राजावादी आक्रमणले पत्रकारको ज्यान लिएपछि कपिलवस्तुमा विरोध र्‍याली

कपिलवस्तु । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि आक्रमणको विरोधमा कपिलवस्तुका पत्रकारहरू सडकमा उत्रिएका छन्। शुक्रवार भएको राजावादी आन्दोलनको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार रजकको मृत्यु भएको हो। रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।

उनको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले शनिवार चन्द्रौटामा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्‍यो। कार्यक्रममा जिल्लाका  पत्रकारहरूले कार्यस्थलमा पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको तीव्र भर्त्सना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

विरोध र्‍यालीमा सहभागीहरूले प्लेकार्डसहित सडकमा प्रदर्शन गरेका थिए। चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईँले नेपाली पत्रकारिता क्षेत्रमा गम्भीर सङ्कट आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरे। उनले विभिन्न संघ सङ्गठनले गर्ने विरोधका कार्यक्रममा मिडियालाई टार्गेट गर्ने काम बन्द गर्न चेतावनी समेत दिएका छन्।

प्रेस चौतारीका अनुशासन आयोग सदस्य जानू पाण्डे, पत्रकार महासंघका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, अकोराव लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष राजु खाराल लगायतका वक्ताहरूले आन्दोलनका नाममा कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट जस्ता सञ्चारमाध्यममा भएका आक्रमणहरूको तीव्र भर्त्सना गर्दै सरकारसँग पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । 

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

रुरुमा बन्यो नेपालकै दोस्रो लामो पुल