खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नव उद्यम तथा अनुदान कार्यक्रम सुरु भएको छ । गाउँपालिकाभित्रका आर्थिक रूपमा विपन्न परिवारहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले जी फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको औपचारिक सुरुवातसँगै अनुदान प्राप्तिका लागि उद्यमीहरू, केपिलासगढी गाउँपालिका र जी फाउन्डेशनबीच त्रिपक्षीय सम्झौता समेत सम्पन्न भएको छ । यस अवसरमा कार्यक्रममा सहभागी हुन छनोट गरिएका उद्यमीहरूले गाउँपालिकामा आफ्ना फर्महरू पनि आधिकारिक रूपमा दर्ता गरिसकेका छन् ।
जी फाउण्डेसनकी सूचना अधिकारी अभिनी दीक्षितका अनुसार कार्यक्रमको पहिलो चरणमा ११ जना महिला र चार जना पुरुष गरी जम्मा १५ जना उद्यमीहरू छनोट गरिएको छ । उनीहरूको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यकासाथ उक्त कार्यक्रम अगाडि बढाईएको हो ।
“हामी छनोट भएका उद्यमीहरूको मागको आधारमा तयार गरिएको व्यवसायिक योजना अनुसार आवश्यक पर्ने मूल पूँजीमा अपुग रकम अनुदान स्वरूप उपलब्ध गराउँदैछौं,” दीक्षितले भनिन् । उनका अनुसार अनुदान रकम उद्यमीहरूलाई तीन किस्तामा वितरण गरिनेछ ।
दीक्षितले थप जानकारी दिंदै भनिन्, “यस कार्यक्रमले आगामी दुई वर्षभित्र कृषकहरूको हालको आयमा ३०० प्रतिशतले वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । यसबाट न्यून आय भएका समुदायका उद्यमीहरूको जीविकोपार्जनमासुधार आउने अपेक्षा गरिएको छ ।” कार्यक्रममा छनोट भएका उद्यमीहरूले कृषि उपज उत्पादन, तरकारी खेती र पशुपन्छी पालन जस्ता आयमूलक व्यवसायहरू सञ्चालन गर्नुपर्नेछ ।
जी फाउण्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक श्याम नेपालले यस कार्यक्रमका लागि संस्थाले आर्थिक सहयोगका साथै उद्यमीहरूलाई सन् २०२५ को सेप्टेम्बरसम्म निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । फाउण्डेसनले उद्यमीहरूलाई नयाँ उद्यम दर्ता प्रक्रियादेखि लिएर कृषि तथा पशुपन्छी पालनका लागि आवश्यक बीउ पूँजी, प्राविधिक सहयोग र विशेषज्ञ परामर्श प्रदान गर्नेछ ।
गाँउपालिका अध्यक्ष समिर राईले गाउँपालिकाका नागरिकहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने चाहानालाई यस कार्यक्रमले थप सहयोग गर्ने बताए । नवउद्यम अनुदान कार्यक्रम आफ्नो पालिकामा शुरूवात गरेकोमा जि फाउन्डेसन नेपाललाई धन्यवाद ब्यक्त गरेका छन् । यस कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






