काठमाडौं । सुन्दर भविष्यको सपना बुनेर इराक पुगेकी सिन्धुपाल्चोक घर भएकी सुमिना तामाङको शव नेपाल आइपुगेको छ । इराकको कुर्दिस्तान राज्यको दुहोक सहरमा १२ मार्च २०२५ मा उपचारकै क्रममा मृत्यु भएकी तामाङको शव एनआरएनए–एनसीसी इराकको पहल, नेपाली दूतावास कुवेत तथा प्रवासी मञ्चको समन्वयमा नेपाल पठाइएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी टर्किस एयरलाइन्सको विमानमार्फत शनिबार शव नेपाल पठाउन सफल भएको बताए ।
२ वर्षअघि रोजगारीका लागि इराक पुगेकी तामाङ घरमा काम गर्दागर्दै ढलेकी थिइन् । उनी बिरामी भएर थलिएपछि नेपाल पठाउन धेरैपटक प्रयास गरेको र दुईपटक विमानस्थल पु¥याउँदा पनि एयरलाइन्सले स्वीकृत नै नगरेपछि हवाई टिकट रद्द भएको थियो ।
परिवार र दूतावाससँग घर पठाउनका लागि सहजीकरण गर्दैगर्दा उनको मृत्यु भएको थियो । ज्युँदो हुँदा घर फर्कन नपाएकी सुमिनालाई बाकसमा फर्किन पनि दुई महिना कुर्नुप¥यो ।
उनको मृत्युपछि परिवारमा बज्रपात परेको छ । सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलाललाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।
दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करलाई भने फाइदा नै हुने गरेको छ । गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन ।
त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव विदेशमै अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।