काठमाडौं । करिब एक दशकपछि निर्देशक तुलसी घिमिरे चलचित्र निर्देशनमा फर्किएका छन् । उनले आफ्नो नयाँ चलचित्र पहाडको छायांकन मंगलबार गोरखाबाट सुरु गरेका छन् । गोर्खा दरबारमा पुजा गर्दै उनले यो चलचित्रको छायांकन थालेका हुन् । चलचित्रको छायांकन अवधि ४५ दिनको राखिएको घिमिरेले बताएका छन् ।
कोसेली, दुई थोपा आँसु जस्ता विभिन्न चलचित्रमा पत्नी भारती घिमिरेलाई तुलसी घिमिरेले यस अघि नायिका बनाएका थिए । यस पटक भने चलचित्र पहाडमा छोरी पञ्चमी घिमिरेलाई नायिकाको रूपमा उनले उतारेका छन् । केही चलचित्रमा वाल कलाकार भएर काम गरेकी पञ्चमीलाई नायिका बनाउनको लागि पनि तुलसीले यो चलचित्र निर्माण गरेको आरोप अहिले खेप्नु परेको छ ।
भाग्य रत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रमा पञ्चमीसँगै विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्रीलगायतका कलाकार मुख्य भूमिकामा छन् ।
नेपालको पहाडी परिवेश र त्यहाँको बिकटताले धेरै जनशक्ति रोजगारीको लागि विदेश पलायन भएको कथालाई यो चलचित्रमा तुलसीले उतार्दै छन् । चलचित्रको ’boutमा उनले भने,‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथालाई मैले यो चलचित्रमा समेट्ने छु । चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्नेछ’, चलचित्रमा आफूले नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेको पनि उनले बताए ।
यो चलचित्रको गोर्खा क्षेत्रमा २५ दिन र भारतको दार्जिलिङ क्षेत्रमा १५ दिन छायांकन गरिने भएको छ । पहाडलाई आगामी जेठमा रिलिज गर्ने लक्ष्यमा तुलसी घिमिरे रहेका छन् ।
ओजस्वी केसी निर्माता रहेको यो चलचित्रमा रञ्जित गजमेरको संगीत, भारती घिमिरेको क्रिएटिभ निर्देशन, रिम्पोछे लामा थिङ र सुरेश लामा थिङको सह निर्माण, वैंकटश इन्टरटेनमेन्टको नेपालमा र सेभेन सिज इन्टरनेशनलको विदेशमा वितरण रहने छ ।
चलचित्रको छायांकारमा प्रमोद प्रधान छन् । उनी बलिउडका अग्रज छायांकार हुन् । छायांकार प्रधानले निर्देशक घिमिरेसँग तीन दशक अघि चलचित्र अन्याय, कोसेली, चिनो र दक्षिणामा काम गरेका थिए । तीन दशकपछि फेरी नेपाली चलचित्रमा जोडिन पाउँदा खुस लागेको उनले बताएका छन् ।






