२०८२ ले वैचारिक प्रदूषण पखालोस्

राजनेता त्यो हो जसले, विधिको शासनमा देशका संयन्त्र सञ्चालन गर्छ । राजनेतामा विकासको मार्गचित्र हुन्छ । उसका लागि नाता, दाता, कृपावाद, दलवाद आदिभन्दा देश र जनता माथि हुन्छन् । राजनेतामा दूरदृष्टि, समसामयिक चेतना, अन्तर्राष्ट्रिय क्षेत्रको ज्ञान, ऋषिमनलगायतका कूटनीति, रणनीति, कार्ययोजना तथा प्रतिबद्धतालगायतका गुण आवश्यक हुन्छ । हाम्रो देशको सन्दर्भमा उल्लिखित राजकीय गुणले प्रशिक्षित नेतृत्वको अभाव महसुस भइरहेको छ । राजनीतिक नेतृत्वमा देश बनाउने दृष्टिकोणको अभाव छ ।

जानकारहरू भन्छन्, यो मुलुकमा देश दुनियाँ हँसाउने राजनीतिक दल र नेता छन् । यति धेरै राजनीतिक सिद्धान्तका खोल ओढेका दलहरू विश्वजगत्मा सायदै होलान् । नेपाल राजनीतिक सिद्धान्त र वादको असफल प्रयोगशाला भएको मुलुक हो । बीपीवाद अथवा बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको खोल ओढेको नेपाली कांग्रेसमा अहिले राजनीतिक रूपमा वैचारिक विचलन आयो । फलतः कांग्रेस–कम्युनिस्टको बैसाखी टेक्न पुग्यो । आज कांग्रेसमा गुट, उपगुट तथा आन्तरिक विवाद व्याप्त छ । केन्द्रीय नेताहरू दलगत आलोचनामा उत्रिएका छन् । कांग्रेसमा स्वार्थवाद हावी छ । अझै ब्राकेटभित्र भन्नुपर्दा सत्ता मोहले शेरबहादुर देउवाले त पार्टी चलायमान बनाउन सके न त दलका सक्षम नेतालाई पार्टी र सरकार चलाउने अवसर छ । एउटा प्रजातान्त्रिक राजनीतिक दलमा योभन्दा प्रदूषित विचार र अभ्यास के हुन सक्छ ? अहिले कांग्रेस भत्केको घरको बिग्रिएको चाला भनेझैं भएको छ । देशले आशा गरेको राजनीतिक दलको यो वैचारिक विचलनले कांग्रेसप्रति आस्थावान् सबैलाई पीडा दिएको छ । अब २०८२ सालको सुरुआतसँगै कांग्रेसजनको मति सप्रियोस् । बीपीवादलाई अनुकरण र अनुसरण गरियोस् ।

अहिले नेपाली समाज हरेक दलमा झाँगिएको राजनीतिक विचलन र विसंगतिको पराकाष्ठा देखेर हैरान भएका छन् । प्रजातन्त्रको पुनःस्थापनापछिका ३ दशकमा राजनीतिक दलले सत्ताका लागि राजनीतिक सिद्धान्त, निष्ठा तथा अनुशासन त्यागेको देखिन्छ । सत्ताकै लागि दल टुट्ने, फुट्ने र नेतृत्वप्रति खरो आलोचना गर्ने कार्यलाई नै राजनीतिक कर्म सम्झेजस्तो देखिन्छ । यस अर्थमा दलहरूमा राजनीतिक विचलन आएको प्रमाणित हुन्छ ।

