बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट बिहीबार १ हजार २९९ नेपालीहरुको उद्धार गरिएको छ । जारी लकडाउनका कारण एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । कोरोना भाईरस ( कोभीड १९) को जोखिमका कारण स्वदेश फर्कन नपाएका नागरिकलाई बिहीबार स्वदेश फर्काइएको हो । भारतको पिथौरागढ जिल्ला र नेपालका बैतडी र दार्चुलाका स्थानीय प्रशासनहरुबीच भएको सहमति अनुसार सीमामा रहेका नेपालीहरुलाई स्वदेश फर्काइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
झुलाघाट नाकाबाट बैतडी सहित १३ जिल्लाका नागरिकको उद्धार गरिएको छ । झुलाघाट नाकाबाट बैतडीका ८२९, दार्चुलाका ७३, बझाङका २०९, कैलालीका ३९, कञ्चनपुरका २०, डडेल्धुराका ९ र हुम्लाका ३२ जनाको उद्धार गरिएको छ ।
यस्तै मुगुका ३०, बाजुराका १२, दैलेखका २, बर्दियाका २१, सुर्खेतका ४ र अछामका १ जनाको झुलाघाट नाकाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीका नागरिकहरुलाई सम्बन्धित पालिकाका क्वारेन्टाइनमा बस्ने गरि पठाइएको छ भने बझाङ र डडेल्धुराका नागरिकलाई पनि सम्बन्धित जिल्लामा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै अन्य जिल्लाका नागरिकलाई बैतडीकै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने पहल भईरहेको र केही जिल्लाका नागरिकलाई भने सम्बन्धित जिल्लामा पठाईएको छ ।
यस्तै धारचुला नाकाबाट १ हजार २९६ नेपाली नागरिकको उद्धार गरिएको छ । धार्चुलाबाट बैतडीका ४७४ जनाको उद्धार गरिएको छ ।





