पोखरा । संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलमा संकटालाई पराजित गर्न टाला, करण राई र आदर्श तामाङले एकएक गोलको योगदान दिए । जितसँगै अब थण्डरबोल्टले यही २९ माघमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबसँग अन्तिम क्वाटरफाइनल खेल्नेछ । ब्ल्याक बुल्स शुक्रबारमात्रै नेपाल आइपुगेको छ ।
दिनको खेल सुरुआतमै संकटाले टिमलाई अग्रता दिलाए पनि त्यो अग्रता कायम गर्न सकेनन् । बदलामा थप ३ गोल खान पुग्यो । १७ औं मिनेटमा संकटाका मनीष पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पासाङ लामाको उत्कृष्ट पासमा डि–बक्समा रहेका मनीषले बललाई सिधैँ जाली चुमाएका हुन् ।
तर, ३४ औं मिनेटमा पाहुना टोलीले बराबरी खेल्यो । पाएको पेनाल्टी सदुपयोग गर्दै टालाले सहजै गोल गर्न सकेका हुन् ।
पहिलो हाफ १–१ को बराबरीमा टुंगिएकोमा पाहुना टोलीले ७७ औं मिनेटमा गोलअन्तर २–१ को स्थितिमा बनायो । करण राईले आन्द्रेको क्रसमा डि–बक्सबाट सुन्दर गोल गरेका हुन् । त्यसबेला विपक्षी गोलकीपर दीप कार्कीले रोक्न सकेनन् ।
त्यस्तै, आदर्श तामाङले ८४ औं मिनेटमा थप गोल गरी विजयी सुनिश्चित पारे । उनले मैदानको मध्यभागबाट प्रहार गरेका थिए ।
दुईपल्टको आहारारा गोल्डकप विजेता संकटा भने पोखरा रंगशालामा यसपालि पहिलो खेलबाटै बिदा लिन पुगेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् । शनिबार बेलायतको ब्रिगेड ब्वाइज क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई पराजित गरी विजयी यात्रा सुरुआत गरेको हो ।
१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल ३ फागुनमा हुनेछ ।