सुम्निमा पारुहाङको प्रतिमा अज्ञात समूहद्वारा तोडफोड

तोडफोड कारण भाँचिएको सुम्निमा पारुहाङको प्रतिमा ।

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित सुम्निमा पारुहाङ पार्कमा निर्माण गरिएको सुम्निमा पारुहाङको प्रतिमा तोडफोड भएको छ । गएराती पार्कमा रहेको सुम्निमा पारुहाङको पूर्णकदको प्रतिमा तोडफोड भएको हो ।

अज्ञात समूहले तोडफोड गर्दा सुम्निमा पारुहाङको प्रतिमा भाँचिएर क्षतविक्षत भएको छ भने सुम्निमा पारुहाङको बिचमा रहेको (वाबु)चिण्डोमा पनि क्षति पुगेको छ । छितापोखरीको मैस्याङ डाँडामा दुई वर्षअघि कोशी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा ४० लाख लागतमा सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिएको थियो ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पारुहाङ पार्कमा निर्माण गरिएको प्रतिमा तोडफोड गर्ने कार्य निन्दनीय र निकृष्ट भएको भन्दै गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ । गाउँपालिकाको मुख्य पर्यटकीयस्थलमध्यको रणनीतिक महत्वको क्षेत्रमा रहेको पार्कमा निर्मित प्रतिमा तोडफोड भएको घटना निन्दनीय र निकृष्ट भएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष राईले अक्षम्य आपराधिक घटनामा संलग्न जो कोही व्यक्ति वा समूहलाई तत्काल पक्राउ गरि कडा कानुनी कारवाहीको माग गरेका छन् ।

दोषीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित प्रहरी प्रमुखलाई जानकारी दिईएको पालिका अध्यक्ष राईले बताए । तोडफोडका कारण ८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । किराँत समुदायको आस्थाको प्रतिमा तोडफोड गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’