प्रहरी चौकी खार्पाको सुविधा सम्पन्न नवनिर्मित भवन उद्घाटन

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकीको नवनिर्मित सुविधा सम्पन्न आरसिसी कार्यालय भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले भ्याटसहित रु. दुई करोड ९५ लाख ३२ हजार लागतमा निर्माण भएको भवनको आइतबार उद्घाटन गरे । वि.सं. २०६९ सालमा स्थापना भएको खार्पा प्रहरी चौकीले अहिलेसम्म साबिक खार्पा गाउँ विकास समिति (गाविस) को पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

स्थापनाको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको प्रहरी चौकीका लागि नयाँ भवन निर्माण भएर प्रयोगमा आएसँगै सेवा प्रवाहमा सहज हुने जनाइएको छ । नवनिर्मित साढे दुईतले भवनमा सानो–ठूलो गरी ११ वटा कोठा रहेको छ । यसमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, एटेज शौचालयसहितको महिला र पुरुष ब्यारेक, कार्यालय प्रमुख आवास, मनोरञ्जन हल लगायतका कोठाहरू निर्माण गरिएको छ ।

भवनसँगै किचन (भान्छाघर) र शौचालय पनि निर्माण गरिएको छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक अधिकारीले प्रहरीले समाजमा हुने अपराध रोकथाम तथा नियन्त्रण गर्ने मात्र नभएर प्राकृतिक एवम् अप्राकृतिक विपद्हरू पनि रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताए । उनले सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने बताउँदै समाजलाई सुरक्षित बनाउन प्रहरी मात्र नभएर सबै समुदायका नागरिक एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे लगायत जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। प्रहरी चौकी खार्पाको आरसिसी भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयले खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !