डडेल्धुरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित भएका छन । मंगलबार भएको निर्वाचनमा ऐरसहित नेविसंघको प्यानल नै विजयी भएको हो ।
ऐरले कूल खसेको ३७५ मध्ये १८४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिमा चुनाव लडेका थिए । काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको थियो ।
बोहराले १२८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत प्राप्त गरे । पाँच सय ५२ विद्यार्थी रहेको क्याम्पसमा तीन सय ७५ मत खसेको निर्वाचन अधिकृत नरेस भट्टले जानकारी दिए । समानुपातिकतर्फ भने तीन सय ७६ मत खसेको थियो ।
डडेल्धुरा बहुमूखी क्याम्पसमा यसअघि स्ववियु सभापतीमा नेविसंघकै दुर्गा भट्ट निर्वाचित भएका थिए । उनले अहिले पनि चुनाव लडेका नेविसंघ (बीपी) का मदन बोहरालाई नै पराजित गरेका थिए ।
स्ववियुको गत निर्वाचनमा डडेल्धुरा क्याम्पसमा ५२३ मत खसेका थिए । खसेका मत मध्ये नेविसंघका दुर्गाप्रसाद भट्ट ३१० मत पाउँदै विजयी भएका थिए । गत निर्वाचनमा सयुक्त गठबन्धनका तर्फबाट नेविसंघ (बीपी)बाट सभापतिका उम्मेदवार बोहराले १०८ मत पाएका थिए भने अखिलका गणेश क्षेत्रीले ७० मत प्राप्त गरेका थिए ।






