काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।
उनका अनुसार कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलन आयोजना गरेर अभियानको उद्घाटन गरिनेछ । बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधिसमेत पारित गरेको छ ।
प्रवक्ता ज्वालाले राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको महाधिवेशनको तयारी, सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणका काम अघि बढाइने बताए । साथै, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि अभियानकै क्रममा गरिने उनले जानकारी दिए ।
‘आजको बैठकले अबको दुई महिना राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलन गरेर हामी राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्नेछौँ र मंसिर २५ गतेसम्म यो अभियान सञ्चालन हुनेछ,’ ज्वालाले भने ।
उनका अनुसार अभियानको मुख्य उद्देश्य पार्टीको महाधिवेशनको तयारी गर्नु, सदस्यता नवीकरण गर्नु र संगठनलाई थप सुदृढ बनाउनु हो । यसका लागि विभिन्न भेला तथा बैठक आयोजना गरिनेछ ।
नेकपाले राष्ट्रिय जागरण अभियानकै क्रममा सरकारका जनविरोधी क्रियाकलाप र अराजकताविरुद्ध आन्दोलनको तयारीसमेत गर्ने भएको छ । प्रवक्ता ज्वालाले स्थानीय तह र प्रदेशको निर्वाचनको तयारीसँगै सरकारविरुद्ध संघर्षका कार्यक्रम अघि बढाउने बताए ।
‘सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ । हामी यही अभियानमार्फत सरकारका विरुद्ध संघर्षको तयारी पनि गर्छौँ,’ उनले भने ।
बैठकले ‘ग्रे जोन’ पत्रिकामा प्रकाशित लेखका विषयमा सरकारको औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित विशेष प्रस्तावसमेत पारित गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
सम्बन्धित समाचार
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना
चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
सरकार ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन्ः रवि लामिछाने
चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
कांग्रेसमा गगनको दोस्रो इनिङ





