युएसएडको डलर खाएको आरोपमा हरिवंश बोले

काठमाडौं । नेपालका अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पछिल्लो समय अमेरिकन यहायता संस्था युएसएडको डलर लिएर विभिन्न कार्यक्रम मार्फत नेपालमा हिन्दु धर्म विरुद्ध जनतालाई उकास्ने र हिन्दु धर्मलाई खराब देखाउने गरेको आरोप लागेको छ । कलाकार हरिवंश आचार्यले यो विषयमा बोल्दै लोकप्रिय भएपछि यस्ता लाञ्छनाहरू लाग्नु स्वाभाविक भएको बताएका छन् ।

काठमाडौँको मण्डला थिएटरमा आयोजना गरिएको तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५ मा मंगलबार उनीसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा सो विषयमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । गलत लाञ्छना लाग्दा आफूहरूको पनि चित्त दुख्ने, आँखा रसाउने तथा निन्द्रा समेत नलाग्ने गरेको यी कलाकारले बताए ।

‘पछिल्लो समय जुन युएसएडको कुराहरू आएको छ, युएसएडको पैसाबाट हामीले ५२ भागको मदनबहादुर र हरिबहादुर भन्ने सिरियल बनायौँ भने मिनापसँग सहकार्य गरेर आमा भन्ने सिरियल पनि बनायौँ । त्यति बेला माओवादी मूलधारमा आएकाले जातीय कुराहरू, क्षेत्रीय कुराहरू धेरै भएका थिए’, हरिवंशले कार्यक्रममा भने,‘क्षेत्रीय र जातीय भन्दा पनि राष्ट्रको लागि काम गर्नु पर्छ भन्ने सन्देश राखेर तपाईँहरूले सिरियल बनाइदिनुस् भन्ने प्रस्ताव सरकारको तर्फबाट हामीलाई आएको थियो । सिरियल बनाउँदा युएसएडले हामीलाई कहिल्यै पनि डलर दिएको थिएन र नेपाली पैसा नै आउँथ्यो ।’

आफूहरूले ५२ भागको ७२ घण्टाको टेली सिरियल ४÷५ करोडमा बनाएको कलाकार हरिवंशले बताए । यसरी सरकारले भने अनुसार र सरकारको सल्लाह अनुसार आफूहरूले यो सिरियल निर्माण गरेको पनि हरिवंशले प्रस्ट्याए । विगतमा पनि आफूहरूले प्रतिपक्ष भएर विभिन्न विकृतिको विरुद्ध नाटक तथा सिरियल मार्फत काम गरेको पनि उनले खुलाए । आफूहरूको कार्यक्रमले समाजमा राजनीतिक चेतना बढेको कुरा धेरैतिरबाट सुनेको पनि हरिवंशले जिकिर गरे । समाज परिवर्तनको लागि आफूहरूले गरेको कामको कुरा उठाएर कसरी आफुहरुको चरित्र बिगार्न र पत्रु काम नलाग्ने मान्छे रहेछन् भनेर समाजमा भड्काउनको लागि केही मान्छेहरूले यस्तो प्रयास गरेको हरिवंशले दाबी गरे । व्यवसायी दुर्गा प्रसाईँदेखि धेरैले हिजोका दिनमा कार्यक्रममा प्रमुख अतिथि बनाएका कार्यक्रममा लागेका उनले सम्झिए । तर आज उनीहरुले मह जोडीको कामले हीनताबोध भयो भनेर टिप्पणी गरेको सुन्दा आफूहरूलाई गाह्रो भइरहेको पनि हरिवंशले गुनासो पोखे । उनले सो क्रममा भने,‘हामीले नचाहँदा नचाहँदै पनि सामाजिक सञ्जालमा स्पष्टीकरण दिनु पर्ने स्थित आयो र त्यस्तो किसिमका चुनौतीहरू भोग्नु परेको छ । पपुलर भएपछि भोलीका दिनमा अझै यो भन्दा ठुला चुनौती आउने छन् होला ।’

संसारमा नराम्रा मान्छेहरू भन्दा राम्रा मान्छेहरूको संख्या बढी भएका बताउँदै दुई चार जना मान्छेहरूले बोलेका कुरा चिर्दै अगाडि बढ्नु आफूहरूको जिम्मेवारी भएको पनि हरिवंशले बताएका छन् । लोकप्रिय भएपछि आउने यस्ता आरोपका सामना गर्दै थप अघि बढ्ने पनि उनले जिकिर गरे ।

