नभएसम्म उक्त चलचित्रलाई कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनी रोक्काको आदेश जारी गरिपाऊँ’, सम्राट थापाद्वारा अदालतमा दायर गरिएको रिटमा लेखिएको छ ।

यसरी मुद्दा दायर गर्नुको कारण’bout चलचित्र एक्टरका प्रस्तुत कर्ता सम्राटले राजधानीसँग भने,‘उहाँहरूलाई हामीले सुरुबाटै एक्टर नाम नराख्न र अरु कुनै नाम राखेर चलचित्र बनाउन अनुरोध गर्दा पनि उहाँहरू मान्नु भएन र हाम्रै चलचित्रको नाम राखेर पछाडि सानो अक्षरमा टेक वान थपेर चलचित्रको नाम राख्नु भयो । चलचित्र विकास बोर्डबाट समेत हाम्रो उजुरीको सुनुवाइ नभएपछि हामीले कानुनको सहारा लिनु परेको हो ।’

चलचित्र एक्टरलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र ४ माघबाट रिलिज भएको हो । चलचित्रका अर्का निर्माता मनोहरि थापा हुने भने यो चलचित्रमा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, मनीषा पाण्डे लगायतको अभिनय छ ।

यता चलचित्र एक्टर ः टेक वानको निर्माता थमन कुमार भण्डारीले सो मुद्दाको ’boutमा दुःख व्यक्त गर्दै आफूहरूको चलचित्रको नाम एक्टर नभएको बताएका छन् । उनले आफूहरूको चलचित्रको नाम ‘एक्टर ः टेक वान’ भएको पनि प्रस्ट पारेका छन् । चलचित्रको नाम दिने आधिकारिक सरकारी निकाय चलचित्र विकास बोर्डले समेत एक्टर ः टेक वान नामलाई पारित गरेर चलचित्र बनाउने अधिकार आफूहरूलाई दिएको पनि उनले प्रस्ट्याएका छन् । आफूहरूले कसैको पनि नामको मानहानि नगरेको र दुवै चलचित्रको नामसँगै कथा बस्तु र कलाकारहरू पनि फरक भएको उनले जवाफ दिएका छन् ।

यसरी एक्टर नामको प्रतिलिपि हनन गरेको आरोप लागेको चलचित्र एक्टर ः टेक वानलाई राजन भुसालले निर्देशन गरेका हुन् । यो चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन । जसमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । यो चलचित्रको पछिल्लो समय गीतसँगै र ट्रेलर पनि युट्युव ट्रेन्डिङमा छ । यो मुद्दाले चलचित्रलाई फेरी एक पटक विवादमा ल्याएको छ । यसरी एक्टरको प्रस्तुत कर्ताले एक्टर ः टेक वानको रिलिज रोक्न अदालतमा रिट दर्ता गरेका कारण अब यो चलचित्रको प्रदर्शन के हुन्छ भन्ने कुरा मंगलबार अदालतको सुनुवाइ पछि मात्र थाहा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र