काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्स पुगेका एक नेपाली युवाको छुरा प्रहार गरी हत्या भएको खुलेको छ । करिब १ महिनाअघि मात्र संयुक्त अरब इमिरेट्सको दुबई पुगेका संखुवासभाको खाँदबारी नगरपालिका–८, डाँडागाउँका ३५ वर्षीय सुमन विश्वकर्माको उनकै साथीले छुरा प्रहार गरी हत्या गरेको परिवारले जानकारी दिएको छ ।
विश्वकर्मा दुबई पुगेर १५ दिन कामविहीन भएर बसेको र ड्युटी लागेको १५ दिनमै एउटै कोठामा सँगै बस्ने नेपाली साथीले हत्या गरेको श्रीमती प्रतिमा विश्वकर्मालाई उद्धृत गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाका निवर्तमान अध्यक्ष इन्द्र गिरीले बताए । मृतक र कोहलपुर घर भएका मगर थरका युवा एउटै कम्पनीमा काम गर्ने र सँगै बस्ने गरेका थिए ।
उनीहरू १ महिनाभित्रै नजिकका साथी भइसकेका थिए । सोही क्रममा १ दिन दुवै जना बसेर मदिरा सेवन गरेका थिए । त्यसबेला आपसमा विवाद हुँदा छुरा प्रहार गरी हत्या भएको भन्ने खबर आएको श्रीमती प्रतिमाले बताइन् । हत्या गर्ने ती नेपालीलाई दुबई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ ।
हत्याको जानकारी पाएपछि संखुवासभाको खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले पीडित परिवारलाई घरैमा गएर भेटेका छन् । पीडित परिवारको घर पुगेर खाद्यान्न राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख थपलियाले मृतकको शव चाँडै नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मृतकका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
दुबईमा हत्यारालाई मृत्युदण्ड दिने कानुन छ । यदि परिवारले ब्लडमनी मागे त्यो दिएर कानुनी प्रक्रिया पु¥याएर यूएई सरकार डिपोर्ट गर्नेछ । तर, ब्लडमनी नमागे र रगतको बदला रगतै मागे मृत्युदण्ड दिइन्छ ।
झन्डै १० महिनाअघि मात्र आफ्नै साथीको हत्या आरोप लागेका दुई नेपाली ब्लडमनी बुझाएर नेपाल फर्किएका थिए ।






