दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?

सुर्खेत । पटक पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः तोकिएपछि कर्णाली प्रदेश सरकार तयारीमा जुटेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गत २८ साउनमा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले आगामी १६ मंसिरदेखि २९ मंसिरसम्म कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । यो पाँचौँपटक तोकिएको मिति हो ।

संघीय सरकारबाट प्रतियोगिता स्थगित नहुने प्रतिबद्धता पाएपछि कर्णाली प्रदेश सरकारले पनि पूर्वाधार व्यवस्थापन र खेलाडी छनौटलगायतका कामलाई अघि बढाएको छ । प्रदेश सरकारले प्रतियोगितालाई लक्षित गरी चालू आर्थिक वर्षमा पूर्वाधार विकास, प्रतियोगिता आयोजना, बन्द प्रशिक्षण तथा प्रदेश रंगशाला सञ्चालनलगायतका शीर्षकमा बजेटसमेत विनियोजन गरिसकेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष एवं सामाजिक विकासमन्त्री जितबहादुर मल्लले प्रतियोगिता आयोजना गर्ने मुख्य जिम्मेवारी संघीय सरकारको भएपनि व्यवस्थापनको ठूलो हिस्सा प्रदेशले सम्हाल्नुपर्ने भएकाले संघ र प्रदेशबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । ‘आयोजक संघीय सरकार भएपनि व्यवस्थापकीय पाटो प्रदेशले सम्हाल्नुपर्ने भएकाले प्रदेशलाई जिम्मेवारी दिन आग्रह गरेका छौँ,’ उनले भने, ‘संघ र प्रदेशबीचको सहकार्यबाट यस प्रतियोगितालाई नमुना र उदाहरणीय बनाउन सकिन्छ, त्यसका लागि संघीय सरकारले आवश्यक जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ भन्नेमा हाम्रो अडान रहन्छ ।’

मन्त्री मल्लका अनुसार प्रतियोगिताका लागि होटल व्यवसायी, होमस्टे सञ्चालक तथा अन्य सरोकारवालासँग छलफल सुरु गरिएको छ । राखेपले गठन गर्ने विषयगत उपसमितिमा प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्न पनि कर्णाली प्रदेशले राखेपसँग परामर्श गरिरहेको छ । दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीमा सञ्चालन हुने खेल तथा खेलस्थलको व्यवस्थापकीय र प्राविधिक अवस्था’bout अध्ययन गर्न राखेपसँग प्राविधिक टोली पठाउन पनि आग्रह गरिएको छ । प्रदेशका विभिन्न जिल्लामा खेल सञ्चालन गर्ने तयारी रहेकाले सम्बन्धित खेलस्थल, आवास, यातायात र अन्य व्यवस्थापनको अवस्थाको अध्ययनपछि अन्तिम टुंगो लगाइने मन्त्री मल्लको भनाइ छ ।
राखेपको निर्णयअनुसार प्रतियोगिताका लागि १४ वटा विषयगत उपसमिति रहने व्यवस्था गरिएको छ । समारोह, सुरक्षा, प्रचारप्रसार, आवास, स्वयंसेवक तथा यातायात लगायतका उपसमितिमा प्रदेशको प्रतिनिधित्व रहने गरी तयारी अघि बढाउन कर्णाली खेलकुद विकास परिषद्ले आग्रह गरेको छ ।

खेलाडी छनौटको तयारी

प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार प्रदेशस्तरीय खेलाडी छनौटको काम अघि बढाइएको छ । आगामी २६ असोजदेखि ३१ असोजसम्म कर्णाली प्रदेशबाट खेलाडी छनौट गर्ने तयारी गरिएको छ ।

प्रस्तावित योजनाअनुसार दैलेखमा कराँते र ह्यान्डबल, जाजरकोटमा खोखो, सल्यानमा टेबलटेनिस, रुकुम पश्चिममा कबड्डी, हुम्लामा तेक्वान्दो, जुम्लामा महिला भलिबल तथा हक्की, मुगुमा कबड्डी र कालीकोटमा पुरुष भलिबलका साथै बाँकी खेलका खेलाडी सुर्खेतबाट छनौट गरिनेछ । छनौट भएका खेलाडीलाई १० कात्तिकदेखि बन्द प्रशिक्षणमा राख्ने तयारी छ । ‘खेलाडी छनोटको कार्यतालिका बनाएका छौँ, कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने विषय पनि खेलस्थलको व्यवस्थापकीय र प्राविधिक अवस्थाको अध्ययन गरेर अन्तिम टुंगो लगाउँछौँ,’ परिषद् उपाध्यक्ष हमालले भने ।

