क्षयरोग रोकथाममा प्रभावकारी योजना आवश्यक

हरेक वर्ष २४ मार्चमा विश्वभर क्षयरोग दिवस मनाइने गरिएको छ । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको छ ।

सोह्रौं योजनाको अन्तसम्म मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ८५ जना, नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १३ जना, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा २२ जना, पाँच वर्षमुनिका बालकालिकाको पुड्कोपनको अवस्था १७ प्रतिशत, सडक दुर्घटनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या प्रति १ लाख जनसंख्यामा ५ जना, पूर्ण खोप लगाउने बालबालिका ९५ प्रतिशत, स्वास्थ्यकर्मी उत्पादन प्रतिहजार जनसंख्यामा ४ दशमलव ६४ जना, स्वस्थ जन्ममा आबद्ध जनसंख्या ७० प्रतिशत, स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण दर ९० प्रतिशत, कुल स्वास्थ्य खर्चमा व्यक्तिगत तहमा हुने खर्च ३८ प्रतशित, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएको घरधुरी ८६ प्रतिशत, पाँच वर्षमुनिका बच्चामध्ये जन्मदर्ता गरिएको बालबालिका शतप्रतिशत हासिल गर्ने लक्ष्य छ ।

सो लक्ष्य हासिल गर्नका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य पबमा प्रणालीलाई पुनःसंरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको उत्याधुनिक र उच्चतम प्रविधिकरण गर्ने, गुणस्तरीय, भरपर्दाे तथा एकीकृत स्वास्थ्य प्रणाली विकास गर्ने, स्वास्थ्य पर्यटन प्रवर्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलम्बन गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने, अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने, औषधि, औषधिजन्य सामग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन तथा सामाजिक न्याय कायम गर्ने, स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि लगानी अभिवृद्धि गर्ने, विद्यमान सञ्चालनमा रहेका कार्यक्रम पुनर्मूल्यांकन र परिमाजर्न गर्ने रणनीति छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवाप्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोग परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचना पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।

यो रोग प्राचीनकालदेखि हाम्रो समुदायमा लागि संक्रमण हुने गरकोे पाइन्छ । आजभन्दा ५० वर्षपहिले यो रोग लाग्ने बिरामीलाई धेरै नकारात्मक तरिकाबाट हेरिने भएकाले समाजमा तिरस्कार हुने भयले गोप्य तरिकाबाट उपचार गरिन्थ्यो । आज भने मेडिकल विज्ञानले गर्दा यो रोगलाई सामान्य रूपमा लिइन्छ । विश्व जनसंख्याको एकतिहाइ क्षयरोगको कीटाणुले संक्रमणको जोखिममा रहेको पाइन्छ । विकासोन्मुख देशमा भने यसको दर अझ धेरै छ । प्रत्येक वर्ष विश्वमा झन्डै ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने सो रोगको कारण २० लाखको मृत्युसमेत हुने गर्छ । राष्ट्रिय क्षयरोग केन्द्रको आँकडाअनुसार लगभग ४५ प्रतिशत नेपाली यो रोगबाट प्रभावित हुने गरेको पाइन्छ । उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् ।

हाम्रो देशमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत फोक्सोमा हुने गरेको पाइन्छ । नेपाल सरकारले यस रोगको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युदरमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ । विशेषगरी दुर्गम गाउँघरमा यस रोगको सचेतनाको कमी भई बेलैमा उपचार गर्न नआउने ठूलो समस्या छ । अतः २४ मार्चमा सो रोगसम्बन्धी सबै ठाउँमा सचेतना जगाई उपचारको दायराभित्र ल्याउने मुख्य उद्देश्य पनि हो । यो रोगको लक्षणमा तीन हप्ता वा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, सास फेर्न गाह्रो भएमा वा छाती भारी भएमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने घेरै भएमा, थकाइ बढी महसुस भएमा, नजिकको स्वास्थ्यकर्मीलाई जँचाउनुपर्छ । यो रोग सर्न पनि सक्छ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कमी भएमा संक्रमण भई रोगीको अवस्था नाजुक हुन सक्छ । अतः बेलैमा नजिकको स्वास्थ्य संस्थामा जँचाउनुपर्छ । यो रोग चुरोट, रक्सी वा लागूऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा संक्रमण फेरि देखिन सक्छ ।

अतः स्वास्थ्यकर्मीले दिएको औषधि नियमित सेवन गरे यो रोग निको हुन्छ । त्यसकारण यस रोगको लक्षण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा परीक्षण गराई स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गरौं । सरकारले सञ्चालन गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत १ सय २५ स्थानीय तहमा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोजकार्य सञ्चालन गरेको छ । सो नियन्त्रणका लागि ७ सय ५३ स्थानीय तहमा खोज कार्य बढाउने सम्बन्धित निकायको भनाइ छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत मधेश, बाग्मती, र लुम्बिनी प्रदेशमा छन् । विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको ३० देशमध्ये नेपाल पनि हो । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।

विश्वव्यापी रूपमा यो रोग प्रमुख समस्याको रूपमा रहेको छ । नेपालमा प्रयास गर्दागर्दै पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । हाम्रो स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाई गुणस्तरीय सेवामा समतामूलक पहुँचको विस्तार गर्न आवश्यक छ । यसका लागि क्षयरोग रोकथाम निदान र गुणस्तरीय उपचार सेवा वृद्धि गर्न स्थानीय समुदायको सहभागितामा नवीनतम प्रविधि र रणनीतिक साझेदारी आवश्यक पर्छ । विशेषगरी गरिबी, कुपोषण, मधुमेह, धूमपान, मद्यपान, एचआईभी संक्रमित आदिमा यो रोग उच्च रहेकाले सोको प्रभावकारी व्यवस्था बेलैमा मिलाउन आवश्यक छ । राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धताअनुरूप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न २०२१–२२ देखि २०२५–२६ सम्मको पञ्चवर्षीय राष्ट्रिय रणनीति योजना पनि बनाएको पाइन्छ ।

अतः क्षयरोगको न्यूनीकरणमा तीनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । क्षयरोग रोकथामका लागि स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधनस्रोत हुनुपर्छ । आम नागरिकलाई प्रवर्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्थामा आधुनिक सूचना प्रविधिको विकास गरी सेवाप्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रमा उत्साहसाथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । यसो भएमा मात्र क्षय रोगको न्यूनीकरण गरी लक्षित समूहको स्वास्थ्य सुरक्षा गर्न सकिने छ । तब मात्र हरेक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवसले सार्थकता पाउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल