स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : केराबारी र लोहोरुङ फाइनलमा भिड्ने

इटहरी । इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा केराबारी फुटबल क्लब मोरङले संहदेवी फुटबल क्लब धनकुटालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा केराबारीले सिंहदेवीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि सिट सुरक्षित गरेको हो । यससँगै अब बिहीबार हुने फाइनल खेलमा केराबारी र लोहोरुङ फुटबल क्लब संखुवासभाबीच भीडन्त हुने पक्का भएको हो ।

मंगलबारको खेलमा केराबारीका लागि ५३ औँ मिनेटमा नितेश लिम्बूले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट थप गोल नभएपछि उक्त गोल नै निर्णायक बन्यो । प्रतियोगितामा केराबारीका लागि विदेशी खेलाडी एलेक्स म्यान अफ दि म्याच घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी थिए । माघ १७ गते उद्घाटन भएको प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्ने सुब्बाले जानकारी दिए । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रतियोगितामा हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले नगद पाँच हजार प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान