इलाम । कोसी प्रदेशस्तरीय खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि भोजपुर र इलामले जितेको छ । १५ वर्ष मुनिको मेन्स सिङ्गलको सम्पन्न फाइनलमा मोरङका प्रतीक विष्टले पुनरागमन जित हात पार्दै उपाधिमाथि कब्जा जमाए । प्रतिकले भोजपुरका सन्दीप राईलाई २–१ को सेटमा हराउँदै उपाधि हात पारेका हुन ।
पहिलो सेटमा १७–२१ गुमाएका उनले दोस्रो र तेस्रो सेटमा क्रमशः २१–१७ र २२–२० ले जित निकाल्दै उपाधिमाथि कब्जा जमाए । विजेता बनेका विष्टले नगद १५ हजार र उपविजेता राईले ८ हजार पुरस्कार पाए । यस्तै मेन्स सिङ्गलको फाइनलमा इलामका दिवस शङ्करले उपाधि चुमेका छन् ।
शङ्करले एपिएफका भोजबहादुर गुरुङलाई २१–१८, १६–२१ र २३–२१ को सेटमा जित्दै उपाधिमाथि कब्जा जमाएका हुन् । पहिलो सेट २१–१८ ले जितेका शङ्करले दोस्रो सेट गुरुङसङ १६–२१ ले गुमाएका थिए । तर अन्तिम सेटमा भने शङ्करले गुरुङलाई २३–२१ को सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएका हुन् । विजेता बनेका शङ्करले नगद ३० हजार प्राप्त गरे भने उपविजेता गुरुङले २० हजार प्राप्त गरे ।

यसै गरी ५५ प्लस सुपर भेट्रान्स डबलतर्फ भएको फाइनलमा इलामका सञ्जय भक्तराज र उत्तम सिम्खडाको जोडी विजयी बन्दै उपाधि चुमेको छ । इलामको जोडिले बैतडीका गणेश चन्द र पूर्णचन्द्र जोशीको जोडिलाई सोझो सेटमा हराएर उपाधि चुमेको हो । भक्तराज र सिंंखडाको जोडिले २१–१६ र २१–१४ को सेटमा हराएर उपाधिमाथि कब्जा जमाएको हो । उपाधि चुमेको इलामको जोडिले ३५ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको बैतडीका चन्द र जोशीको जोडिले नगद २० हजार प्राप्त गरे । यस्तै ४५ प्लस भेट्रान डबलतर्फको उपाधि पाँचथरले जितेको छ ।
पाँचथरका तर्फबाट सञ्जय कपाली अनिल थाम्सुहाङको जोडिले उदयपुरको जोडिलाई २१–१६ र २१–५ को सोझो सेटमा हराएर उपाधि चुमेको हो । उपाधि चुमेको पाँचथरको जोडिले ४० हजार र उपविजेता उदयपुरको जोडिले २० हजार प्राप्त गरेको छ । यस्तै मिक्स डबल तर्फ मोरङले उपाधि चुमेको छ । मोरङका भोजबहादुर गुरुङ र रोजी राईको जोडिले झापाका प्रनेश ठकुरी र सम्झना गिरीको जोडिलाई २१–१८, २१–१८ को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो । विजयी गुरुङ र राईको जोडिले ४० हजार र उपविजेता बनेको ठकुरी र गिरीको जोडिले नगद २० हजार प्राप्त गरेको छ ।
यसै गरी मेन्स डबल तर्फको फाइनल खेलमा भोजपुरले उपधीमाथि कब्जा जमाएको छ । भोजपुरको तर्फबाट विशाल तामाङ र निश्चल खत्रीको जोडिले पुनरागमन गर्दै शानदार जित हात पारे । यो जोडिले सङ्खुवासभाका सुनिल कार्की र पविन लिङतेपको जोडिलाई १९–२१, २१–१६ र २१–१२ को सेटमा हराएर उपाधिमाथि कब्जा जमाएको हो । पहिलो सेट १९–२१ ले गुमाए पनि दोस्रो र तेस्रो सेट लगातार जित्दै भोजपुरको जोडिले उपाधि चुमेको हो ।
विजेता भोजपुरको विशाल तामाङ र निश्चल खत्रीको जोडिले नगद ५१ हजार प्राप्त गरेको छ भने उपविजेता सुनिल कार्की र पविन लिङतेपको जोडिले ३० हजार प्राप्त गरेको छ । जिल्ला ब्याडमिन्टन सङ्घ इलामको आयोजनामा भएको प्रतियोगितामा विधामा खेलहरू भएका थिए ।