उनका अनुसार प्रतियोगिताका लागि आवश्यक कार्ययोजना परिषद् बैठकबाट स्वीकृत भइसकेको छ । प्रदेश सरकार अन्तर्गतको कर्णाली खेलकुद विकास परिषद् र राखेपबीचको समन्वयलाई थप प्रभावकारी बनाउन आफूहरूले जोड दिने बताए ।
कर्णाली प्रदेश सरकारले प्रतियोगिता सञ्चालनमा पनि बजेट व्यवस्थापन गरेको छ । पूर्वाधार विकासमा ९ करोड रुपैयाँ, प्रतियोगिता आयोजनामा ५ करोड रुपैयाँ र खेलाडी बन्द प्रशिक्षण, पूर्वतयारी, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रदेश रंगशाला सञ्चालन र व्यवस्थापनका लागि ३ करोड ८५ लाख रुपैयाँ छुट्याइएको छ ।

रंगशालाको निर्माण पुरा, हस्तान्तरणको तयारी

दशौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण गरिएको कर्णाली प्रदेश रंगशाला पनि हस्तान्तरणको चरणमा पुगेको छ । हाल निर्माणको काम सम्पन्न भई निर्माण कम्पनीले रंगशाला हस्तान्तरण गर्ने तयारी गरेको छ । ‘रंगशालाको निर्माणसम्बन्धी काम सकिएको छ, अब मुख्यमन्त्रीज्यूको समय मिलाएर हस्तान्तरणको मिति तोक्ने निर्णय भएको छ,’ हमालले भने ।

वीरेन्द्रनगरमा निर्माण गरिएको प्रदेश रंगशालाको लागत एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ रहेको छ । एमएसी–जीएसएल जेभीले निर्माणको जिम्मा पाएको रंगशालामा करिब १० हजार दर्शक क्षमताको प्यारापिटसहित विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । रंगशालामा फुटबल मैदान, चार सय मिटरको एथलेटिक्स ट्रयाक, पौडी पोखरी, दुईवटा कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, कबड्डी र खोखोलगायत खेलका पूर्वाधार छन् । फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान निर्माण गरिएको छ । वर्षाका बेला मैदानमा जमेको पानी २० देखि २५ मिनेटभित्र सुक्ने प्रविधिसमेत जडान गरिएको छ ।

त्यस्तै, करिब १ हजार ५ सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्ड हल, खेलाडीका लागि चेन्जिङ रुम, प्रतीक्षालय, विश्राम कक्ष, फिजियो तथा मेडिकल कक्षसमेत निर्माण गरिएको छ । चार सय मिटर लामो एथलेटिक्स ट्रयाक अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ । यसमा हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । त्यस्तै, २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको पौडी पोखरीसमेत निर्माण गरिएको छ ।

कर्णालीले ३ कात्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसपछि पहिलोपटक २०८१ सालको २ मंसिरदेखि ९ मंसिरसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो । तर प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि सोही वर्षको २३ चैतदेखि ३० चैतसम्म दोस्रोपटक र २०८२ सालको ३ जेठदेखि १० जेठसम्म तेस्रोपटक मिति तोकियो । ती दुवै मिति कार्यान्वयन हुन सकेनन् । त्यसपछि चौथोपटक फागुनमा प्रतियोगिता आयोजना गर्ने गरी मिति तोकिए पनि प्रतियोगिता हुन सकेन । पछिल्लोपटक २८ साउनमा बसेको राखेपको १२५औँ बोर्ड बैठकले आगामी १६ मंसिरदेखि २९ मंसिरसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो । संघीय सरकारले यसपटक कुनै हालतमा स्थगित नगर्ने प्रतिबद्धता जनाएपछि प्रदेश सरकारले स्थानीयस्तरमा तयारीका काम थालेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?