१४० पर्दाबाट चलचित्र वसन्त रिलिज

काठमाडौं । गायक प्रकाश सपुतको महत्वकांक्षी चलचित्र वसन्त शुक्रवारबाट चलचित्र घरमा रिलिज हुँदै छ । चलचित्रको अग्रिम बुकिङ राम्रो गएको यसका निर्देशक एवम् अभिनेता समेत रहेको प्रकाश सपुतले बताएका छन् ।

यो चलचित्र शुक्रवारबाट १४० भन्दा बढी पर्दाबाट रिलिज हुँदै छ । क्युएफएक्स चेनले मात्रै यो चलचित्रलाई देशभर शुक्रवार देशभर आफ्नो चेनमा ७१ वटा सो उपलब्ध गराएको छ ।

अहिलेसम्म चलचित्र घरले दिएको सो हेर्दा उत्साहजनक रहेको प्रकाश सपुतले बताएका छन् । उनको भनाइमा यो चलचित्रले देशभर शुक्रवार करिब ४०० सो पाएको छ ।

चलचित्र वसन्त नेपाल र विदेशमा एक साथ रिलिज हुँदै छ । यो चलचित्रमा प्रकाश सपुतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायतको मुख्य भूमिका रहेको छ । यो साता वसन्तले एक रिलिज हुने अवसर पाएको छ । सोही कारण पनि आफ्नो चलचित्रको व्यापार राम्रो हुने अनुमान निर्देशक एवम् अभिनेता प्रकाश सपुतले गरेका छन् ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । जीवनमा आफ्नो भोगाइहरूलाई कथानक रूप दिएर यो चलचित्र बनाएको सपुतले बताएका छन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सामाजिक कथावस्तुमा आधारित यो चलचित्रको कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् । यो चलचित्रलाई काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ ।

यो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्रको छायांकन सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा गरिएको हो । वसन्तमा सुसन प्रजापतिको छायांकन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध