कांग्रेस प्रदेशसभा सदस्य देउवा ११ महिनादेखि अमेरिकामा, सेवा–सुविधा भने नियमित

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ११ महिनादेखि सदनमा अनुपस्थित छन् । तर प्रदेशसभा सदस्यका रूपमा पाउने तलब र सेवा–सुविधा भने नियमित रूपमा उनको बैंक खातामा जम्मा भइरहेको छ ।

पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका देउवा गएको २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २८ भदौमा व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनले आठ महिनापछि अर्थात् २३ चैत २०८२ मा सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्केर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले पत्रमा जनाएका थिए । तर त्यो पत्र पठाएको ४ महिनाभन्दा बढी बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका उनी कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित सांसद हुन् ।

उनी अहिले कहाँ छन्, कहिले फर्किन्छन् भन्ने नेपाली कांग्रेस कैलालीलाई पनि केही जानकारी छैन । नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनार भन्छन्, ‘२–३ महिनाअघि फोनमा कुरा हुँदा छिट्टै आउँछु भन्नु भएको थियो, त्यसयताउहाँसँग सम्पर्क भएको छैन ।’

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले प्रदेशसभाबाट अन्यथा निर्णय नभएसम्म तलब वा सुविधा रोक्न नमिल्ने बताए । ‘उहाँमाथि प्रदेश सभाबाट कुनै निर्णय भएको छैन । त्यसैले नियमअनुसार सेवा–सुविधा नियमित रूपमा खातामा पठाइरहेका छौँ,’ उनले भने ।

प्रदेशसभा नियमावली, २०८० अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भए पद रिक्त हुन सक्छ । देउवाले ८ बैठकपछि सभामुखलाई सूचना पठाएका थिए । त्यसैले हालसम्म पद रिक्त गर्ने प्रक्रिया अघि नबढेको सुदूरपश्चिम प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीले बताए ।

कैलाली क्षेत्र नं. ५ (२) का मतदाता भने उनीसँग असन्तुष्ट छन् । मतदाता भन्छन्, ‘हामीले जिताएर पठाएको नेता ११ महिनादेखि देखिएको छैन । हाम्रो ठाउँमा डुबान, सडक र खानेपानीको समस्या छ । ती कुरा प्रदेशसभामा उठाउने मान्छे नै विदेशमा हुनुहुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

हिजो घटेको सुनचाँदीकै भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?