एमालेलाई एकीकृत माक्र्सवाद र लेलिनवादी दल भन्ने गरिन्छ । यो राजनीतिक दर्शन एमालेको आवरण मात्र हो । मुख्य राजनीतिक अभ्यास भनेको दलभित्र भएका नेताबीचमा लडाइँ गर्ने, पद र पैसाका लागि दल फुटाउने, सत्तामा जाने र उपद्रो गर्नेबाहेक देश र जनताका लागि गरेको काम के हो भनेर सोध्ने हो भने एमालेजन नै नाजवाफ हुन्छन् । यिनीहरू सर्वहारा जनताका नेता हुन् कि पुँँजीवादी ? यो दलभित्र केपीवाद मौलाएको देखिन्छ । पार्टी अध्यक्षको आलोचना गर्ने भीम रावल हुन्छन् भन्ने गरिन्छ । एमाले कहिले माओवादी, कहिले राजावादी त कहिले कांग्रेसको बैसाखी टेकेरे सत्तामा पुगेको छ । यो दललाई लामो समयसम्म नेतृत्व दिएका माधवकुमार नेपालले दल टुक्य्राएर नयाँँ दल खोलेका छन् । यो दलको राजनीतिक सिद्धान्त के हो भन्नेलाई केपी ओलीको अहंताको प्रतिफल हो भन्ने गरेको सुनिन्छ । राजनीतिमा यो भन्दा सैद्धान्तिक विचलन के हुन सक्छ ?

शासकमा देशका संयन्त्रलाई सञ्चालन गर्ने प्रशासनिक नेतृत्व क्षमता चाहिन्छ । देशका सरोकारका विषयमा ठीक र बेठीकको आधारमा निर्णय लिन सक्ने विवेक चाहिन्छ

२०५२ सालमा देश र जनताको अवस्था बदल्छौं भनेर प्रचण्डले केही साथीको साथ लिएर जंगल पसे । प्रचण्डको नेतृत्वमा भूमिगत भएको यो दलले आपूmलाई माओवादी भन्यो । वास्तवमा नेपाली समाजले माओलाई सुनेको र चिनेको थिएन । नेपाली समाजमा रहेको पिछडापन, गरिबी, अभाव र सामाजिक असमानको आवाज उठाएर माओवादीले दस वर्ष आतंक, मच्यायो । यो जनविद्रोहमा नरसंहार र भौतिक क्षति व्याप्त भयो । दस वर्षको विद्रोहपछाडि सत्ता राजनीतिमा आएको माओवादीलाई एकपटक नेपाली जनताले मतदान गरेर देशको सबैभन्दा ठूलो दल पनि बनाए । सत्ताको चास्नीमा डुबेपछि यो दलका सिनियर नेतामा यसरी विचलन आयो कि बाबुराम एकातिर, वैद्य अर्कोतिर, नेत्रविक्रम चन्दको अर्को दल, टोपबहादुर–बादलहरू एमालेमा, प्रचण्ड सत्ताको खेलमा अन्धधुन्द लागे । प्रचण्ड तीन दशकभन्दा अगाडिदेखि नेतृत्वमा छन् । यो दलमा कुनै पनि राजनीतिक, सिद्धान्त, कार्ययोजना केही देखिँदैन । धम्कीको भाषा र सत्ताको आशामा यो दलका नेतागण काठमाडौंमा सुविधासम्पन्न जीवन बिताइरहेका छन् ।

यो मुलुकमा राजनीतिका अनेक प्रयोग भए । प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, माओवाद, माक्र्सवाद, लेलिनवाद हँुदै पछिल्लो चरणमा देखापरेको राजनीतिक सिद्धान्तविहीन राष्ट्रिय स्वतन्त्र पार्टी । राप्रपामा यस दलमा सम्बद्ध दलहरूले राजनीतिक दृष्टिकोणमा केही स्पष्ट दृष्टिकोण राखेको पाइन्छ । तथापि यो दलसँग संवैधानिक राजतन्त्र जोडिएकाले भोटको राजनीतिमा यो दल पछाडि परेको देखिन्छ । विगत तीन दशकमा अनेक राजनीतिक वादको प्रयोगशाला बनाउने प्रयत्न भए तापनि देश र जनताको हितमा दलले काम नगरेकाले समाजमा राजनीति घृणावादउन्मुख भएको देखिन्छ । तीन दशकमा नेताले गराएका अनेक प्रकरणले आज मुलुक लथालिंग छ । राजनीतिक दलको दुष्कर्मका कारण देशमा युवा छैनन् । गाउँघरका जग्गाजमिन बाँझा छन् । भ्रष्टाचार व्याप्त छ । महँगी, कालोबजारी, कुशासन र मनपरीतन्त्रले समाज आक्रान्त छ ।

अहिलेसम्म नेतृत्वमा पुगेका नेतामध्ये एउटा नेतासम्म सक्षम भएको भए देशले विकासको गति लिने थियो । नेपाली समाजले विधिको शासनको अनुभूति गर्न सक्ने थियो । सिंगापुरका विकासवादी नेता ली क्वान यूले आप्mनो देशलाई एक दशकमा विकास गरे । देशले सक्षम नेता पाएको खण्डमा कायापलट हुँदो रहेछ भन्ने दृष्टान्त दिन सके । ली क्वान यूले विधिको शासनमा देशलाई नेतृत्व दिनका लागि बाधाको रुपमा रहेका भ्रष्टाचार र अनियमिततामा संलग्न आप्mनै राजनीतिकर्मी मित्रलाई जेलमा हाले । देश र जनताको हितमा काम गरे ।

हाम्रा नेताले नयाँँ नेपाल बनाउने नाममा अध्ययन र दूरदृष्टिकोणबिनै हचुवाको भरमा देशलाई सात प्रदेशमा विभाजन गरे । ७५ जिल्लालाई बढाएर ७७ पु¥याए । अनावश्यक प्रदेश सरकारको निर्माण गरी देशलाई आर्थिक भार थप्ने काम गरे । यति सानो देशमा ८ सय ८६ सांसद बनाउने नीतिगत व्यवस्था गरे । सयौंको संख्यामा मन्त्री, सातवटा मुख्यमन्त्रीलगायत अनावश्यक राजनीतिक नियुक्ति बढाएर देशको अर्थतन्त्र ध्वस्त बनाउने काम गरियो । नेतृत्वमा पुगेका नेताहरू देश विकासको गहन जिम्मेवारीलाई बेवास्ता गरी काशी जाने कुतीको बाटो भनेझंै राजनीतिक खिचातानी र सत्ता लडाइँमा समय बिताए ।

अहिले एमालेका नेता केपी ओली प्रधानमन्त्री छन् । प्रधानमन्त्रीले सार्वजनिक भाषणमा राज्य ठीक ढङ्गले अगाडि बढिरहेको कुरा गर्छन् । समृद्घ नेपाल सुखी नेपालीको थेगो उनको ओठमा झुन्डिएको छ । तर, जनताले महसुस गर्न सक्ने कार्य हुन सकेका छैनन् । विकास निर्माण र सुशासन शब्दमा मात्र सीमित छ । नागरिकले नेताका भाषण र विकास योजना धेरै सुनिसकेका छन् । अब उनीहरू परिणाममुखी काम चाहन्छन् ।

हाम्रो देशका शीर्षतहमा पुग्ने नेतागणले नेपाली जनताको गरिबी, अभाव र विभेदका समस्यालाई चुनावी दस्तावेज बनाउँछन् । राजनीतिक भाषण र भनाइमा पनि समाजका समस्याको उठान हुने गर्छ । यसरी हेर्दा राज्यले देशको समस्या नबुझेजस्तो लाग्दैन । परन्तु, मुलुक सधैं कुहिरोको कागजस्तै अलमलिरहेको अवस्थामा छ ।

देशको वागडोर समालेको व्यक्तिमा शासकीय क्षमता र देश विकासको मार्गचित्र स्पष्ट भएको देखिँदैन । शासकमा देशका संयन्त्रलाई सञ्चालन गर्ने प्रशासनिक नेतृत्व क्षमता चाहिन्छ । देशका सरोकारका विषयमा ठीक र बेठीकको आधारमा निर्णय लिन सक्ने विवेक चाहिन्छ । देशका नीतिनियम फेरबदल गर्न, योजनाहरू बनाउन, निर्णय गर्न–गराउन, अपराधीलाई दण्ड दिन, भ्रष्टलाई कारबाही गर्न प्रधानमन्त्री सफल हुनुभएको छ । प्रधानमन्त्री नै कार्यकारी प्रमुख हुने अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले देशका अन्य संयन्त्रसँग सहकार्य गरी समस्याको समाधान गर्न काविल हुनुपर्छ । २०८२ ले दलहरूको सैद्धान्तिक विचलनको अन्त्य र सफल राज्यको जनअपेक्षा पूरा हुन सकोस् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी