तारकेश्वरका मेयर महर्जनले फोहोरमैला व्यवस्थापनमा गरे झेल

काठमाडौं । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले फोहोरमैलामा आफूखुसी निर्णय गरेर अनियमितता गरेको पाइएको छ ।

नगरपालिकाले गत ६ फागुनमा ६०औं बैठकबाट नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक्का प्रक्रियामा नजाने बेलासम्मका लागि भन्दै तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिसँग सम्झौता गरेर फोहोरमैला व्यवस्थापनको जिम्मा दिएको पाइएको हो । मेयरको निर्देशनमा भएको सो निर्णय नगरपालिकाको वडा नम्बर १ देखि ११ नम्बरको कार्यालयलाई परिपत्र गरिएको छ ।

सो परिपत्रको विषयमा आफूहरूलाई जानकारीबिनै मेयरले कुनै एउटा कम्पनीलाई फोहोरमैला व्यवस्थापनको जिम्मा लगाएको भन्दै केही वडाध्यक्षले भने आपत्ति जनाएका छन् । यसअघि पनि फोहोर व्यवस्थापनको काम गर्दै आइरहेको तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालिले कसरी पुनः वैधानिकता पायो भन्ने विषयमा गम्भीर प्रश्न उठ्ने वडाध्यक्षहरूको भनाइ छ ।

बोलपत्र आह्वान नगरी एउटा कम्पनीलाई फाइदा पुग्नेगरी फोहोर उठाउने जिम्मा

यसअघि फोहोर उठाउने कम्पनीको वैधानिकताको विषयलाई लिएर वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुँयालले मेयर महर्जनलाई सामाजिक सञ्जालबाटै प्रश्न गरेपछि दुई जनाको विषयमा विवाद बढेको थियो ।

पछिल्लो समय फोहोर उठाउने कम्पनीलाई के आधारमा ठेक्का दिइएको हो भन्ने गम्भीर प्रश्न उठेको छ । फोहोरमैला व्यवस्थापनका लागि बोलपत्र आह्वान गरेर दिने गरेको भए पनि मेयर महर्जनले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर उठाउने जिम्मा दिएको स्थानीयको आरोप छ ।

फोहोरमैला व्यवस्थापनमा अनियमितता भएको विषयमा वडाध्यक्ष फुँयालसँग राजधानीले सोधेको प्रश्नमा उनले आफूले मेयरसा’बसँग फोहोरमैला फाल्न दिने कम्पनीको वैधानिकताको विषयमा पटक–पटक प्रश्न उठाएको बताए । ‘नगरपालिकाको फोहोर वैधानिकता पाएको कम्पनीलाई टेन्डर खुलाएर मात्रै दिनुपर्छ भन्ने मेरो मात्रै नभई जनताको माग हो,’ वडाध्यक्ष फुँयालले भने, ‘एकाएक नगरपालिकाको बैठक बसेर पुरानै तारकेश्वर फोहोरमैला तथा वातावरण संरक्षण प्रालिलाई दिने निर्णय भएछ ।’

कसरी कुन मापदण्डका आधारमा पुरानै कम्पनीलाई फोहोरमैला उठाउने जिम्मा दिइएको हो, सो’bout आफूलाई थाहा नभएको उनले बताए । ‘के आधारमा एउटा कम्पनीलाई आफूखुसी दिने निर्णय भयो त्यो मेयरले नै जान्ने कुरा भयो,’ वडाध्यक्ष फुँयालले भने ।

वडा कार्यालयमा फोहोर उठाउने कम्पनीको विषयमा नगरपालिकाले पत्रसमेत पठाइसकेको छ । वडाध्यक्ष शम्भुप्रसाद फुँयालले यसअघि पनि फोहोर उठाउने कम्पनीको वैधानिकता खोज्दै फेसबुकमा स्टाटस लेखेका कारण मेयर महर्जनले सामाजिक सञ्जालमा किन लेखेको भनेर स्पष्टीकरण मागेका थिए । २९ पुसमा वडाध्यक्ष फुँयालले तारकेश्वर नगरपालिकामा वार्षिक रूपमा जनताले फोहोरमैलाको नाममा वार्षिक ७ करोड रुपैयाँ बुझाउने लेखेका थिए । स्थानीय जनताले फोहोरबापत बुझाएको रकम कहाँ पुग्छ भन्ने जानकारी नभएको सामाजिक सञ्जालमा लेखेका थिए ।

मेयरले स्पष्टीकरण मागेपछि वडाध्यक्ष फँुयालले जवाफ लेख्दै फोहोरमैला कम्पनीको वैधानिकतामाथि प्रश्न उठाएका थिए । फोहोर उठाउने कम्पनीले प्रतिघर मासिक ३ सय रुपैयाँका दरले शुल्क लिए पनि वैधानिकता भने नपाएको वडाध्यक्ष फुँयालको दाबी छ ।

‘नगरपालिकाबाट वैधानिक रूपमा अनुमति नलिएको विषयमा चासो राख्नु एक जनप्रतिनिधिको कर्तव्य र दायित्व होइन र ?’ फुँयालले जवाफमा लेखेका छन् । उनले सुशासन र पारदर्शिताको कुरा लेख्न–बोल्न नगरपालिककासँग स्वीकृति लिनुपर्ने हो ? भन्दै मेयर महर्जनलाई प्रश्न गरे ।

नगरपालिकाभित्र विभिन्न निजी कम्पनीका नाममा स्थानीयको घरबाट फोहोर संकलन गर्दै आएको र प्रतिघर मासिक ३ सय रुपैयाँ संकलन भइरहेको उनले जनाएका छन् ।

नगरपालिकाभित्र करिब ४१ हजार घरबाट प्रतिघर ३ सयका दरले १ करोड २४ लाख रुपैयाँ मासिक संकलन हुने गरेको छ । प्रतिमहिना संकलित रकमबाट हालसम्म नगरपालिका लाभान्वित हुनेगरी कुनै काम नभएको वडाध्यक्ष फँुयालको आरोप छ ।

यसैबीच, फोहोरमैला फाल्ने विषयमा मेयर महर्जनले बिनाटेन्डर एउटा कम्पनीलाई फाइदा पुग्ने हिसाबले फोहोरमैला व्यवस्थापनको जिम्मा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । मेयर महर्जनले व्यक्तिगत लाभ लिने हेतुले टेन्डर आह्वान नै नगरी सिधै नगरपालिकाभित्रको फोहोर व्यवस्थापनको जिम्मा दिएको र आर्थिक लाभ लिने काम गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।

यसअघि तारकेश्वरमा रहेको नेपाल रत्न विद्यालयको ९ कक्षाको अनुमति रोकेको विषयमा समेत आयोगमा उजुरी परेको छ । मेयर महर्जनले व्यक्तिगत लाभ हुनेमा मात्रै काम अगाडि बढाउने गरेको र विद्यालयका बालबालिकाको भविष्यमाथि खेलवाड गरेको भन्दै उजुरी परेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1,141 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वोच्च अदालतका ४ न्यायाधीशको नाम अनुमोदन