कोरोना भाइरस (कोभिड–१९)को महामारीको त्रासका कारण गएको मार्च दोस्रो सातादेखि विश्व खेलकुद गतिविधि ठप्प रहँदा युरोपका चर्चित घरेलु फुटबल लिगहरू यसबाट अछुतो छैनन् । कोरोनाको त्रास केही भएपछि जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ इंग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगा क्लबहरू प्रशिक्षणमा फर्किएका छन् । तर, रोकिएका लिगहरू पुनः सुचारु हुनेमा अझै शंका छ । ला लिगाले क्लबहरूलाई प्रशिक्षणमा फर्कन अनुमति दिए पनि लिग सुरु हुने मिति तोक्न सकेका छैनन् ।
कोरोनाकै कारण फ्रेन्च लिग स्थागित हुँदा आयोजकले शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई च्याम्पियन घोषणा गरिसकेका छन् । यसपटक प्रिमियर लिग र फ्रेन्च लिग वानबाहेकको अन्य लिगमा उपाधिका लागि निकै प्रतिस्पर्धा छ । जर्मन बुन्डेस लिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमन्डबीच ४ अंकको मात्रै अन्तर छ । बायर्नको ५५ तथा डर्टमन्डको ५१ अंक छ । बुन्डस लिगा पुनः सुचारु हुनेमा अझै शंका छ । सिरी ‘ए’मा युभेन्टस (६३) र लाजियो (६२) बीच १ अंकको अन्तर रहँदा ला लिगामा बार्सिलोना र रियल म्याड्रिडबीच मात्रै दुई अंकको अन्तर छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । सबै लिगमा ९ देखि १० चरणको खेल खेल्न बाँकी छ ।
ला लिगा पनि सुरु हुनेमा शंका कायमै रहँदा लिग पूरा नभएको अवस्थामा लिग लिडरको हैसियतमा क्याटलान बार्सिलोनालाई उपाधि दिने या नदिने भन्ने विषयमा टीकाटिप्पणी भइरहेका छन् । ला लिगा आयोजक सिजन पूरा हुनेमा विश्वस्त रहँदा यस’bout केही बोलेका छैनन् । यसैक्रममा रियल मड्रिडका बेल्जियन गोलरक्षक थिवाउट कोर्टुवाले लिग लिडरको हैसियतमा बार्सिलोनालाई उपाधि सुम्पिए यो निकै गलत हुने बताएका छन् । ‘लिगमा ११ चरणको खेल बाँकी छ । हामी २ अंकले मात्रै पछि छौं । यो सिजन हामीले राम्रो गरिरहेका छौं । अवधि लम्ब्याएर भएपछि सिजन पूरा गर्नुपर्दछ,’ कोर्टुवाले भने, ‘सिजन पूरा भएन र बार्सिलोनालाई च्याम्पियन घोषणा गरिए अन्यायपूर्ण हुनेछ । बार्सिलोनाको एक बराबरीले पनि हामी शीर्षस्थानमा रहन सक्छौं । हामी बार्सिलोनालाई पछि पारेर च्याम्पियन बन्न सक्छौं ।’ यस्तै कोर्टुवाले प्रिमियर लिगमा लिभरपुललाई उपाधि दिदा केही फरक नपर्ने बताएका छन् ।






