सिन्धुली । तेह्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कमलामाईले जितेको छ । मंगलबारदेखि सिन्धुलीमाढीमा जारी प्रतियोगितामा २३ स्वर्ण, ५ रजत र ७ कास्यपदक सहित कमलामाई नगरपालिका प्रतियोगिताको विजेता बन्दै रनिङ शिल्ड हात पारेको हो । कमलामाई नगरपालिकाले लगातार चौथो पटक जिल्ला स्तरीय रनिङ शिल्ड जितेको हो ।
कमलामाईले एथलेटिक्समा ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरेको छ । कराँतेतर्फ ७ स्वर्ण पदक, १ रजत र ३ कास्यपदक प्राप्त गरेको छ । यस्तै तेक्वान्दोमा १० स्वर्ण, २ रजत र १ कास्य पदक जितेको छ भने भलिवलमा २ स्वर्ण पदक, कवड्डीमा १ स्वर्णपदक र १ कास्य पदक जितेको छ ।
रनिङ शिल्डमा दुधौली नगरपालिका दोस्रो भएको छ । दुधौलीले ८ स्वर्ण पदक, २० रजत र १३ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको हो । दुधौलीले एथलेटिक्समा ५, कराँतेमा १, तेक्वान्दोमा २ स्वर्ण पदक प्राप्त गरेको थियो ।

प्रतियोगितामा फिक्कल गाउँपालिका तेस्रो भएको छ । फिक्कलले ८ स्वर्ण पदक, ७ रजत पदक र २ कास्य पदक सहित तेस्रो स्थान लिन सफल भएको छ । जिल्लाका नौ वटै स्थानीय तहले प्रतियोगितामा भाग लिएका थिए ।
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत ५५ स्वर्ण पदक, ५५ रजत पदक र ६० कास्य पदक विजेता भएका छन । खेलमा १ हजार ३ सय ३३ खेलाडी सहभागि रहेका छन ।
फागुन ५ गतेदेखि १३ गतेसम्म जारी रहेको राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गतका खेल मध्ये राष्ट्रपति रनिङ शिल्डका सबै खेल सकिएका छन । खेल सकिएसँगै बुधबार साँझ शिल्ड, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रतियोगितामा विजेतालाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेकी छिन ।
रनिङ शिल्डका खेल समापन भए पनि खेलकुद महोत्सव अन्तर्गतका खेलहरु जारी रहेका छन । जस अन्तर्गत विहिबार क्रिकेट प्रतियोगिता हुने महोत्सवका प्रेस संयोजक जिवी श्रेष्ठले जानकारी दिएका छन । महोत्सव अन्तर्गत १० वटा विधाका खेल जारी रहने उनले बताए ।






