टुरिन । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटाली पुगेका छन् । उनी सोमबार राति टुरिन पुगेका हुन् । टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार पोर्चुगलको मडेरियाबाट स्पेन हँुदै इटाली पुग्ने तयारीमा रहँदा उनी स्पेनमा रोकिन पुगेका थिए । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण स्पेन लकडाउनमा रहेको र यातायातलगायत हवाई उडानमा समेत प्रतिबन्ध रहेकाले रोनाल्डो म्याड्रिडमै रोकिएका थिए ।

म्याड्रिड विमानस्थलबाट उनले निजी विमानबाट तीनपटकसम्म प्रयास गरे पनि टेकअफ नदिँदा रोकिएका थिए । तर, पोर्चुगल फर्किएपछि मडेरियाबाट सिधै टुरिनको उडानको अनुमति पाएपछि अन्ततः ३५ वर्षे रोनाल्डो आफ्नो ३० मिलियन पाउन्डको १८ सिट क्षमता रहेको निजी विमानबाट परिवारका केही सदस्यसँगै इटाली पुग्न सफल भएका हुन् ।

रोनाल्डो टुरिन पुगे पनि उनीसहित अन्य विदेशी खेलाडीहरू अब दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । उनीहरूमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनले टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ । सम्भवतः उनीहरू १८ मेबाट टोलीको प्रशिक्षणमा सामेल हुनेछन् । युभेन्टसले सोमबारदेखि नै प्रशिक्षण सुरु थालिसकेको छ ।

इटाली सरकारले सिरी ‘ए’ क्लबहरूलाई प्रशिक्षणको अनुमति दिएसँगै युभेन्टसले आफ्नो विदेशी खेलाडीहरूलाई प्रशिक्षणमा फर्कन निर्देशन दिएको थियो । बोलोग्ना, पर्मा र रोमाले भने प्रशिक्षण सुरु गरिसकेका छन् । इटालीमा १८ मेसम्म खेलकुद गतिविधि गर्न प्रतिबन्ध रहेको छ । क्लबहरूले प्रशिक्षण थाले पनि सिरी ‘ए’ सुचारु हुने मिति तोकिएको छैन ।
२६औं चरणको खेल जारी रहँदा सिरी ‘ए’को खेलहरू मार्च पहिलो सातादेखि स्थगित गरिएको थियो । युभेन्टस २६ खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा रहेका छन् । समान खेलबाटै लाजियो ६२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लिस, एसपाल र ब्रेसिया रेलिगेसन जोनमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित