महायज्ञमा करिब ३ करोड दान

पोखरा । सराङकोटमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव २ करोड ८८ लाखभन्दा बढी दान संकलन गर्दै समापन भएको छ ।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति आयोजनामा भएको महायज्ञ आयोजकको लक्ष्यअनुरुप सफल भएको महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले बताए । आयोजकले ३ करोड संकलनको लक्ष्य राखेकामा अन्तिम दिन ८० लाखसहित कुल २ करोड ८८ लाखभन्दा बढी दान संकलन भएको थापाले बताए ।

बुधबार समापन अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बहुउद्देश्यीय सामुदायिक भवन उद्घाटन गर्दै सराङकोट धामका रुपमा विकास भएकोमा खुसी व्यक्त गरे । उनले पोखरा भ्रमण वर्ष–२०२५ सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिए । उनले भने, ‘अब पर्यटक हिमाल हेर्न, सूर्योदय र सूर्यास्त अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अब कोटमात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन् ।’ उनले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औंल्याए ।

आयोजक समिति अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथसहयोगबाट महायज्ञ सफल भएको बताए । उनले भने, ‘वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो । यसको हामी सबै मिली संरक्षण एवं प्रवद्र्धन गर्नुपर्दछ ।’

यज्ञ सहअध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिँचित भएको बताए । महायज्ञका प्रमुख वाचक भागवत्भाष्कर पं कमलनयन गौतमसहित सहयोगी विभिन्न संघसंस्था एवं व्यक्तिहरुलाई सम्मान गरियो ।

महायज्ञमा करिब १ लाख ६० हजारजना भक्तजन सहभागी भएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले जानकारी दिए । तीमध्ये करिब ६० प्रतिशत अन्नपूर्ण केवलबारबाट आए ।

गत १४ फागुनदेखि सुरु महायज्ञको गत १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेको समिति अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वोच्च अदालतका ४ न्यायाधीशको नाम अनुमोदन