पाँच स्रष्टालाई १५औँ विन्ध्यवासिनी संगीत पुरस्कार

काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्न लागेको १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गतको विभिन्न पाँच विधामा सम्मानित एवम् पुरस्कृतहरूको नाम घोषणा गरिएको छ ।

शनिवार काठमाडौँमा आयोजना गरिएको विन्ध्यवासिनी फाउन्डेसनको ११औँ भेला तथा १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आयोजक समितिको बैठकले पुरस्कृत तथा सम्मानितहरूको नाम चयनसँगै सार्वजनिक गरेको हो ।

जस अन्तर्गत यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज गीतकार राजेन्द्र थापालाई प्रदान गरिने भएको छ । थापालाई एक लाख रुपियाँसहित ताम्रपत्रबाट पुरस्कृत गरिने आयोजक पक्षले कार्यक्रममा जनायो । भेलामा फाउन्डेसनका सल्लाहकारहरू गीतकार द्वय किरण खरेल र दिनेश अधिकारी तथा संगीतकार द्वय दीपक जंगम र शक्ति वल्लभको समितिले अग्रज गीतकार राजेन्द्र थापासहित अरू तीन जना पुरस्कृतको नाम पनि घोषणा गरेको हो ।

बिगत झैं यस पटक पनि विन्ध्यवासिनीद्वारा प्रदान गरिने सम्मान तथा पुरस्कारका लागि सिफारिस भएका स्रष्टाहरूको नाममाथि बृहत् छलफलपश्चात् सम्बन्धित सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारको नाम घोषणा गरिएको हो ।

जस अन्तर्गत यो वर्षको विन्ध्यवासिनी संगीत साधना सम्मान अग्रज गायिका संगीता शाक्यलाई प्रदान गर्ने निर्णय सो समितिले गरेको छ । विगत तीन दशक देखि नेपाली संगीत क्षेत्रमा साधनारत रहेकाले संगीतालाई ५० हजार रुपियाँसहित यो सम्मान प्रदान गर्न लागिएको हो ।

मूर्धन्य गायक प्रेम ध्वज प्रधानको नाममा स्थापित प्रेम ध्वज संगीत रत्न सम्मान यस पटक गायिका निशा देशारलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली संगीत क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय रहेकी निशाको योगदानको कदर स्वरूप २५ हजार रुपियाँसहितको यो सम्मान प्रदान गर्न लागिएको हो ।

त्यसै गरी यस वर्षको झलकमान लोक–संगीत सम्मान २०८१ लोक गायक शिरीष देवकोटालाई २५ हजार रुपैयाँ सहित प्रदान गरिने भएको छ । नेपाली लोक संगीत क्षेत्रमा योगदान दिएका कलाकारलाई पुरस्कृत गर्न लोकगायक झलकमान गन्धर्वको नाममा यो पुरस्कार स्थापना गरिएको फाउन्डेसनकी अध्यक्ष लिना शर्माले कार्यक्रममा बताइन् ।

यस्तै यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २५ हजार रुपियाँसहित पत्रकार शारदा थापालाई प्रदान गरिने भएको छ । यो पुरस्कार समितिका संयोजक पत्रकार विदुर गिरी, सदस्यहरू सुमन खरेल, डब्बु क्षत्री, अनन्तर वाग्लेलगायतले छलफलपश्चात् थापाको नाम सिफारिस गरेका थिए । भेलाले थापासहित सबै सम्मानितको नाम अनुमोदन गरेको हो ।

सम्मानित यी नामहरु अग्रज गीतकार दिनेश अधिकारीहरुले भेलामा घोषणा गरेका थिए । फाउन्डेसनका सचिव परमानन्द खनालले विन्ध्यवासिनी संगीत अवार्डको ’bout कार्यक्रममा प्रकाश पारे ।

कार्यक्रममा फाउन्डेसनका सञ्चालक सुवास रेग्मीले १५ वर्षको अविच्छिन्न यात्रामा स्रष्टा सम्मानमा आफूहरूले कहिल्यै हस्तक्षेप नगरेको र सल्लाहकारबाट सिफारिस भएका स्रष्टालाई पुरस्कृत गर्दै आएको बताए ।

विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी २८ चैतमा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने र सोही समारोहमा यी सम्मान पनि प्रदान गरिने सुवास रेग्मीले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना