काठमाडौं । सरकारले वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित शुभारम्भ गरेको नेपाल भ्रमण वर्षको पहिलो महिना (जनवरी)मा नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को पहिलो महिना जनवरीमा जम्मा ७९ हजार ६ सय ८६ जना पर्यटकले मात्र नेपाल भ्रमण गरेका छन् ।
पर्यटन बोर्डले त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार मानेर यस्तो जानकारी गराएको हो । बोर्डका अनुसार यो संख्या जनवरी २०१९ को तुलनामा १ हजार ५ सय ८७ ले घटेको छ । जनवरीमा चिनियाँ पर्यटकको आगमन केही घटेको छ । तर, भारतीय पर्यटकको संख्या भने केही बढेको छ । यस समिक्षा अवधिमा समग्र पर्यटक आगमन भने ओरालो लागेको बोर्डले जनाएको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जनवरीमा छिमेकी मुलुक भारतबाट कुल १६ हजार ८ सय ८२ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा भारतबाट १४ हजार ६ सय ५० पर्यटक आएका थिए । चीनबाट सन् २०१९ मा १३ हजार ६ सय ८८ पर्यटक आएकामा गत जनवरीमा भने सो संख्या घटेर जम्मा १३ हजार ३ सय ३ जना मात्र आएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३ सय ८५ जनाले कमी हो ।
यसैगरी, अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको संख्या पनि गत वर्षको सोही अवधिको तुलनामा ओरालो लागेको छ । अमेरिकाबाट सन् २०१९ को जनवरी महिनामा कुल ७ हजार २८ जना पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको जनवरीमा जम्मा ६ हजार ३८६ जना पर्यटक आएका छन् । गत डिसेम्बर महिनादेखि छिमेकी मुलुक चीनमा देखिएको नोबेल कोरोना भाइरस प्रकोपका कारण चीनतर्फको पर्यटन बजार खस्किँदा यसले भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभाव पर्ने देखिएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।
उनीहरूले यसअघि डिसेम्बर र जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक चीनबाट नै आउने भए पनि अहिले कोरोना भाइरस प्रकोपका कारण चिनियाँ पर्यटक आगमन प्रभावित हुन पुगेको बताए । सम्बन्धित व्यवसायी एवं सरोकारवालाका अनुसार चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा जनवरी र फेब्रुअरीमा चिनियाँ नागरिक ठूलो संख्यामा नेपाललगायत विभिन्न मुलुकको पर्यटकीय भ्रमणमा निस्कने समय भए पनि अहिले चीनमा फैलिएको कोरोना भाइरस प्रकोपले उनीहरूको भ्रमण नै प्रभावित भएकाले नेपाल आउने पर्यटकको संख्या पनि घटेको जानकारी गराए ।