कोरोना महामारी, पर्यटन र सौराहाको सर्तकता

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

विश्वमा बेलाबेलामा आउने विभिन्न प्रकारका प्राकृतिक विपत्ति तथा महामारीले मानवजातिलाई आक्रान्त पार्दै आइरहेको छ । यस प्रकारका विपत्ति र महामारीको प्रकोपले लाखौंको जीउधनको क्षतिबाहेक विश्वको पर्यटन र अर्थतन्त्रलाई समेत नराम्ररी प्रभावित पार्दै आएको छ । केही मानवीय हेल्चेक्र्याइँले त केही प्रकृति आफंैले विकराल अवस्था ल्याउने गर्दछ । मूलतः प्राकृतिक प्रकोप तथा महामारीलाई प्राकृतिक विपत्ति पनि भन्ने गरिन्छ । विपद् देश, काल र परिवेशअनुसार फरकफरक हुने गर्दछ ।

विश्वमा पहिलोपटक महामारीको रूपमा एन्टोनाइन प्लेग देखाप-यो । जसले ५० लाखको ज्यान लियो । त्यसपछि क्रमशः १६ वटा रोग देखापरे जसमा उच्च मृत्यु हुनेमा ब्ल्याक डेथ, बिफर, स्मलपक्स, स्पेनिस फ्लु, प्लेगअफ जस्टिनियन, तेस्रो प्लेग गरी करोडको संख्यामा क्रमशः २०, ५, ४, ३, र १ गरी जम्मा ३३ करोडको ज्यान लियो । जापानमा सुनामी र ज्वालामुखी विपद्को कारण हो भने श्रीलंकामा सर्प टोकाइ मुख्य छ । यसका साथै प्रकोपको जोखिममा बंगलादेश, भारत र पाकिस्तान एसियामा शीर्ष स्थानमा रहेका छन् । त्यसैगरी, नेपालमा पहिरो, हिमताल विस्फोटन, डढेलो, आगलागी, भूकम्प, बाढी, टोरनाडो साथसाथै विश्वमै विकराल उत्पन्न गराएको कोभिड–१९ विपत्तिको कारण हुन सक्छ । नेपाल भूकम्पीय दृष्टिले ११औं, जलवायु दृष्टिले चौथो, बाढीका दृष्टिले ३०औं, बहुप्रकोपीय जोखिममा २०औं स्थानमा छ । विगतमा नेपालमा २०५५ सालको भूकम्प, त्यस्तै २०५०, २०५९, २०६४ र २०६५ सालकोे लगातार बाढी तथा २०७२ को विनाशकारी भूकम्पले हजारौंको जीउधनसँगै पर्यटनमा समेत १८ अर्ब बराबरको क्षति बेहोर्नुप-यो र २०७५ सालमा बारामा आएको विनासकारी टोरनाडोजस्ता प्राकृतिक विपत्तिले २ सय जनालाई घरबारविहीनसमेत बनायो ।

देशको कुल ग्रार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको पर्यटनमा कोरोना महामारीले इतिहासमै डरलाग्दो अवस्था सिर्जना गरिदिएको छ

हाल देखापरेको कोभिड–१९ को भयावह स्थिति हेर्दा यसको समयावधि कहिले र कतिसम्म हुने र त्यसको असर कतिसम्म पर्छ भन्ने अन्योल रहेको र विगतमा एचवान एनवान एवं सार्सभन्दा पनि हजारौं गुणा खतरनाक भाइरसले लाखौंको ज्यान गइसकेको र अझै थुप्रैको ज्यान जान सक्ने विशेषज्ञले जनाएका छन् । हालको कोभिड–१९ ले समेत मानवीय संसारलाई भयभित गराइरहेको छ । यसरी प्राकृतिक विपत्तिले प्रत्यक्ष रूपमा नै मानव जीवन तथा भौतिक संरचनासमेतलाई ठूलो क्षति पु-याई देशको पर्यटनसँगै अर्थतन्त्रलाई पनि प्रभावित गर्दै आएको छ ।

नेपाल सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी २० लाख पर्यटन भित्र्याउने उद्देश्यले राष्ट्रिय नाराकै रूपमा व्यापक लागिपरेको थियो, जसको फलस्वरूप पर्यटनको आगमन पनि व्यापक रूपमा बढ्दै थियो । तर, हाल चीनको वुहानमा देखापरेको कोभिड–१९ भाइरसका कारण संसारभरि हजारौंभन्दा बढीको संक्रमण बढ्दै गर्दा नेपालमा पनि देखापर्न थालेपछि सरकारले गत चैत १० गतेदेखि ठूलो संख्यामा सभासम्मेलन नगर्ने र आन्तरिक र बाह्य आवतजावत पनि बन्द ग¥यो । देशको कुल ग्रार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने पक्ष एक पर्यटन पनि हो । यसले पर्यटनको लागि इतिहासकै डरलाग्दो अवस्था सिर्जना गरिदिएको छ । यस्तो अवस्थामा देशको तेस्रोे ठूलो पर्यटकीय नगरी सौराहाका रिसोर्ट व्यवसायीसमेत मन्दीको मारमा परेका छन् ।

विगतका दिनदेखि नै सौराहाका होटेल व्यवसायीले प्राकृतिक प्रकोप र महामारीविरुद्ध अपनाएको पूर्वतयारीका मापदण्ड धेरै हदसम्म कोभिड–१९ लाई समेत सम्बोधन गरेको कुरा तीन चरणमा (सन २०१८देखि २०१९सम्म) गरेको शोधपत्रको अध्ययनले देखाएको छ । सौराहा चितवन रत्ननगर नगरपालिकाको बछ्यौली गाउँको राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जनजिकै अवस्थित छ । यहाँ विगत १९९२–१९९३ मा करिब ५५ हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा घुम्न र २३ हजार पर्यटक निकुञ्जनजिकैका होटेलमा बस्न आएका थिए । यहाँ सिंगापुर, हङकङ, ताइवान, भारतबाट ठूलो संख्यामा पर्यटक आउने गर्थे । विगतदेखि हालसम्म होटल व्यवसायीले आफ्नो क्षेत्रको सुरक्षाका निम्ति चाहिने अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सुरक्षाका उपकरण प्रयोगमा ल्याएको कुरा एक अध्ययनले देखाएको थियो ।

पर्यटकीय क्षेत्रमा आइपर्ने विविध प्राकृतिक प्रकोप तथा महामारीका जोखिम न्यूनीकरणका निम्ति सौराहका होटल तथा रिसोर्ट व्यवसायीले अर्बांै लगानी गरिसकेका छन्

जोखिम न्यूनीकरणमा व्यवसायीका सर्तकता : आगलागीसम्बन्धी सतर्कताका लागि भान्सा घर सुत्ने कोठाभन्दा टाढा, मद्यपानका लागि छुट्टै क्षेत्रको व्यवस्था, हाई भोल्टेजबाट बच्न अटोमेटिक स्विचको व्यवस्था आदि गरिएको छ । बाढीसम्बन्धी सतर्कताका लागि पानीको वहाव न्यून पार्न नदीको तट एवं रिसोर्ट वरिपरि प्रशस्त बोटबिरुवा रोपिएको, पानीको जोखिममा अड्किएका मान्छेलाई हात्तीबाट उद्धार गरिने, भूकम्प प्रतिरोधी भवन एवं खुला चौर राखिएको र जोखिम न्यूनीकरण गर्र्ने प्रविधिको प्रयोग व्यवस्था गरिएको छ । त्यसैगरी, शारीरिक सुरक्षासम्बन्धी अनुमतिबिना प्रवेश निषेध, प्रत्येक व्यक्तिको सुरु परिचय लिने, हातहतियार भए नभएको इलेक्ट्रोनिक प्रद्धतिबाट चेकजाँच गर्ने, चौबीसै घण्टा एम्बुलेन्सको व्यवस्था, आकस्मिक उपचारको निम्ति स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, चौबीसै घण्टा सीसी क्यामेराको साथसाथै सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

खाना सुरक्षासम्बन्धी खाना बनाउँदा छुट्टै एप्रोनको व्यवस्था, हातमा पन्जा तथा टाउकोमा पूर्ण टोपीको व्यवस्था, विभिन्न ठाउँमा साबुनपानी तथा स्यानिटाइजरको व्यवस्था, अस्वस्थ कर्मचारीलाई छुट्टीको व्यवस्था, तत्काल प्याकिङ भएका खाद्यान्नमा जोड र विषादीरहित हरियो सागपातमा जोड दिइएको छ । यसका साथै वातावरणीय सुरक्षासम्बन्धमा रिसोर्ट वरिपरि प्रशस्त बोटबिरुवाको वृक्षरोपण, प्रकोपका बेला पर्यटकलाई सुरक्षित गन्तव्यमा पु¥याउन हात्तीको व्यवस्था, पातलो बस्ती तथा प्रशस्त खाली चौरको व्यवस्था, भैपरी आउन सक्ने जोखिमको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय स्तरका छुट्टाछुट्टै प्रविधिको प्रयोगको व्यवस्था गरिएको छ ।

चोरीबाट रोक्नका लागि होटल तथा रिसोर्टमा बस्ने पाहुनालाई छुट्टै लकरको सुविधा, दुई सिफ्टमा सुरक्षाकर्मीको निगरानी, सम्बन्धित पर्यटकको उपस्थितिमा मात्रै कोठाको सरसफाइ गरिने, नयाँ आगन्तुकलाई अनुमतिबिना प्रवेश निषेध आदि गरिएको छ । त्यसैगरी अपराध सम्बन्धमा नगरपालिकाको रोहवरमा सुरक्षा निकायद्वारा होटल तथा रिसोर्टको निगरानी, रिसोर्ट तथा होटलका पहरेदारद्वारा निगरानी, २४ घण्टा सीसी क्यामेराको निगरानी तथा आतंकवाद सम्बन्धमा तीन चरणमा छड्के जाँच गरिने (आगन्तुकको परिचय बुझ्ने, सुरक्षाकर्मीलाई सुसूचित गराउने, हातहतियार तथा लागू औषधजस्ता कानुनद्वारा प्रतिबन्धित कुरालाई पूर्ण चेकजाँच गरिने) व्यवस्था गरिएको छ ।

महामारी सम्बन्धमा विभिन्न ठाउँमा साबुनपानी तथा स्यानिटाइजरको व्यवस्था, आकस्मिक उपचारको निम्ति तत्कालै स्वास्थ्यकर्मीको व्यवस्था, निश्चित दूरी कायम गरी छुट्टाछुट्टै कोठा तथा बेडबिस्ताराको व्यवस्था, आवश्यक व्यक्तिको पहिचान गरी उचित यातायातको साधनद्वारा गन्तव्यमा पु-याइने व्यवस्था, विविध सचेतनामूलक सूचनाको व्यवस्था, महामारी रोकथामका निम्ति छुट्टै कोषको व्यवस्था आदि गरिएको छ ।

यसरी, प्राकृतिक प्रकोप तथा महामारीका कारण पर्यटन क्षेत्रको द्रुतगतिको विकासलाई बीचैमा रोकी अर्बांैको धनसम्पत्ति तथा अमूल्य जीउधनको क्षति बेहोर्दै आएका बाबजुद पनि राष्ट्रको अर्थव्यवस्थामा अग्रणी भूमिकानिर्वाह गर्ने पर्यटकीय क्षेत्रमा आईपर्ने विविध प्राकृतिक प्रकोप तथा महामारीका जोखिम न्यूनीकरणका निम्ति सौराहाका होटल तथा रिसोर्ट व्यवसायीहरूले अर्बा लगानी गरी अवलम्बन गरेका अधिकांश सुरक्षाका उपायले पर्यटकीय क्षेत्रसँग सम्बन्धित पाहुना तथा कर्मचारीको जीउधन र होटल तथा रिसोर्टका भौतिक संरचनाको यथासम्भव पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको पाइन्छ । जसका कारण भावी दिनमा समेत सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा सौराहाको पर्यटन क्षेत्रलाई लिन सकिन्छ ।
(लेखक द्वन्द्व, शान्ति र विकास अध्ययन, त्रिविका स्नातकोत्तर तहका विद्यार्थी हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा