काठमाडौं । नेपाल एपिएफ र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पार्दा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबले मिश्रित नतिजा निकालेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले डायमन्डलाई २१–२५ २५–८, २५–१४ र २५–१६ ले हरायो । अपराजित रहेको एपिएफ १२ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानमा यथावत छ । एपिएफसँग पराजित हुनुअघि डायमन्डले बुलबुले रारा भलिबल क्लबमाथि २५–२२ र २५–१२, १८–२५ र २५–१६ ले हराएको थियो । उ १२ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा यथावत छ । बुलबुले १३ अंकका साथ छैटौ स्थानमा छ ।
यस्तै नेपाल पुलिस क्लबले चितवन टाइग्रेसमाथि ३–१ को जित निकालेको छ ।
पुलिसले चितवनमाथि २५–२३, २५–२१, १७–२५ र २५–२० को सहज जित निकाल्यो । जितसँगै पुलिसले शीर्षस्थानको एपिएफलाई पछ्याइरहेको छ । पुलिसको १२ खेलबाट ३४ अंक पुगेको छ ।