काठमाडौं । डिसेम्बर अन्तिम सातादेखि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण विश्व नै प्रभावित बनेको छ । यो भाइरसको महामारी चौथो महिनामा चलिरहेको छ । स्थिर हुने कुनै छाँटकाँट नै छैन । जसले गर्दा दैनिक आम्दानीका स्रोत बन्द भएपछि निम्न आय भएका आममानिसको दैनिक जीवन संकटमा परेको छ । यसबाट नेपालजस्तो विकासोन्मुख राष्ट्र झनै मारमा परेको छ ।
कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी)को घोषणा गरेको थियो । जुन अहिलेसम्म पनि जारी छ । यसबीचमा ठूला सपना देखेर काठमाडौं छिरेकाहरू घर जान नपाए पनि आफैंले जोहो गरेको खाँदै काठमाडौंमा बस्दै सरकारको लकडाउनलाई पालना गरे । लकडाउन खुल्ने आशा गरेका उनीहरू लकडाउन अझै बढ्दै गएपछि निकै समस्यामा परेका छन् ।
भएको समान पनि सकिएपछि पैदलै घरसम्मको सयौं किलोमिटर यात्रा गर्दै आफ्नो घर गएका पनि देखिए । त्यसरी घर गइरहेकाहरूलाई नेपाल सरकार, सहयोगी भावना भएका व्यक्तिहरू र संस्थाले विभिन्न हिसाबले सहयोग गरिरहेका छन् । तीमध्ये सहयोग गर्नेमा खेलाडी पनि छन् । नेपाली खेलाडीको जीवनस्तर विकसित देशमा जस्तो राम्रो छैन । तर, पनि यस्तो संकटको अवस्थामा विभिन्न खेलाडीले जति सक्दो सहयोग गरिरहेका छन् । तीमध्ये गत वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा करातेतर्फ दोहोरो स्वर्ण जित्न सफल मन्डेकाजी श्रेष्ठ एक हुन् ।
मन्डेकाजीले लकडाउनका कारण समस्यामा परेकालाई खाना खुवाउने तथा अन्य आवश्यक सामग्री सहयोग गरेका छन् । हिँडेर घर गइरहेका कामदारलाई उनले खाजा, खाना, जुत्ता र चप्पलको व्यवस्था गरिदिएका छन् । सागमै टेबल टेनिसको महिला टिम इभेन्टसमा कांस्य जित्न सफल एलिना महर्जनले पनि आफ्नो क्षेत्रमा रहेका २ सय परिवारलाई खाद्यान्न सहयोग गरेकी छन् । उनले सागमा पाएको पुरस्कार (२ लाख)को आधा १ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेकी हुन् । यी त खेलाडीले सहयोग गरेको केही उदाहारण मात्रै हुन् ।
यस्तै, करातेका प्रशिक्षक कुशल श्रेष्ठसहति अन्य खेलाडी र पदाधिकाहरूले पनि यस्तै विपद्मा परेकालाई सहयोग गरिरहेका छन् । खेलाडीहरू खेलमा मात्र पोख्त छैनन् समाजसेवामा पनि अघि छन् भन्ने देखाएका छन् । आफूले सफलता हात पार्न जति दुःख गरेका छन् । अरुको दुःख पनि उत्तिकै बुझ्दै विपद्मा परेकाहरूलाई सहयोगलाई जारी राखेका छन् ।
‘सुरुवाती दिनमा सरकारको नियमलाई पालना गर्दै सामाजिक दूरी कायम राख्दै घरमा नै बसिरहेको थिए । सञ्चारमाध्यममा घर वरिपरिका दृश्यहरूले मलाई छोयो । साथीहरूसँग सल्लाह गरे त्यसपछि हामीले सहयोग गर्न सुरु ग¥यौं,’ दोहोरो स्वर्णधारी मन्डेकाजीले भने, ‘काठमाडौं उपत्यकामा बसेर खाने अवस्था नभएकाहरू चार÷पाँच दिनको पैदल यात्रामा घर जान तयार भएका व्यक्तिहरू देखिए । उनीहरूलाई खानेकुरा सहयोग ग¥यौं । खाली खुट्टा अन्यत्र जिल्लाबाट हिँडेरै काठमाडौं उपत्यकामा आएकालाई जुत्ता चप्पलको व्यवस्था ग-यौ ।’ सबै मध्यपुर ठिमी नगरपालिकाको समन्वयमा साथीभाइ तथा स्थानीय संस्था जोन्ता क्लब, रोटरी क्लब काठमाडौं मिडटाउन, दि आर्ट अफ लिभिङ नेपाल र नयाँ युवा समूहको सहयोगमा सहयोग गरिएको मन्डेकाजीले बताए ।
सागमा स्वर्णपदक जितेको रकम राखेपले लकडाउनबीच खेलाडीको खातामा जम्मा गरिदिएपछि झनै हौसला बढेको मन्डेकाजीले थपे । पछिल्लो समय उनलाई ‘कतिपय अवस्थामा मैले व्यक्तिगत रूपमा पनि सहयोग गरेको छु । झन्डै १ लाख २० हजार मेरो व्यक्तिगत खर्च भएको होला । तर, अहिले अन्य संघसस्था जोडिएका छन्, सघाउने संस्थाहरू थपिएका छन्,’ मन्डेकाजीले भने, ‘बाटोमा हिँड्ने मात्र नभई हामीले घर जान नसकेर यहीँ बस्नेलाई पनि खाजाको व्यवस्था गरेका छौं । विभिन्न वृद्धाश्रममा पनि सहयोग गरिरहेका छौं ।’ मन्डेले नयाँ ठिमी, जडीबुटी, झौखेल र बोडेलगायतका क्षेत्रमा आफ्नै र विभिन्न संघसंस्थाको सहयोगमा सहयोग गरिरहेका छन् । लकडाउन २५ वैशाखसम्म रहेको छ ।
सरकारले लकडाउनको घोषणा गरेर कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि स्थापना गरेको कोषमा क्रिकेट खेलाडी सन्दीप लामिछानेले १ लाख रकम सहयोग गरेका छन् । क्रिकेट खेलाडीहरूको छाता संस्था सिप्यानले पनि सरकारले स्थापना गरेको कोषमा एनसीसीएस–सिप्यान क्रिकेट अवार्डको पाँच विधाका विजेता खेलाडीलाई प्रदान गरिने पुरस्कार ४ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ रकम सहयोग गरेको छन् ।