आफुमाथि लागेको आरोपको सफाइ दिने क्रममा यी कलाकारले रंगमञ्चदेखि चलचित्रसम्मको यात्राको कथा पनि सुनाए । हास्य अभिनेताको रूपमा छवि बनाएका हरिवंश आचार्यले आफ्नो अभिनय यात्रा नाटकबाटै सुरु भएको बताए । आफ्ना अभिनयका गुरु अग्रज कलाकारहरू हरि प्रसाद रिमाल र जितेन्द्र महत अभिलाषी रहेको यी कलाकारले जानकारी गराए । आफ्नो अनुभव सुनाउने क्रममा हरिवंशले नाटक गर्दा सिकेको अभिनयले आफूलाई अहिलेसम्मको कला यात्रामा साथ दिएको बताए ।

‘सबैभन्दा पहिला अभिनय गर्ने आँखाले हो, शरीर र संवादले मात्र हैन । त्यसैले आँखाको अभ्यास पनि गर्नु पर्छ भनेर गुरुहरूले सिकाएपछि उहाँहरूसँग प्रशिक्षण लिँदालिँदै म अभिनयमा लागेको हुँ’, कलाकार विजय बरालसँगको अन्तरक्रियामा हरिवंशले पुराना संघर्षका दिन पनि सम्झिए ।

मदनकृष्ण श्रेष्ठ र आफूले पहिलो पटक विज्ञापन नामको नाटकमा सँगै काम गरेको पनि हरिवंशले बताए । उनका अनुसार यो नाटक ३७५ पटकसम्म मञ्चन भएको थियो । नेपालका विभिन्न जिल्लामा त्यति बेला दिउँसो मात्र नभएर राती पेट्रोम्याक्स समेत बालेर यो नाटक मञ्चन गरेको अनुभव उनले सुनाए । यो नाटक मह जोडीले हङकङ, अमेरिकालगायतका देशमा समेत मञ्चन गरेका थिए ।

पछिल्लो समय मह जात्रा कार्यक्रम गर्दै आएका हरिवंश आफूले रंगमञ्च साह्रै प्यारो लाग्ने बताए । नाटक भन्दा आफूहरूले पछिल्लो समय हास्य नाटक अर्थात् प्रहसन गर्दै आएको पनि उनले जनाए । अहिले पनि आफूहरूले रंगमञ्चको अनुशासनमा रहेर काम गर्दै आएको पनि उनले कथन थियो । रंगमञ्चमा प्रस्तुत हुनु अघि अहिले पनि दुई÷चार पटक शौचालय जाने गरेको अनुभव सुनाउँदै उनले भने,‘अहिले पनि आफ्नो प्रस्तुति दिन रंगमञ्चमा चढ्दा मुटु ढुकढुक हुन्छ र एक प्रकारको डर लाग्छ । जब म चरित्रमा उत्रन्छु, त्यसपछि भने डरा हराउँछ र म आफूलाई बिर्सेर चरित्रमा डुब्छु ।’

हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक नभएको पनि उनले जिकिर गरे । त्यसैले आफूसँधै नाटकको नजिक रहेकोमा कुरामा उनले जोड दिए । नाटकदेखि चलचित्रसम्म अहिले पनि उस्तै सक्रियताको ’boutमा कलाकार हरिवंशले भने, ‘मेरो उमेर ६७ भयो, तर म काम गर्ने बेलामा उमेर ३७ वर्षको भएर सोच्छु र सोही ऊर्जाले काम गर्छु’, आफूलाई शारीरिक रूपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने बताउँदै उनले भने, ‘मानसिक रूपमा स्वस्थ रहन म नकारात्मक कुराहरूलाई टेबल टेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु भने आध्यात्मिक रूपमा त्यत्तिकै ध्यान अभ्यास पनि गर्छु ।’

कलाकार हरिवंशको पछिल्लो चलचित्र भूठान आउँदो १२ वैशाखबाट नेपालमा रिलिज हुँदै छ । यो चलचित्रमा काम गर्दाको निकै रमाइला प्रसंग पनि उनले सो भलाकुसारीको क्रममा सुनाए । कार्यक्रममा उनले भने, ‘भूठानको स्क्रिप्ट दुई तीन पटक पढेपछि यस चलचित्रमा काम गरेँ भने मैले पक्कै नयाँ केही गर्न सक्छु भन्ने लाग्यो । अनि मैले भूठानमा काम गर्ने निर्णय लिएँ र यो निकै राम्रो चलचित्र बनेको जानकारी यहाँहरुलाइ गराउँद छु ।’

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे