आजभोलि जताततै र जुनसुकै काममा पनि प्रतिस्पर्धाको जमाना छ । त्यसमा पनि अझ विश्व पर्यटन जगत्मा त थामिनसक्नुको प्रतिस्पर्धा देखिन्छ । फलतः विश्वका कैयौं देशले कसरी धेरैभन्दा धेरै विदेशी पर्यटक भित्याउन सकिन्छ भनी विदेशी पर्यटकलाई आकर्षित गर्ने तत्कालीन र दीर्घकालीन नीति र कार्यजोना बनाउने, लागू गर्ने गर्छन् । पर्यटक आकर्षित गर्ने प्याकेजसहित अभियान चलाउँछन् ।
यसरी हेर्दा २ फेब्रुअरी २०२३ का दिन दक्षिण–पूर्वी एसियाली टापु देश हङकङको सरकारमातहत रहेको ‘हङकङ टुरिज्म बोर्ड’ ले पनि आफ्नो देशमा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्न ‘हेल्लो हङकङ’ भन्ने नारासहित अभियान चलाएको थियो । ‘हेल्लो हङकङ’ अभियानअन्तर्गत विदेशी पर्यटकको आगमन दर बढाउने उपाय अपनाएको थियो । हङकङ भ्रमण गर्ने ५ लाख विदेशी पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएको थियो । कोरोना महामारी अन्त्य भएको घोषणा गरिएको समयमा अभियान चलाएर आप्mनो भूमिमा विदेशी पर्यटक बढाउने कार्यक्रम ल्याइएको थियो । सो अभियान अन्तर्गत ‘हङकङ टुरिज्म बोर्ड’को समन्वय, रेखदेख र परिचालनमा कोरोना महामारी अघिभन्दा पनि बढाउने उपायका रूपमा ल्याएको कार्यक्रममा चारवटा कुरालाई ध्यान दिइएको थियो ।
१. ‘हेल्लो हङकङ’ अभियानअन्तर्गत विश्वभरिका प्रायः सबै देशका ५ लाख पर्यटकलाई छानेर निःशुल्क हवाई टिकट उपलब्ध गराएर हङकङ भ्रमण गराउने । त्यसरी आएका पर्यटकलाई हङकङका महत्वपूर्ण पर्यटकीस्थल र संग्रहालय हेराउने, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गराउने, हङकङमा उत्पादन भएका–बनेका विभिन्न सरसामान किनमेल गर्नका लागि नगद भौचरहरू उपलब्ध गराउने ।
२. विभिन्न देशका व्यापारी–व्यवसायीका नेतृत्व तहमा रहेका नेता, राजनीतिक दलका नेता एवं मिडिया क्षेत्रका प्रतिनिधि (पत्रकार)लाई भ्रमण खर्च हङकङ सरकारले बेहोरेर हङकङ भ्रमण गराई हङकङको विकास र सफलताका कथा सुनाउने, हङकङमा केके सम्भावना छन् ? सो सम्बन्धमा विश्वका प्रायः देशका व्यापारी–व्यवसायीका नेतृत्व तहमा रहेका नेता, राजनीतिक दलका नेता र मिडिया क्षेत्रका प्रतिनिधि (पत्रकार)लाई बताउने, सुनाउने र प्रचारप्रसार गराउने उद्देश्य लिइएको ।
३. हङकङ सरकारले आफ्नो देशको सफलताका कथा विश्वका मानिसलाई भन्ने, बताउने अवसरका रूपमा लिने । साथै मुख्य भूमि चीनका साथै विश्वका देशलाई हङकङमा भएका–रहेका दुर्लभ, फरकपन अन्यत्र नभएका वा नपाइने चीजबीच देखाउने अवसरका रूपमा लिने । साथै हङकङ सरकारले कसरी आफ्नो देशको संस्कृति, पर्यटन र व्यापारको विनिमय गरिरहेको छ ? भन्ने देखाउने र अझ खासगरीकन मुख्य भूमि चीन र (‘एक देश दुई व्यवस्था’)को अवधाणाअन्तर्गत चलिरहेको छ ? भन्ने देखाउने एवं बुझाउने अवसरका रूपमा लिने ।
हामी नेपालीले पनि ‘नेपाल भ्रमण वर्ष’ अथवा अन्य खालका पर्यटन प्रवर्धनात्मक कार्यक्रम सुरु गर्दा पहिले नै स्वदेशी तथा विदेशी पर्यटकका लागि के–के कुरामा कस्ता–कस्ता छुट अथवा सहुलियत दिन वा प्याकेज ल्याउन सकिन्छ
४. बढीभन्दा बढी खर्चिला पर्यटक हङकङ भित्याउने । विभिन्न देशको संघ–संस्थाको बैठक, मोटिभेसनल कार्यक्रम, सम्मेलन, प्रदर्शन (मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन) आदि हङङकमा गर्न प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने ।
पछिल्लोपटक विश्वभरिमा चलेको ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन टुरिज्म’लाई छोटकरीमा ‘माइस टुरिज्म’ भन्ने गरिन्छ । यसरी हङकङ सरकारले सन् २०२३ लाई ‘हेल्लो हङकङ’ भन्ने नारा र अभियानसहित नयाँपन दिने उद्देश्यसहितको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरेर मनाएको थियो ।
