बिराटनगर । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले कार्यक्रमका प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ ।
बेलबारी बहुमुखी क्याम्पसमा आयोजक कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरेका हुन् । अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीद्वारा प्रकाशित अनुसन्धानमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को लोकार्पण कार्यक्रममा प्रमुख अतिथि कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी रहेका थिए ।
उक्त कार्यक्रममा बेलबारी आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति रमेश निरौला, विशिष्ट अतिथिहरू बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरू विनोद भण्डारी र डा. उद्धव पोखरेल, बेलबारीका अग्रज स्रष्टा ईरान राई, साहित्यका छवि वैरागी घिमिरे लगायतका विशिष्ट व्यक्तित्वहरूले कृति खरिद गरेर लोकार्पणमा कार्यक्रममा भाग लिएका थिए ।
बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । नौलो भए पनि धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् ।
नेपाली साहित्यमा कथा, उपन्यास, गजल, बालकथा, अनुसन्धान तथा समालोचनाका क्षेत्रमा कलम चलाउने विरही पछिल्लो समय भने अनुसन्धानका पुस्तक लेख्तै आएका छन् ।
आठराई –२, खाम्लालुङ, तेह्रथुम मूल ठेगाना भई पछिल्लो समय मोरङको बेलबारीमा बसोबास रहेका विरहीका यसअघि नै ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथासङ्ग्रह (२०७७) र ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।





