सिरहा । सिरहाको लहान बजारमा म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा गरिएको अनुगमनको क्रममा हिजो आइतबार २८ बोरा म्याद गुज्रेको मैदा बरामद भएको छ । ईलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उधोग कार्यालय लहान, खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराज, ईलाका प्रहरी कार्यालय लहान, सशस्त्र प्रहरी क्याम लहान, राष्ट्रिय उपभोक्ता मञ्च सिरहासहितको टोलीले लहान बजारमा रहेको मुन्धडा इन्टरप्राइजेजको गोदाममा छापा मार्दा ५० किलोका २८ बोरा गरि १४ क्वीन्टल म्याद गुज्रेको मैदा बरामद गरेको हो ।
ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र यादव, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्री, सशस्त्र प्रहरी क्याम लहानका डिएसपी अर्जुनप्रसाद सापकोटा, जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्य, महासचिव अब्दुल करीम, कोषाध्यक्ष विकाश सारडा, वडा नम्बर ५ का अध्यक्ष सुलेमान मियाँ अन्सारीको उपस्तिथिमा व्यापारी पवन मुन्धडाको गोदामबाट म्याद गुज्रेको मैदा बरामद गरेको हो । राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताका अनुसार गोदाम छापा मार्दा म्याद गुज्रेको मैदा बरामद भएपछि मैदा जफत गरिनुका साथै मुन्धडा इन्टरप्राइजेजका प्रोपराइटर पवन मुन्धडालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानमा राखिएको बताए ।
बिरगंज खाद्य उद्योग प्रा.लि. परवानीपुर पर्सा नेपालद्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिनबाट उत्पादित ५० किलो तौल लेखिएको बोरामा प्याक गरिएको २८ बोरा म्याद गुज्रिएको मैदा भेटिएपछि थप सोधपुछका लागि व्यापारी मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ भने खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराजले म्याद गुज्रिएको मैदाको जाँचको लागि प्रदेश कार्यालय जनकपुर पठाउने उपभोक्ता उनले बताए ।
बन्दावन्दीको वेला निरन्तर बजार अनुगमन र शुपथ मूल्यमा माल समानहरु पाउनुपर्ने, तर यस्तो अवस्थामा म्याद गुज्रिएका खाद्यपदार्थ खपत हुन सक्ने र समानको कृत्रिम आभाव देखाएर अनुचित नाफा लिन सक्ने चर्चा चलिरहेको वेला लहानमा पहिलो पटक एउटै गोदामबाट यति धेरै मात्रामा म्याद गुज्रिएको मैदा बरामद भएको हो ।