पर्यटन प्रवर्धनको सन्दर्भमा हाम्रो देशको सरकारले पनि बेलाबेलामा भ्रमण वर्षलगायत अन्य पर्यटन प्रवर्धनात्मक कार्यक्रम र गतिविधि आयोजना गर्ने गर्छ । सो क्रममा यति लाख विदेशी पर्यटक नेपाल भित्याउने भनी संख्या तोकेरै घोषणा पनि गर्ने गर्छ । तर, कहिल्यै धार्नी पुग्दैन । आजभोलिको जमाना भनेको प्रतिस्पर्धाको हो । त्यसमा पनि विश्व पर्यटन जगत्मा त थामिनसक्नुको प्रतिस्पर्धा छ । नेपालमा विदेशी पर्यटक बढाउने सन्र्दभमा कुरो गर्दा नेपालले पनि विगतमा पटकपटक पर्यटनसम्बन्धी विभिन्न घोषणा ग¥यै छ । जस्तो ‘नेपाल भ्रमण वर्ष–१९९८’, ‘अन्तर्राष्ट्रिय पर्वतीय वर्ष–२००२’, ‘नेपाल भ्रमण वर्ष–२०११’, ‘लुम्बिनी भ्रमण वर्ष–२०१२’ र, केही समयअघि घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष–२०२५’ आदि ।
‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउने क्रममा त आयोजकले पत्याउनै नसकिने गरी घोषणा गरेका छन् । त्यो के भने ‘पोखरा भ्रमण वर्ष–२०२५’ मा २५ लाख स्वदेशी तथा विदेशी पर्यटक पोखरा भित्याउने ? के साँच्चै सन् २०२५ मा स्वदेशी तथा विदेशी गरेर २५ लाख पर्यटकले पोखरा भ्रमण गर्ने सम्भावना छ ? ’cause, त्यसरी ‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउने घोषणा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि कुनै छुट वा सहुलियतका प्याकेज पनि ल्याएका छौं त ? त्यस्तो त केही पनि यो पंक्तिकारलाई थाहा भएन ।
त्यसैले जसरी सन् २०२३ मा हङकङ सरकारले ५ लाख विदेशी पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएर ‘हेल्लो हङकङ’ अभियान गरेको थियो । हामी नेपालीले पनि आगामी दिनमा हामीले पनि पर्यटन प्रवर्धन गर्ने उदेश्यले ‘नेपाल भ्रमण वर्ष’ वा नेपाल भ्रमण दशक अथवा अन्य कुनै खालका पर्यटन प्रवर्धनात्मक अभियान गर्दा स्वदेशी तथा विदेशी पर्यटकका के–के कुरा पूर्ण छुट दिन सकिन्छ ? कुन–कुन कुरा आधा छुटमा दिन सकिन्छ ? कुन–कुन कुरा २५–३० प्रतिशत छुट गर्न सकिन्छ ? पहिले नै बहस र छलफल गरेर विदेशी तथा स्वदेशी पर्यटकलाई ‘यो–यो छुट र सहुलियतका प्याकेज दिन सकिनेछ’ भनी घोषणा गर्दा अर्थपूर्ण होला कि ।
हालै घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष–२०२५’ ले त साह्रै लाजमर्दो अवस्था ल्याउने देखिन्छ । २५ लाखको पर्यटक भित्याउने कुरा के साँच्चै वास्तविक धरातलमा आधारित रहेको छ ? पोखरामा हालसम्म वार्षिक साढे ८ लाखदेखि ९ लाख पर्यटक पुग्छन् भन्ने अनौपचारिक रूपमा भनाइ छ । भलै पोखरामा हालसम्म वार्षिक रूपमा कति लाख पर्यटक पुगेका छन् ? भनेर सायदै कसैले आधिकारिक अध्ययन गरेको होला । त्यसमा पनि न त हवाई यातायात नै प्रशस्त छ । त्यसो त हवाई यातायातको कुरो गर्दा लगभग २ वर्षदेखि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । चालू पनि भइसकेको छ । सो विमानस्थल चुस्त र दुरुस्त पनि छ । तर, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अपेक्षित अन्तर्राष्ट्रिय हवाई उडानचाहिँ हुन सकेको छैन । सडक यातायातको अवस्था पनि सधैं दुरूह रहने गरेको छ ।
हामी नेपालीले पनि आगामी दिनमा ‘नेपाल भ्रमण वर्ष’ अथवा अन्य खालका पर्यटन प्रवर्धनात्मक अभियान सुरु गर्दा पहिले नै स्वदेशी तथा विदेशी पर्यटकका लागि के–के कुरामा कस्ता–कस्ता छुट अथवा सहुलियत दिन वा प्याकेज ल्याउन सकिन्छ ? सो सम्बन्धमा नेपाल सरकार र नेपालका पर्यटन उद्योगी–व्यवसायी बसेर पहिले नै छलफल र बहस गरेर स्वदेशी पर्यटकका लागि यो–यो कुरामा छुट अथवा सहुलियत दिन सकिन्छ र विदेशी पर्यटकका लागि यो–यो कुरामा छुट, सहुलियत र प्याकेज ल्याउन सकिन्छ पहिल्यै निक्र्योल गरेर ‘नेपाल भ्रमण वर्ष’, ‘लुम्बिनी भ्रमण वर्ष’, ‘पोखरा भ्रमण वर्ष’, ‘बुटवल भ्रमण वर्ष’, ‘कञ्चनजंघा भ्रमण वर्ष’, ‘डोल्पा भ्रमण वर्ष’, ‘लाङटाङ भ्रमण वर्ष’, ‘सगरमाथा भ्रमण वर्ष’ आदि घोषणा गरौं, मनाऊँ ।






